थापाको जन्मजयन्तीमा स्मृति ग्रन्थ ‘स्वर साधक’ र गीतिसंग्रह ‘कुनै भेदभाव छैन’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २७ माघ २०७८, बिहीबार

काठमाडौं । अमर श्रष्टा जगतमर्दन थापाको ८६ औं जन्म जयन्तिको अवसरमा स्मृति ग्रन्थ ‘स्वर साधक’ तथा वहाँद्धारा स्वरवद्ध गीत संग्रह ‘कुनै भेदभाव छैन’ एक समारोह विच विमोचित भएको छ । गीतकार संघ नेपालको आयोजनामा गीतकार संघ नेपालका अध्यक्ष शुभ मुकारुङको अध्यक्षता तथा वरिष्ठ गीतकार यादव खरेलको प्रमुख आतिथ्यमा उक्त स्मृति ग्रन्थ तथा गीति एल्वम विमोचित भएको हो ।
स्मृति ग्रन्थ ‘स्वर साधक’ का सम्पादक विवश वस्ती, प्रकाशक तथा जगतमर्दन थापाका सुपुत्र मोहितमर्दन थापा, वहाँका परिवारका सदस्यहरु, गीतकार संघ नेपालका कार्यसमितिका पदाधिकारीहरु तथा संचारकर्मीहरुको उपस्थितिमा उक्त स्मृति ग्रन्थ तथा गीति संग्रह विमोचन भएको हो ।
उक्त अवसरमा प्रमुख अतिथि यादव खरेलले जगतमर्दन थापाको व्यक्तित्व, गीतियात्राको बारेमा चर्चा गर्दै वहाँको सृजना तथा कृतिहरुलाई संग्रह गरेर राख्नु पर्ने बताउनु भयो । गीतकार संघ नेपालका अध्यक्ष तथा कार्यक्रका सभापति शुभ मुकारुङले गीतकार संघ नेपालर्ले जगतमर्दन थापा स्मृति गीतकार संघ नेपाल अक्षय कोष’ स्थापना भएको र यहि संस्थाले नै वहाँका गीति सृजनाको बारेमा खोज, अनुसन्धान गर्ने बताउनु हुदै जगतमर्दन थापाले नेपाली गीति क्षेत्र र साहित्यको क्षेत्रलाई दिनु भएको योगदानको चर्चा गर्नु भयो ।
स्मृति ग्रन्थ ‘स्वर साधक’ मा गीत, संगीत, साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरु यादव खरेल, सरु भक्त, विश्व बल्लभ, उषा मंगेश्कर, एस्पी कोइराला, वसन्त वित्यासी थापा, मोहन हिमांशु थापा लगायत ७० जना भन्दा बढिका अमर श्रष्टा जगतमर्दन थापा संग जोडिएका विभिन्न प्रसंगहरु समेटिएका छन् भने गीति एल्वर्म कुनै भेदभाव छैन’ भित्र इन्द्रध्वज खड्का, हरिराम पौडेल, बसन्त वित्यासी थापा, तुलाराम थापाद्धारा लिपिवद्ध गीतहरु समेटिएका छन्, उक्त गीतहरुमा शक्ति बल्लभ, मनोहर सुनाम, मदन सिंह नेपाली, जेम्स प्रधानको संगीत रहेको छ ।
गीतकार संघ नेपालको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य दिदै गीतकार संघ नेपालका उपाध्यक्ष बसन्त वित्यासी थापाले बृहत कार्यक्रमको सोच र योजना भए पनि कोरोना कहरको कारणले गीतकार संघ नेपालका कार्यसमिति पदाधिकारी, केहि पारिवारिक सदस्य र केहि संचारकमर्मीहरुको उपस्थितिमा कार्यक्रम आयोजना गर्नु परेको बताउदै उपस्थित सम्पूर्णलाई कार्यक्रममा स्वागत गर्नु भएको थियो, उक्त कार्यक्रम संचारकर्मी हरिराम पौडेलले संचालन गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु