काठमाडौं । गायन प्रतिभा प्रोत्साहन कार्यक्रम हल अफ फेमको सिजन २ शुक्रबारदेखि सुरु हुने भएको छ। एमएनटीभी अष्ट्रेलियाको आयोजनामा हुन लागेको यो सिंगिंग रियालिटी शोको प्रशारण हिमालय टेलिभिजनबाट राति ८ बजे गरिनेछ। विश्वभरका सैयौं प्रतिस्पर्धीबाट छनोट भएका टप ५० गायन प्रतिभाहरुबीचको यो प्रतिस्पर्धा निकै रोचक हुने अपेक्षा छ। कोभिड १९ कोरोना महामारीले विश्व नै ठप्प भएको बेला घोषणा गरिएको अन्तर्राष्ट्रिय अनलाइन प्रतिस्पर्धामा निर्णायकको रुपमा वरिष्ठ गायक दिप श्रेष्ठ, कन्दरा व्याण्डका चर्चित गायक विवेक श्रेष्ठ र रेजिना रिमाल रहेका छन्।
कार्यक्रमको सञ्चालन पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ र मिस नेपाल ओसेनिया २०२० जेमिना श्रेष्ठले संयुक्त रुपमा गर्नेछन्। जेमिना श्रेष्ठ अष्ट्रेलियामा रहेर नै कार्यक्रमको सञ्चालन गर्नेछिन् भने निर्णायक मण्डलका एक सदस्य गायक विवेक श्रेष्ठ पनि अष्ट्रेलियामै छन्।
एमएनटीभी अष्ट्रेलियाका ब्रान्ड एवं मार्केटिंग म्यानेजर रमन झाले गायन प्रतिस्पर्धामा निर्णायकको मत नै अन्तिम हुने जानकारी दिए। निर्णायकमध्ये एक वरिष्ठ गायक दिप श्रेष्ठले आफ्नै मौलिकताका कारण हल अफ फेम दर्शकहरुको मन जित्न सफल हुने भन्दै देश बाहिर रहेका प्रतिभाहरुले कार्यक्रमबाट विशेष प्रोत्साहन प्राप्त गर्ने बताए।
हल अफ फेम सिजन २ मा सहभागी हुन कुनै उमेरको बन्देज लगाइएको छैन भने विश्वका विभिन्न १२ देशबाट प्रतिस्पर्धीहरुले सहभागिता जनाएका छन्। गत नोभेम्बर १५ सम्ममा आएका आवेदनमध्येबाट निर्णायक मण्डलले टप ५० को छनोट गरेका हुन्।
कार्यक्रमको निर्माणमा विश्वस्तरको गायन प्रतिस्पर्धाहरुमा आफ्नो कला देखाइसकेका निर्देशक लक्ष्मण पौडेलले दर्शकहरुलाई नयाँ स्वाद दिन सफल हुने विश्वास व्यक्त गरे। हल अफ फेमको टाईटल विजेताले ५ लाख रुपैयाँ बराबरको पुरस्कार पाउनेछन् जसमा १ लाख नगद र गीत रेकर्डिंग, म्युजिक भिडिया निर्माण, अन्तर्राष्ट्रिय प्रबर्धन लगायत समावेश छ।