• आमा गुमाएको ४ दिनमै प्रसिद्ध अभिनेता इरफान खानको निधन

    म्यूजिक खबर
    प्रकाशित: १७ बैशाख २०७७, बुधबार

    काठमाडौं । प्रसिद्ध बलीवुड अभिनेता इरफान खानको निधन भएको छ। ५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए । खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो ।
    स्वास्थ्य बिग्रिएपछि मङ्गलवार उनलाई मुम्बईस्थित कोकिलाबेन अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उनी क्यान्सरबाट पीडित थिए । तर उनलाई सघन उपचार कक्षमा भर्ना गरिनुको कारण थाहा नभएको बीबीसी हिन्दीले जनाएको छ ।
    खानले पानसिंह तोमर, मकबूल, सलाम बाम्बे, द लन्च बक्स, लाइफ अफ पाई, जु¥यासिक वल्र्ड, तुलसी, स्लमडग मिलीअनेअरजस्ता दर्जनौं बलीवुड र हलीवुडमा बनेका चर्चित चलचित्रमा अभिनय गरेका छन् । उनको अभिनयको धेरैले प्रशंसा गरेका छन् । उनको जन्म सन् १९५७ मा भएको बताइएको छ ।

    इरफान खानको मृत्यु भएपछि उनका प्रवक्ताले एउटा विज्ञप्ति प्रकाशित गरेका छन् – “मलाई यकिन छ कि मैलै हारिसकेको छु– अभिनेता इरफान खानले सन् २०१८ मा आफ्नो नोटमा यो मन छुने कुरा लेखेका थिए । क्यान्सर रोग लागेपछि उनी सङ्घर्ष गरिरहेका थिए। आज हामी उनीबीच नरहेको दुखस्द खबर हामी दिइरहेका छौँ,” विज्ञप्तिमा उल्लेख छ ।

    “इरफान खान दृढ आत्मविश्वास भएका व्यक्ति थिए जसले अन्तिम समयसम्म सङ्घर्ष गरे । उनले हामीलाई सधैँ प्रेरणा दिए। २०१८ मा असामान्य क्यान्सर भएको थाहा भएपछि उत्पन्न चुनौती उनले डटेर सामना गरेका थिए र आफ्नो जीवनलाई सम्हालेका थिए। सधैँ असाध्यै माया गर्ने परिवारलाई छाडेर उनी जन्नत गएका छन् ।”
    “उनको परिवारले उनलाई एकदमै माया गर्यो। उनले एउटा विरासत छाडेर गएका छन्। हामी सबै उनको आत्माको शान्तिको लागि प्रार्थना गर्छौँ ।”

    इरफान खानको रोग
    यसअघि उनका प्रवक्ताले विज्ञप्तिमार्फत् खानलाई ’पेटको सङ्क्रमण’ भएको र चिकित्सकको निगरानीमा रहेको जानकारी दिएका थिए । इरफान खान ‘न्यूरोएन्ड्रोक्राइन ट्यूमर’ बाट पीडित थिए । यो रोगले हर्मोन उत्पान गर्ने ग्रन्थिहरूमा असर गर्छ । गत वर्ष उनी लन्डनमा उपचार गराएर फर्किएका थिए । त्यसयता उनको कोकिलाबेन अस्पतालमा चिकित्सकहरूको निगरानीमा उपचार चल्दै आएको थियो ।
    ‘अङ्ग्रेजी मीडीअम’ चलचित्रमा काम गर्ने क्रममा पनि उनको स्वास्थ्य बिग्रिएको महसुस गरिएको बताइएको छ । उक्त चलचित्रको छायाङ्कन कैयौँ पटक रोक्नुपरेको थियो । इरफानले स्वस्थ महसुस गरेपछि कतिपय दृश्यको छायाङ्कन गरिएको थियो । इरफान खानलाई सन् २०११ मा उनको अभिनयको सम्मानार्थ भारत सरकारले पद्मश्री उपाधि उपाधिबाट विभूषित गरेको थियो ।

    आमाको निधन
    अभिनेता इरफान खानले जीवनमा धेरै सिनेमा खेले। उनका जीवनका अन्तिम दिन सिनेमाका घटनाजस्तै बने । ५४ वर्षको उमेरमा बुधबार बिहान संसार छोडेका इरफान खानले ४ दिनअघिमात्रै आमा गुमाएका थिए । उनकी ९५ वर्षीय आमा आमा सईदा बेगमको जयपुरमा शनिबार निधन भएको थियो । राजस्थानको जयपुर सहरमा आमाले अन्तिम सास फेर्दा इरफान मुम्बईमा थिए । उनी आमाको अन्तिम संस्कारमा आउन पाएनन् । कोरोनाभाइरसको संक्रमण रोक्न भारतभर लकडाउन भएकाले सयौं किलोमिटर टाढा जान उनी सकेनन् । आमा गुमाएको तीन दिनपछि मंगलबार इरफान आफैं अस्पताल भर्ना भए । तर बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा उनको निधन भएको हो ।

    दुई वर्षअघि खानको रोग निदान भएको थियो । त्यसपछि उनी आफैँले ट्विटरबाट आफूलाई लागेको रोगबारे जानकारी दिएका थिए । त्यस बेला उनले ट्वीट गरेका थिए– “जिन्दगीमा अकस्मात् कहिलेकाहीँ यस्तो हुन्छ जसले तपाईँलाई अघि लिएर जान्छ । मेरो जिन्दगीका पछिल्लो केही समय यस्तै रह्यो । मलाई न्यूरोएन्डोक्राइन ट्यूमर नामक रोग लाग्यो। तर मेरो आसपास भएका मानिसको प्रेम र शक्तिले मलाई आशा जगाइदिएको छ ।”
    रोगबारे थाहा भएपछि उनी उपचारका लागि लन्डन गएका थिए। एक वर्ष त्यहाँ उपचार गराएर उनी मार्च २०१९ मा भारत फर्किएका थिए ।
    शोकमा व्यक्त गर्दै नेतादेखि अभिनेतासम्म
    खानको निधनमा भारत तथा अन्य देशबाट धेरैले शोक व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा धेरैले उनको मृत्युमा दुस्ख व्यक्त गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले खानको निधनका कारण चलचित्र क्षेत्रमा ठूलो क्षति भएको जनाएका छन् ।

    चर्चित अभिनेता अमिताभ बच्चनले खानको निधनले ठूलो रिक्तता सिर्जना गरेको भन्दै खान प्रतिभाशाली र शालीन व्यक्ति भएको उल्लेख गरेका छन् ।
    नेपाली रङ्गकर्मी सुनील पोखरेलले पनि फेसबुकमा खानलाई आफूले सधैँ सम्झिरहने लेखेका छन् । भारतमा अभिनयको प्रशिक्षण लिँदा उनीहरूबीच मित्रता गाँसिएको थियो ।

    राप्रपाका अध्यक्ष कमल थापाले अभिनेता खानप्रति ट्वीट गर्दै श्रद्धान्जली दिएका छन् । नेपाली साहित्यकार ब’द्धिसागरले उनीप्रति यसरी ट्वीट गरेका छन्– ‘चन्द्राकान्ता’को ‘बद्रिनाथ’देखि ’अंग्रेजी मिडियम’सम्मको उनको कलायात्राको साक्षी भयौं । उत्कृष्ठ अभिनेता थिए । कलाको पर्दामा त बाँचिनै रहनेछन् । उनको मृत्युको समाचारले दुःखी तुल्यायो । अस्ति भर्खरै आमा, अहिले आँफै ।

    त्यस्तै निर्देशक तथा मिडियाकर्मी भुषण दाहालले ट्वीट गर्दै यसरी लेखेका छन् – ‘जीवन कहिले सकिन्छ कस्लाई के थाहा एकै पटक भेट भएको थियो, मित्र सुनिल पोखरेलले परिचय गराई दिएका थिए केही बेर गफगाफ भयो, उनको कलाकारिताको पारखीपनि भईयो.. तर यो संसार भन्दा उनलाई अल्लाह ज्यादा प्यारो रहेछ ।’

    त्यसैगरी चर्चित मिडियाकर्मी रवि लामिछानेले बहुप्रतिभाशाली व्यक्तित्व इरफान खानलाई गुमाउनु परेको भन्दै ट्वीटमार्फत श्रद्धान्जली दिएका छन् ।
    त्यसैगरी पत्रकार एवं निर्देशक दिपेन्द्र लामाले उनीसँग काठमाडौंमा भेट हुँदाको बखत गरेको अन्तरवार्ताका समय सम्झिँदै ट्वीटमार्फत यसरी श्रद्धान्जली दिएका छन् । भारतीय अभिनेता इरफान खान काठमाडौं आउँदा नागरिक दैनिकका लागि मैले अन्तर्वार्ता लिने अवसर पाएको थिएँ । २०६७ कात्तिक २९ गते प्रकाशित अन्तर्वार्ता इरफानको सम्झनामा ! अलबिदा !

    सन् २०१० मा काठमाण्डूमा आयोजित एउटा अन्तर्रा्ष्ट्रिय नाटक महोत्सवमा सहभागी हुन खान नेपाल आएका थिए ।
    म्यूजिक खबर परिवार अभिनेता इरफान खानप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु