जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । केही साताअघि काठमाडौंको कलंकीस्थित आफ्नै निवासमा लडेपछि उनलाई बल्खुस्थित वयोधा अस्पताल भर्ना गरिएको थियो । ७६ वर्षीय उनलाई ‘स्ट्रोक’ भएको थियो ।
उनको आज निधन भएको अनेरास्ववियु (क्रान्तिकारी) का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार उनको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि साढे १ बजेदेखि साढे २ बजेसम्म माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा राखिनेछ । त्यसपछि उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।
टुहुरे वि.सं २०२४ सालदेखि प्रगतिशील सांस्कृतिक क्षेत्रमा लागेका हुन्। उनले १ सय ५० भन्दा बढी गीत रेकर्ड गराएका छन् । २०३४ सालमा आएको उनको ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैँ प्यासी बनेर’ बोलको गीत सबैभन्दा चर्चित गीत हो । अर्को चर्चित गीत ‘बसाइँ हिँड्नको ताँतीले बस्नेको मन रुँद छ, लाखौँको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’ पनि हो ।
उनको स्थायी घर सुनसरीको धरान हो । उनको वास्तविक नाम जुठबहादुर खड्गी हो । उनी दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सभासद्समेत बनेका थिए ।
२०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसन स्थापना गरिएको छ । फाउण्डेसन अध्यक्ष उनकी छोरी निर्भीका छिन् ।
टुहुरेले १५० भन्दा बढी गीत रेकर्ड गराएका छन्। वास्तविक नाम जुठबहादुर खड्गी भएका धरानका टुहुरे दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सभासद बनेका थिए।