सांघातिक आक्रमणमा परेका पत्रकार थापालाई संघ–संस्थाको साथ

म्यूजिक खबर
प्रकाशित: १ जेष्ठ २०८३, शुक्रबार १८:३०

काठमाडौं । कलाकार र पत्रकारहरूको बाक्लो उपस्थितिमा हिजो राजधानीको सामाखुसी स्थित सम्पन्न एक सार्वजनिक कार्यक्रममा भिडियो रिपोर्टिङ गर्ने क्रममा रंग पत्रकार गण्डकी लाइभ डटकमका सम्पादक दिनेश थापामाथि कुटपिट तथा दुर्व्यवहार भयो । हिट नेपाल युट्युब च्यानलका क्यामेरा पर्सन सरोज मोक्तानले पत्रकार थापामाथि भएको कुटपिट तथा दुर्व्यवहारप्रति गम्भीर आपत्ति जनाउँदै घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न विभिन्न संघ संस्थाले माग गरेका छन् ।

पत्रकारमाथि भइरहेको कुटपिट, दुर्व्यवहारप्रति विभिन्न पत्रकार संघ–संस्थाहरूले गम्भीर आपत्ति र निन्दा जनाउँदै आएका छन्। मुख्यतः चलचित्र पत्रकार संघ नेपाल, राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल, गोरखा सांस्कृतिक समाजले पत्रकारमाथि भएको भौतिक आक्रमणको यस घटनालाई लज्जास्पद भन्दै दोषीमाथि कारबाहीको माग गरको छ ।

चलचित्र पत्रकार संघका महासचिव गोपिकृष्ण चापागाईं, राष्ट्रिय लोकसञ्चारकर्मी नेपालका सचिव कमल सरगम र गोरखा सांस्कृतिक समाजकी अध्यक्ष चिजा तामाङ तथा महासचिव टेक गुरुङद्वारा आ–आफ्नो संस्थाको तर्फबाट विज्ञप्ती जारी गरिएको हो ।

जारी विज्ञप्तीहरुमा घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ । साथै, घाइते पत्रकार दिनेश थापाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पत्रकार तथा पदाधिकारीमाथि हुने कुनै पनि प्रकारका हिंसा, दुर्व्यवहार, धम्की तथा दमनविरुद्ध सधैं श्रमजीवी पत्रकारहरूको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता जनाएको छ ।

पत्रकार थापालाई संघसंस्था र पत्रकारहरुले साथ दिंदै र दोषीलाई कारवाही गर्नुपर्ने दबाबकाबीच दोषी सरोज मोक्तानलाई अहिले प्रहरीले पक्राउ गरेको छ । मोक्तानलाई अनामनगर प्रहरी चौकीमा राखिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु