सलामीसहित पशुपति आर्यघाटमा भक्तराज आचार्यको गरियो अन्त्येष्टि, सत्य-स्वरुपले दिए दागबत्ती

म्यूजिक खबर
प्रकाशित: १५ फाल्गुन २०८०, मंगलवार

काठमाडौं । भजनशिरोमणिको उपमा पाएका वरिष्ठ गायक गायक तथा संगीतकार भक्तराज आचार्यको अन्त्येष्टि गरिएको छ । ८२ वर्षको उमेरमा निधन भएका गायक आचार्यको मंगलबार दिउँसो पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । उनलाई दुई छोरा सत्यराज आचार्य र स्वरुपराज आचार्यले बुबाको पार्थिब शरिमा दागबत्ती दिएका थिए भने नेपाल प्रहरीले सलामी अर्पण गरेको थियो । अन्तिम संस्कारअघि आर्यघाटमा पुगेका संगीतकर्मीले आचार्यको सम्मानमा उभिएर उनको कालजयी र चर्चित गीत ‘जहाँ छन् बुद्धका आँखा’ गाएका थिए । उनको अन्तिम बिदाइमा आर्यघाटमा संगीतकर्मीदेखि उनका प्रशंसकको बाक्लो उपस्थिति थियो । ४०० भन्दा बढी गीतमा स्वर र संगीत दिएका आचार्यकोप फागुन १४ गते सोमबार निधन भएको थियो ।

अन्त्येष्टि अघि भक्तराजको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सानो गौचरणस्थित नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाउँदै आचार्यको निधनले मुलुकलाई क्षति पुगेको बताए ।
उनलाई श्रद्धाञ्जली अर्पण गर्न संस्कृतिमन्त्री सुदन किराँती, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, अभिनेताहरु नीर शाह, हरिवंश आचार्य, हरिहर शर्मा, संगीता राना प्रधान, आनन्द कार्की, अन्जु पन्त लगायत सयौं कलाकार पनि पुगेका थिए ।

गायक आचार्यप्रति अन्तिम श्रद्धाञ्जली दिने क्रममा संगीतकर्मीहरुले उनका कालजयी गीत गाएका थिए । ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार सपनाहरुको माया लागेर आउँछ’ र एक भजन गीत गाएर उनीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । भक्तराजका दुई छोरा सत्यराज र स्वरुपराजले पनि पिताको गीत गाएर श्रद्धाञ्जली दिएका थिए । पिताको निधनको शोकले दुवै विक्षिप्त देखिएका थिए ।

घरमै अस्वस्थ भएपछि आचार्यलाई छोरा स्वरुपराजले ललितपुरको मेडिसिटी अस्पताल लगेका थिए । तर, अस्पताल नपुग्दै उनको बाटोमा निधन भएको थियो । यही दशैंको बेला लडेर टाउकोमा चोट लगेपछि आचार्य घरमै आराम गर्दै आइरहेका थिए ।

आचार्यको ‘मुटु जलिरहेछ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार सपनाहरुको’, ‘जति चोट दिन्छौ’ लगायत दर्जनौं गीत कालजयी छन् । उनको जीवनीमा आधारित भएर फिल्म ‘आचार्य’ समेत बनेको छ । प्रशान्त रसाइली निर्देशित फिल्ममा आचार्यकै छोरा सत्यराजले बुबाको भूमिका निभाएका छन् । फिल्ममा आचार्यको संघर्ष जीवन, उनले भोगेका दुःख र उनले पाएको सफलतालाई प्रस्तुत गरिएको छ ।

नकुलकाजीको शब्द र आफ्नै संगीतमा भक्तराज आचार्यको औपचारिक गायकी यात्रा २०३० सालबाट शुरु भएको पाइन्छ । १९९९ सालमा धनकुटाको चौबिसे गाउँपालिका ४ स्थित कुरुले तेनुपाको गैरीगाउँमा बुवा बलभद्र आचार्य र आमा रेनु आर्चायको कोखबाट भक्तराजको जन्म भएको थियो ।
२०२० सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गरेका आचार्यलाई हार्मोनियम, तबला र गितारको नशाले कहिल्यै छोडेन । स्वर परिक्षा पास गरि भारत गएका उनी १० वर्षपछि नेपाल आए र यतै बस्न थाले । भक्तराज डेढ वर्षको हुँदा बुवाको निधन भएपछि आमासहित स–परिवार भारतको डुवर्स बसाई सरेका थिए । र, नेपाल फर्किएपछि गीत संगीतको क्षेत्रलाई फराकिलो बनाउन व्यस्त भए ।

२०४६ साल मंसिर १९ गते राति काठमाडौंको बौद्धमा सांघातिक आक्रमणबाट टाउकोमा गम्भीर चोट लागेका भक्तराज त्यसपछि शिथिल बन्दै गए । त्यसको ५ वर्षपछि क्यान्सरका कारण उनको जिब्रो काट्नु पर्यो । र, भक्तराजको गायनमा एकाएक पूर्णविराम लाग्यो । जिब्रो काटिएपछि उनले निकै नैराश्यता जीवन बिताउँदै आएका थिए । तैपनि उनी नेपाली गीत संगीत पारखीको मनबाट हट्न सकेनन् ।

जिब्रो काटिएपछि आचार्यले झोलिलो पदार्थकै सहारामा जीवन काटे । ३० वर्ष घरैमा बस्दा पनि स्रष्टाको हकअधिकारका पक्षमा उनी उभिरहे । संगीतकार हरि लम्साल भक्तराजलाई संगीतको विश्वविद्यालयका रूपमा परिभाषित गर्छन् ।
नेपाली सुगम संगीतमा विशिष्ट स्थान बनाएका आचार्य स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन् ।

भक्तराजको जीवनको एउटा सुखद पक्ष पनि छ, त्यो हो उनको पदचाप पछ्याउदै सांगीतिक क्षेत्रमा दुई छोराहरु सत्यराज र स्वरुप राज सक्रिय हुनु । आफ्नो जीवनकालमा आचार्यले झण्डै ४ सय गीतमा स्वर तथा संगीत दिएका छन् । यसका साथै गजल, भजन, राष्ट्रिय गीत र बाल गीत पनि उनले गाएका थिए । आचार्य आफ्नो जीवनको पछिल्लो ३४ वर्ष संगीतबाट टाढा रहे तर उनका धेरै गीतहरू आज पनि गीत संगीतका पारखीको मुखमा झुन्डिरहेका छन् । उनको निधनसँगै नेपाली सांगितीक क्षेत्रले एक श्रष्टा गुमाएको छ । भक्तराजको निधनमा म्यूजिक खबर परिवार गहिरो दुख सहित श्रद्धासुमन अर्पण गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु