अन्जुलाई हेर्दै थीरले लेखे ‘तिम्रो सुन्दर रुप’, भिडियोमा परितोषिका र विक्रम

म्यूजिक खबर
प्रकाशित: १३ श्रावण २०८०, शनिबार

काठमाडौं । दाम्पत्य जीवनमा समर्पित भएर रमाइरहेको जोडी हो लोकप्रिय गायिका अन्जु पन्त र थीर कोइरालाको । एकले अर्कालाई गर्ने समर्पण, प्रेम, सम्माननै उच्च रहेको छ यी दुईको । भेटघाट तथा अन्तर्वार्ता कार्यक्रममा एक–अर्काको तारिफ गरेर थाक्दैनन् उनीहरु ।
यही क्रममा आफ्नी श्रीमती अन्जुलाई हेरेर थीरले गीत नै लेखेका छन् । ‘तिम्रो सुन्दर रुप’ बोलको यो गीत भर्खरै सार्वजनिक भएको छ ।
गीतमा गायिका अन्जुकै स्वर रहेको छ । उनलाई गायनमा रञ्जन राईले साथ दिएका छन् भने संगीत नवीन कार्कीले भरेका छन् । गीतमा विशाल निरौलाको संगीत संयोजन छ ।

‘अञ्जु पन्त अफिसियल’ युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गीतमा प्रेमभाव व्यक्त गरिएको छ । गीतको भिडियोलाई विक्रम चौहानले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । भिडियोमा परितोषिका पन्त र विक्रम बुढाथोकी फिचर्ड छन् । परितोषिका अञ्जुकी छोरीसमेत हुन् । यो भन्दा अघि पनि अन्जुको ‘धेरै माया नदेउ मलाई’ बोलको गीतमा परितोषिकाले अभिनय गरिसकेकी थिइन् ।

गीतमा प्रकाश खड्का एण्ड टिमको छायांकन र मिलन विश्वकर्माको सम्पादन तथा कलर संयोजन छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु