
काठमाडौं । यतिबेला तीजलाई लक्षित गरेर गीतहरु सार्वजनिक गर्ने क्रम बढ्दो छ । सार्वजनिक भएका धेरै गीतहरु तीजको नाम दिइएता पनि वास्तविक तीज भने निकै कम छन् । सदाबहार बजाउन मिलोस्, भिवर्स र चर्चा पनि कमाओस् भनेर कलाकारले चलाखी अपनाए पनि तीज गीतको मर्ममाथि भने प्रहार भइरहेको छ । तर यो सबैमा लागु हुँदैन । हरेक गीतमा मौलिकता जोड्ने स्रष्टा कस्तुप पन्तले भने नेपाली समाजले हेर्न र सुन्न चाहेको किसीमको तिज गीत लिएर आएका छन् ।
‘पापी तीज २’ बालेको गीतमा गायिका पुर्णकला बिसीको सुमधुर स्वर रहेको छ । कस्तुप पन्तको मर्मश्पर्शी शब्द रचना रहेको गीतमा संगीत स्वयं पन्तकै रहेको छ । रमेश सेन्चुरीको संगीत संयोजन रहेको गीतलाई कुमार रानाले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।
स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गरेको गीतको भिडियोमा टिका जैशी र रमा थपलियाको अभिनय रहेको छ । दुर्गा पौडेलले छायांकन गरेको भिडियोलाई बिनोद बमले सम्पादन र कलरिङ गरेका हुन् ।
तीज गीतमा विकृतीका बारेमा सर्जक पन्तले हामीलाई भने – ‘अहिलेका तीज गीतहरु पुरुषले पनि गाउने हुनाले रत्यौली जस्तो, लोक दोहोरी जस्तो पनि बनेको छ । सदाबहार चलोस् भने तीजको मर्म कतै नछोइएका गीतहरु सार्वजनिक भइरहेका छन् । पहिले–पहिले पुरुषले तीज गीत गाउने चलन थिएन । तर, अहिले भने स्टेज स्टेज कार्यक्रमलाई लक्षित गीतहरु सार्वजनिक भएको महशुष गरेको छु ।’ उनले अझ अगाडि भने – अरुबेला जुनसुकै जनराका निकाल्ने अधिकार छ तर सांस्कृतिक पर्वमाथि प्रहार गर्नु हुँदैन भन्ने मेरो मान्यता हो । आम जनमानसको पनि यसमा गुनासो छ । यस्तो गुनासो गर्नेहरुलाई एकपटक ‘पापी तीज –२’ सँगै मेरा गीतहरु हेर्न आग्रह गर्दछु ।’
कस्तुप पन्तले सिर्जना गरेका सबै गीत सबैलाई आफ्नै गीत जस्तो लाग्छ । उनका धेरै लोक गीत, तीज गीत लोकप्रिय बनेका छन् । मौलिक छन् । आम श्रोता÷दर्शकको मन छुने खालका छन् । उनले यो वर्ष मात्रै आफ्नो च्यानल मार्फत आधा दर्जन बढी गीत सार्वजनिक गरेका छन् ।
‘पापी तीज २’ गीतको भिडियोलाई स्वयं सर्जक कस्तुप पन्तको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।