चलचित्र ‘गोपी’ को दोश्रो गीत ‘तेरो आफ्नो’ सार्वजनिक, हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: १७ पुष २०७५, मंगलवार

रिलिज नजिकिँदै जाँदा गोपी फिल्मले आफ्नो प्रमोसनलाई तीब्रता दिएको छ । यही क्रममा सोमबार फिल्मको दोस्रो गीत रिलिज गरिएको छ । ‘तेरो आफ्नो’ बोलको उक्त गीत शिव परियारले गाएका हुन् । विप्लव प्रतीकले रचेको गीतमा कल्याण सिंहले संगीत भरेका हुन् ।

आरोही इन्टरटेनमेन्ट प्रालिका लागि आरोही केसीले निर्माण तथा दीपेन्द्र लामाले निर्देशन गरेको फिल्म गोपी आगामी माघ १८ देखि चल्दैछ । यसअघि घामपानी निर्देशन गरेका दीपेन्द्रको यो दोस्रो फिल्म हो । फिल्ममा स्वावलम्बनको विषय भएको हुनाले तेरो आफ्नो गीतलाई फिल्मको ‘थिम सङ’का रुपमा प्रयोग गरिएको निर्देशक लामा बताउँछन् ।

निर्देशकबाट फिल्मको कथा सुनेपछि आफूले फिल्मको भाव सुहाउँदो गीत लेखेको गीतकार विप्लव सुनाउँछन् । दीप श्रेष्ठले गाएको सदाबहार गीत ‘हर रात ऐठन हुन्छ’का रचयता हुन् विप्लव । ‘फिल्ममा गीत लेख्ने अफर आइरहन्छन्, तर म हल्काफुल्का भन्दा पनि यस्तै अर्थपूर्ण गीत लेख्न रुचाउँछु,’ उनले भने ।

कल्याण सिंह पछिल्लो समय नेपाली फिल्मको संगीतमा चलेकै नाम हुन् । विप्लव प्रतीकको गीत शिव परियारका लागि कम्पोज गर्न पाउनु आफ्नो लागि सौभाग्य बनेको संगीतकार सिंह बताउँछन् । चलिरहेको भन्दा फरक शैलीको गीत आफूले कम्पोज गरेको उनी जनाउँछन् ।
डोरेमी स्टुडियोमा रेकर्ड भएको गीत गायक शिव परियारलाई तुरुन्तै मन परेको थियो । डमी गीत सुन्ने बित्तिकै उनी गाउनका लागि तयार भएका हुन् । ‘बजारमा भाइरल नहोला, तर यस्तो गीत रेकर्ड हुनु र फिल्ममा प्रयोग हुनु धेरै नै खुसीको कुरा हो,’ उनले भने ।

ओएसआरको युट्युब च्यानलबाट रिलिज भएको ‘तेरो आफ्नो’ गीतमा गोपी फिल्मका मुख्य पात्र विपिन कार्कीले गाई फार्ममा परिश्रम गरिरहेका दृश्यले प्राथमिकता पाएको छ । गोपाल रसाइलीको एरेन्जमेन्टले पनि गीतको स्तर उठाउन मद्दत पुगेको छ ।
सामीप्यराज तिमल्सिनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको फिल्ममा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, अंकित खड्का, रमेश अधिकारी, प्रकाश घिमिरे, भोलाराज सापकोटा, सरोज अर्याल, कुन्ती सिमाली, हिउँबाला गौतमलगायतले मुख्य भूमिका निर्वाह गरेका छन् ।
विदेशमा बस्ने नेपालीहरुले फिल्म हेर्ने चाहना व्यक्त गरिरहेकाले ओभरसिज सेल्समा पनि ध्यान दिइरहेको कार्यकारी निर्माता श्रीधर पौडेल बताउँछन् ।

 

नेपाली टोपी दिवसमा ‘मै हु ढाका टोपी यो’ सार्वजनिक ! (भिडियो)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु