• क्यान्सर बिजेता बनेपछि झन् सशक्त, झन् उर्जावान ‘देबिका’

    म्यूजिक खबर
    प्रकाशित: ५ जेष्ठ २०८०, शुक्रबार
    Devika Bandana

    सबिता पोखरेल/काठमाडौं

    तीन दशक देखि निरन्तर गायनमै रहँदै एक गायिकाले सांगीतिक क्षेत्रमा गर्विलो यात्रा गरिरहेकी छिन् । उनी नेपाली सांगीतिक फाँटकी लोकप्रिय गायिका हुन् । एक समय फिल्म होस् वा आधुनिक गीत उनले छोए हिट हुन्थ्यो । त्यहि स्वरको अर्को गीत नआउँदासम्म त्यहि गितले गाउँ –शहर तताएको हुन्थ्यो । उनलाई नचिन्ने सायदै होलान् । यदि कसैले उनको नाम सुन्दा अनभिज्ञता महशुष गरे भनें उसलाई कालजयी गीत ‘यस्तै रहेछ यहाँ को चलन जित्नेको हाँसो, हार्नेको आँशु’ सुनाए काफी हुन्छ । यो गीत नेपाली सांगीतिक क्षेत्रको कालजयी गीत हो । यसो त ७०० बढी गीतमा स्वर भरिसकेकी उनका अन्य थुप्रै हिट गीतहरु छन् । ‘अच्छा लेकिन’, ‘भरे आउँछु सपनीमा’ ‘नेपाली माया चाहिन्छ’ लगायतका थुप्रै चर्चित गीतमा उनको कर्णप्रिय स्वर सुन्न सकिन्छ ।

    उनी हुन् गायिका देबिका बन्दना ।
    सुमधुर स्वर सुनाउँदै आएकी गायिका उनै देबिका बन्दना यतिबेला भने, आत्मकथा ‘जित्नेको हाँसो’ सहित उपस्थित भएकी छिन् । स्रोतालाई आनन्दित बनाउँदै आएकी उनले पाठकलाई भने झसंग झस्काइन् । कारण पुस्तकमा उनले प्राणघातक रोग क्यान्सरसँग लड्दाका अनुभूतिलाई उतारेकी छिन् । उनलाई कोरोनाको महामारीको बेलामा स्तन क्यान्सर भएको थियो । लामो समय केमो थोरापीपछि आफु क्यान्सर मुक्त भएको भन्दै उनले क्यान्सर हुँदाको पीडा समेटेर लेखेको नयाँ पुस्तक ‘जित्नेको हाँसो’ सार्वजनिक गरेकी हुन् । आफ्नो चर्चित गीत यस्तै रहेछ यहाको चलन, जित्नेको हाँसो‘ बाट यो पुस्तकको शिर्षक जुराएकी हुन् ।

    जब यो पुस्तक हातमा पर्छ, उनको उज्यालो अनुहार, व्यस्तता र सक्रियता देख्दा कसैले पनि उनलाई क्यान्सर रोग लागेको थियो र ? भनेर प्रश्न सबैका मनमा उब्जिन्छन् । विश्वास गर्न गा¥हो हुन्छ । तथापी सधैं मुस्कुराउने गायिकाले आफ्नो जीवन संघर्षको दुखदायी पाटोलाई यसरी पस्किनै सकेपछि यो वास्तविकतालाई इन्कार गर्न पनि त सकिएन । पुस्तक पढिसकेपछि फेरि जित्नेको हाँसोले पढ्नेलाई पनि हाँसो दिएको छ । पुस्तकमा गायिका वन्दनाले आफ्नो अस्वस्थतादेखि क्यान्सरको पहिचान, उपचार, हिम्मत, क्यान्सरको उपचारकै क्रममा गरिएको सांगीतिक गतिविधिका बारेमा चित्रण गरेकी छन् । उनी क्यान्सर बिजेताको रुपमा उभिन सफल भएकी छिन् ।

    सदाबहार गायिका देबिकामा अहिले दृढ आत्मविश्वास पलाएको पाइन्छ । उनी भन्छिन् – ‘विश्वमा धेरै मानिसहरूका क्यान्सर निको भइरहेका छन् । समयमै उपचार गरेर धेरैले आफूलाई यसबाट बचाएका छन् । म पनि कोरोना संक्रमणको त्रास बढिरहेको बेला स्तन क्यान्सरबाट पीडित भएँ । तर, परिवारको साथ, समर्थन तथा नेपालका वरिष्ठ चिकित्सकहरुको उपचारबाट आफूले क्यान्सर जित्न सफल भएँ ।’ आफूलाई क्यान्सर लागेको थाहा पाएपछि बन्दनाले निरन्तर रूपमा आफ्नो जीवनशैलीलाई सुधार गर्दै हिम्मत जुटाएको बताउँछिन् । जसले अझ सशक्त र उर्जावान महशुष भएको बताइन् । यो जीवन नयाँ जन्मसरह भएको छ उनका लागि । उनले क्यान्सरको पीडादायी यादलाई शक्तिमा परिणत गराउने प्रण गरेकी छिन् । खुसी वा दुःख जे भए पनि मानिसले समयसँगै बिर्सिँदै जानु पर्छ । ‘मेरो दुःख, मेरो भोगाई अरुको लागि उत्प्रेरणा बन्न सक्छ र मेरो बाँकी जीवनलाई संगीत र समाजसेवामा नै अर्पण गर्न चहान्छु – उनले भनिन् । मृत्युसँग साक्षातकार गरेर बाँच्दा उनलाई बाँकी जीवन सार्थक बनाउने जोश आएको छ । त्यही जोशको एउटा उदाहरण पनि हो पुस्तक ‘जित्नेको हाँसो’ ।

    क्यान्सर विजेता बनेकी उनको जीवनमा एउटा नयाँ जिम्मेवारी थपिएको छ । उनी क्यान्सरबाट पीडित भएकाहरूलाई बाँच्न प्रोत्साहन गरिरहेकी छन् । ‘क्यान्सर एउटा रोग मात्र हो । यसलाई जित्न आत्मबल, परिवारको साथ र सही उपचार हुनुपर्छ । आत्मबलले जीवनलाई थप सम्मान गर्न सिकाउने उनले बताइन् । ‘जित्नेको हाँसो’ बिक्रिबाट प्राप्त रकमलाई क्यान्सरपीडितको उपचारको लागि कोष बनाएर खर्च गर्ने गायिका बन्दनाले बताएकी छिन् ।

    ‘जित्नेको हाँसो’ लाई वैशाख १४ गते राजधानीमा एक समारोहबीच हास्यव्यँग्य अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले विमोचन गरेका थिए । बुक हिलद्वारा प्रकाशित उक्त पुस्तकको समीक्षा निर्देशक तथा समालोचक प्रकाश सायमील गरेका थिए । समारोहमा क्यान्सरपीडित भएकै बेला झण्डै एक दर्जन गीत रेकर्ड गरेर कीर्तिमान कायम गर्न सफल भएकोमा उनलाई गिनिज बुक अफ वल्र्ड रेकर्डसद्वारा प्रदान गरिएको प्रमाणपत्रसमेत हस्तान्तरण गरिएको थियो । सर्जक कलाकार चिरन बरालले तयार पारेको पुस्तकको अंग्रेजीमा अनुवाद लेखक माधवकुमार पौडेलले गरेका हुन् । अंग्रेजी र नेपाली भाषामा प्रकाशित पुस्तक नेपालीमा ‘जित्नेको हाँसो’ र अंग्रेजी ‘विनर्स गेल’ नाममा बजारमा पुस्तक आएको छ । अहिले पुस्तकको सम्बन्धमा विभिन्न ठाउँमा समिक्षा तथा पत्रकार भेटघाट कार्यक्रम गरिंदै आएको छ । जीवनको कठीन मोडमा पनि जोश र जाँगरका साथ सक्रिय भएर पुस्तक लेखेकोमा सबैले उनको प्रशंसा गरिरहेका छन् । हुन पनि यतिबेला उनी प्रशंसाकी हकदार छिन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु