संगीतलाई प्रेम गर्दै गायिका बबिना भट्टराई

म्यूजिक खबर
प्रकाशित: १४ असार २०७६, शनिबार
Babina Bhattarai singer

सविता पोखरेल/म्यूजिकखबर


पछिल्लो समयमा नेपाली सांगीतिक धरातलमा स्थापित गायिका बन्नका लागि प्रशस्तै सम्भावना बोकेकी गायिका हुन् बबिना भट्टराई । उसो त उनीमा सानैदेखि नेपाली गीत संगीतप्रति विशेष प्रेम र चासो थियो । त्यहि प्रेमले हुनुपर्छ सानो छँदादेखि नै कतै गीत बज्यो कि कम्मर मर्काउन थाल्थिन् । एकान्तमा गीतहरु गुनगुनाइरहन्थिन् । बिराटनगर स्थायी ठेगाना भएकी बबिना विद्यालय स्तरमा नृत्य र गायन दुबैमा प्रतिभा देखाउने गर्थिन् । उनको प्रतिभा देख्ने र सुन्नेले पनि दुबैको प्रशंसा गर्थे ।

फुर्सदका समय सङ्गीत साधनामै बिताउने गरेकी बबिनाले शिक्षक युवराज पौडेलको प्रेरणाले नै रहेको साङ्गीतिक क्षेत्रको बाटो रोज्न पुगिन् । सरस्वती उच्च मावि इटहरामा २०६३ सालमा प्लस टु पढ्दा मोरङको इटहरामा कलेजको वेलकम प्रोग्राममा सांस्कृतिक कार्यक्रममा ‘पुरानो हुँदैन माया’ गीत सुनेपछि टिचरले तपाईंले पढाइको साथसाथै म्यूजिकलाई पनि अगाडि बढाउनुहोला भनेपछि नै संगीतको बाटो तय गरेकी हुन् । सांगितिक क्षेत्रमा आउन शिक्षक युवराज पौडेलको प्रेरणा रहेको उनी बताउँछिन् ।

‘सङ्गीत जिउने माध्यम हो, सङ्गीत बिनाको जीवन अधुरो हुन्छ, भन्ने बबिनाको २०६९ सालमा आशिष खतिवडासँग विवाह भयो । तत्पश्चात उनले आफ्नो संगीतप्रतिको तरङ्गलाई झन् फराकिलो र मजबुत बनाइन् । नेपाली गीत संगीत र सिंगो कलाकारिता प्रति श्रीमानको पनि गहिरो प्रेम रहेकाले श्रीमानबाट साथ, सहयोग र हौसला मिलिरहको छ । उनी भन्छिन्– ‘कहिलेकाँही त उहाँले नै मलाई नजानेको कुरा सिकाईदिनु हुन्छ, श्रीमान र घरपरिवार सबैबाट हौषला पाएकाले नै आज गायिकाको परिचय बनाउन संर्घषरत छु ।’ यदि परिवारको सपोर्ट थिएन भने संगीतप्रतिको मोहलाई त्यागेर कुण्ठित जीवन बिताउन बाध्य हुन पथ्र्यो ।

‘हसाउँछौ तिम्रै मर्जी, रुवाँउछौ तिम्रै मर्जी’ गायिका बबिना भट्टराईको स्वर भरिएको डेब्यु गीत हो । दिपक शर्माको शब्द तथा सङ्गीत रहेको उक्त गीतबाट नै उनको स्वरले निकै तारिफ पाउन सफल भयो । संगीतलाई रहर होईन करिअरका रुपमा लिएकी उनी पहिलो गीत रेकर्ड गर्दाको समयलाई सम्झिंदै भन्छिन् –एउटा गीत रेकर्ड गर्छु कस्तो प्रतिक्रिया आँउछ, सोचौंला अनि बाटो तय होला भनेको थिएँ, सोचे भन्दा राम्रो रेस्पोन्स पाएँ । सबैले सम्भावना बोकेकी गायिका भनेर प्रशंसा गर्नुभयो, त्यसपछि संगीतलाई निरन्तरता दिन प्रेरणा मिल्यो ।’

एकदशकदेखि साधनामै अभ्यस्त रहँदै आएकी बबिना आफुलाई गायिका बबिना भनेर चिनाउने गीत ‘तिमीले बाचा तोड्यौ भने’ लाई ठान्छिन् । जसमा गायक जगदिश समालको साथमा बबिनाको कर्णप्रिय आवाजले सजिएको ‘तिमीले बाचा तोड्यौ भने’ बोलको गीत सार्वजनिक भएसँगै उनको गायकीले निकै तारिफ पायो । रामशरण पृथकको शब्द, नारायण सुवेदीले सङ्गीत रहेको उक्त गीत सुनेपछि बबिनाको गायकीमा जो कोही मन्त्रमुग्ध अवश्य बन्नेछन् ।

रेडियो नेपालबाट भोकल टेस्ट पास गरेकी बबिना पछिल्लो समयमा प्रतिभाशाली उदयीमान गायिकाको पंक्तिमा दर्ज भएकी छिन् । यतिबेला बबिनाको सुमधुर स्वरले सजिएको अर्को गीत सार्वजनिक भएको छ ‘दिमाग खराब भयो रे’ । गीतको म्युजिक भिडियो सार्वजनिक भए सँगै गीतले निकै चर्चा पाएको छ । हाइलाइट्स नेपालको युट्युव च्यानलमा अपलोड गरिएको गीतमा गायिका भट्टराईको स्वर रहेको छ भने नरहरि प्रेमीको शब्द तथा संगीत रहेको छ । उक्त गीतको संगीत संयोजन देबेन्द्र नेवाले गरेका छन् । गीतको म्युजिक भिडियोमा सारिका सुनार, दिपक खत्री, विकेश श्रेठले अभिनय गरेका छन् । गीतको म्यूजिक भिडियो निर्देशन मदन बडालले गरेका हुन् भने भिडियोको छायाँकन निकेश महर्जनले गरेका हुन् । संख्यात्मक हिसाबले थोरै नै सिर्जना भएता पनि उनका हरेक गीतले चर्चा पाउने गरेकै छन् ।
सानैदेखि गीतसंगीत भनेपछि हुरुक्कै हुने बबिनाको सुमधुर आवाज त छँदैछ, उनको सुन्दरताको पनि उतिकै चर्चा हुने गर्दछ । धेरै शुभचिन्तकले त उनलाई गायनका साथै मोडलिङमा पनि भविष्य कोर्न सुझाव दिने गरेका छन् । तर मोडलिङमा शोख र सोचाई नभएको बताउँदै मिलनसार र सरल स्वभावकी बबिना भन्छिन – ‘गीत संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ ।’
यतिबेला बबिना गुरुदेव कामतसँग संगीत शिक्षा लिंदै आएकी छिन् । उनको आवाज सुन्ने हरेकले तारिफ गर्छन् । भविष्यमा स्थापित कलाकार बन्ने सपना देखेकी बबिना कलाकारिता क्षेत्रमा धेरै समस्या र चुुनौती रहेको बताउँछिन् । नेपालको वर्तमान सांगीतिक क्षेत्रमा अनहेल्दी कम्पीटिसन रहेको उनको बुझाई छ । ‘हामीजस्ता कलाकार राजधानीमा थुुपै्र छौं, तर यहाँ नयाँ प्रतिभालाई प्रेरणा दिनेभन्दा निरुत्साहित बनाउने गरिन्छ । बबिनाको बाँचुञ्जेली नेपाली संगीतमा सक्रिय रहने रहर र योजना छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु