
काठमाडौ । पछिल्लो समय गीत संगीतको क्षेत्रमा गजल लोकप्रिय बन्दै गएको छ । यहि क्रममा हालै नयाँ गजल गीत ‘को हौ तिमी’ सार्वजनिक भएको छ । आरजु गिरीले लेखेको गजलका शेरहरुलाई गायिका तथा संगीतकार बबिना भट्टराईले आफ्नो मधुर र लययुक्त स्वर एवं संगीतमा सजाएकी छिन् । उक्त गजलमा लालकाजी श्रेष्ठ एरेन्ज रहेको छ । स्टुडियो साउण्ड मिलमा रेकर्ड भएको गजल ‘को हौ तिमी’ बरिष्ठ ध्वनी इन्जिनियर महेश्वरमान राजभण्डारी रेकर्ड तथा मिक्सिङ मास्टरिङ गरेका छन् ।
ए.जे. अजुले निर्देशन गरेका गजल ‘को हौ तिमी’ को भिडियो सम्पादन भने अनिल विष्ट प्युठानीले गरेका छन् । भिडियोमा बबिना आफै फिचर्ड भएकी छिन् । ‘को हौ तिमी’ गजलको भिडियोमा प्रिया नगरकोटीले श्रृङ्गार सहित भुवन गन्धर्व तवला, सञ्जिव बराइली गितारमा रहेर बबिनाको गायनलाई गजलमय बनाएका छन् । गजल ‘को हौ तिमी’ को भिडियो नेपाली गजलबहार युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
समग्रमा यो गजल नेपाली साहित्यको दार्शनिक धारालाई प्रतिबिम्बित गरेको छ जसमा आत्मचिन्तन मुख्य विषय बनाइएको छ, गजलले दर्शक, श्रोताहरुलाई बाहिरी मोहबाट मुक्त भई आन्तरिक शान्ति खोज्न सिकाएको छ ।
गायिका तथा संगीतकार बबिना भट्टराईले गजल ‘को हौ तिमी’ सार्वजनिक भएको खुसी साट्दै भन्छिन् ‘अर्जु गिरीका गहिरो दार्शनिक भाव बोकेको यो गजललाई यहाँहरु सबैले मन पराइदिने अपेक्षा राखेकी छु, गजल सुनेर तथा हेरेर गजलको बारेमा आफ्नो अमुल्य सल्लाह, सुझाव दिन पनि मेरा दर्शक तथा श्रोताहरुलाई अनुरोध गर्दछु साथै यस गजलको श्रृजनामा जोडिने सम्पूर्ण टिम प्रति आभार व्यक्त गर्दछु ।’
‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी‘।’ बोलको अविनाश थापाको शब्दमा पहिलो गीत गाएकी बबिनाकोे १६ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ।।हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्, श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने पछिल्लो समय बबिना भट्राईको आफ्नै आध्यात्मिक युट्युव च्यानल श्री भजन्स् मार्फत उनका भजनहरु सार्वजनिक हुदै आएका छन् । महाशिवरात्री पर्वको अवसरमा शिव भजन ‘जय जय शम्भु’ र राम नवमीको अवसरमा ‘मनमा बसाएर राम’ श्री भजन्स् युट्व च्यानल मार्फत सार्वजनिक भइसकेका छन् । भजन गायनमा विशेष रुचि राख्दै विभिन्न धार्मिक पर्वहरुमा सान्दर्भिक भजनहरु सार्वजनिक गर्दै आएकी बबिना भर्खरै शिव तण्डव भजन सार्वजनिक गरेर आफ्नो भजन प्रतिको लगावलाई दर्शक, श्रोताहरु माफ अझ शसक्त बनाएकी छिन् ।