के कारणले विवादमा तानियो दोहोरी च्याम्पियन ?

म्यूजिक खबर
प्रकाशित: ४ चैत्र २०७७, बुधबार

काठमाडौं । प्रत्यक्ष दोहोरी गायनमा आयोजना गरिएको रियालिटी शो ‘दोहोरी च्याम्पियन’को प्रशारण शनिबारदेखि सुरु भएको छ । पहिलो भाग प्रशारण भएसँगै यो कार्यक्रम हेर्ने दर्शकहरुबाट निर्णायकहरुप्रति लक्षित भएका नकारात्मक प्रतिक्रिया पाएको छ । डिजिटल माध्यम यूट्यूबमा यो कार्यक्रम हेरिसकेपछि निर्णायकहरुले दर्शकको आलोचना खेप्नुपरेको हो । लोकदोहोरी क्षेत्रमा स्थापित कलाकारहरुले समेत ‘दोहोरी च्याम्पियन’मा निर्णायकको निर्णय गर्ने शैलीलाई लिएर सामाजिक संजालबाटै आलोचना गरिरहेका छन् ।
नेपाल टेलिभिजनको प्रस्तुती रहेको ‘दोहोरी च्याम्पियन’को डिजिटल अडिसनबाट छनोट भएका ३५ समूहको फिजिकल अडिसन पहिलोपटक नेपाल टेलिभिजनले प्रशारण गरिएको थियो ।

‘दोहोरी च्याम्पियन’को निर्णायकका रुपमा लोकदोहोरी गायक प्रजापति पराजुली, लोकदोहोरी गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष समेत रहेका गीतकार रमेश बि.जी. र गायक चन्द्र शर्मा छन् । यस्तै कार्यक्रमको उद्घोषणको भूमिकामा लोकदोहोरी गायक बद्री पंगेनी र लोकदोहोरी गायिका प्रिती आले रहेका छन् । कार्यक्रमको स्क्रिप्ट लेखन पत्रकार राजेन्द्र सलभले गरेका छन् । पराजुली, शर्मा, पंगेनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष भइसकेका व्यक्ति हुन् भने बिजी हालका अध्यक्ष हुन् । यी सबै प्रत्यक्ष दोहोरी गायन प्रतियोगितामा विगत एक दशकभन्दा अघिदेखि निर्णायकको भूमिकामा देखिँदै आएका व्यक्तित्वहरु हुन् ।

शनिबार युट्युबमा सार्वजनिक यसको पहिलो श्रृङ्खलाले बुधबारसम्म ३ लाख ८२ हजार दर्शकले अवलोकन गरेका छन् भने १० हजार १ सय ३६ प्रतिक्रिया पाउन सफल भएको छ । कार्यक्रममा सहभागी धेरैजसो कलाकार प्रत्यक्ष दोहोरी गायनमा धेरैपटक प्रतिस्पर्धा गरिसकेका अनुहार देखिन्छन् । परिचित अनुहारसँग गरिएको संवादले पनि असहज वातावरण सिर्जना भएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ ।

यूट्यूबमा गरिएको कमेन्टमा विशेषगरि निर्णायक चन्द्र शर्माले दोहोरी गायिका कल्पना दाहालमाथि गरेको टिप्पणीमा धेरैले आक्रोश पोखेका छन् । यूट्यूबमा गरिएको प्रतिक्रियामा शर्माले दाहालमाथि गरेको प्रश्न ‘‘हामीले अरु कुनै टीभी–टीभीतिर देखेको कल्पना बैनी हो तपाई ? र तपाई एक दुई चोटी कताकता भाइरल–साइरल भएको बैनी हो ? लाई बढी आलोचना मिलेको देखिन्छ ।
त्यसपछि निर्णायक प्रजापति पराजुलीमाथि बढी आक्रोश पोखेको देखिन्छ । कमेन्ट बक्समा धेरैले निर्णायक परिवर्तनको माग गरिरहेका छन् । कतिपयले त निर्णायकको निर्णय पुरानो शैलीको भएको प्रतिक्रिया दिएका छन् ।

यही प्रसंगलाई व्यग्य गर्दै अमेरिकाबाट गायक भगवान् भण्डारीले सामाजिक संजालमा स्टाटस लेखेका छन् – ‘तपाई त्यो पैला पैला एउटा दुइटा टीभी सीभीमा दोहोरी सोहोरी गाएर भाइरल साइरल भाको कल्पना सल्पना हो ?’

तर यही कुरालाई लिएर हामीले निर्णायकमध्येका एक चन्द्र शर्मासँग कुरा गर्दा उनले भने– ‘कार्यक्रमको फम्र्याट अनुसार निर्देशकको आदेश मानेका हौं । भिडियो सम्पादनको क्रममा हामीले बोलेका पुरै कुराहरु बाहिर नआउँदा आलोचना खेप्नु परेको हो तर अर्को शृंखला आउँदा हामीले बोलेको चुरो कुरो दर्शकहरुले थाहा पाउनुहुनेछ ।’

‘दोहोरी च्याम्पियन’ लाई नेपाली लोकदोहोरी क्षेत्रको इतिहासमै सबैभन्दा ठूलो दोहोरी रियालिटी शो भनिएको छ । ‘दोहोरी च्याम्पियन’ हरेक शनिबार बेलुका ८ः५० बाट नेपाल टेलिभिजनमा प्रशारण हुनेछ । यो प्रतियोगीतामा प्रथम हुनेले २० लाख, दोश्रो स्थान प्राप्त गर्नेले १० लाख, तेश्रो स्थान प्राप्त गर्नेले ३ लाख र एक जनाले २ लाख पुरस्कार सहितको सान्त्वना पुरस्कार प्राप्त गर्नेछन् ।

जे होस् दोहोरी महंगो राशिको यो पुरस्कार भएको दोहोरी च्याम्पियनको पहिलो भाग विवादित भए पनि आगामी कार्यक्रम पक्कै दर्शकले सोचेभन्दा फरक बन्नेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु