• जीवनको तीतो सत्य समेटिएको मनिषाको ‘हिल्ड’ नेपाली अनुवादमा सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: ६ पुष २०७७, सोमबार

    काठमाडौं । अभिनेत्री मनिषा कोइरालाको चर्चित पुस्तक ‘हिल्ड’ को नेपाली अनुवाद ‘जिजीविषा’ सार्वजनिक भएको छ। फाइनप्रिन्टबाट प्रकाशित यस पुस्तकको अनुवाद पत्रकार स्वरूप आचार्यले गरेका हुन्।

    ‘जिजीविषा’ भिडियो लन्चका अवसरमा अभिनेत्री कोइरालाले भनिन्, ‘मैले यो किताब लेख्छु भनेर सुरु गरेकी होइन। अमेरिकामा क्यान्सर उपचारका क्रममा एक जना बौद्ध रिन्पोचेले आफूलाई क्यान्सरबाट परेको दुःख भोग्दाका बेला तिमीलाई लागेका कुरा टिपोट गरिराख्नू भन्नुभएको थियो। यो पीडाको, यो कठिनाइको कुरा पनि लेखिराख्नू भनेकाले मैले त्यति बेलाका दुःख अनि कष्टलाई टिपोट गर्दै गएँ । त्यसैलाई पछि पुस्तकका रुपमा ल्याएकी हुँ।’

    क्यान्सर लागेपछि भोगेका कुरा, त्यसबाट प्राप्त ज्ञानलाई किताबमा लेखेर समाजलाई आफ्नो अनुभव काम लागे आफ्नो जीवन सार्थक हुने सोचले पुस्तक लेखेको उनको भनाइ छ। ‘पुस्तक लेख्नुको मेरो उद्देश्य नै अप्ठ्यारो परेको बेलामा मनुष्य जीवनलाई थोरै भए पनि बाटो देखाउन सकिन्छ कि भन्ने हो,’ उनले भनिन् ।

    धेरैले ‘ग्ल्यामरस लाइफ’ मा दुःख हुन्न भन्ने सोच्छन्, तर त्यस्तो सोचेजस्तो नहुने उनले बताइन्। भनिन्, ‘मैले असाध्यै अप्ठ्यारो परिस्थिति पनि धेरै झेलेकी छु।’ धेरैजसो मानिसको चाहना हुन्छ, आफ्नो जीवनको ‘पर्फेक्सनु मात्र देखाउने तर आफूले पुस्तकमा ‘पर्फेक्सनु देखाउनतिर नलागी ‘जीवनको तीतो सत्य’ अभिव्यक्त गरेको उनको भनाइ छ।

    ‘म जति इमान्दार हुन सक्छु, पुस्तकमा त्यति भएकी छु,’ उनले भनिन्।

    क्यान्सर लाग्नुअघि आफूले जीवनको त्यति महत्व नबुझेको र पछि मृत्युको नजिक पुग्दा यसको महत्ताबारे धेरै जानकारी पाएको उनले बताइन्। ‘पहिला म धेरै केयरलेस थिएँ।

    रोग लाग्यो भने पैसा खर्च गरेर मात्र छुटकारा पाइँदो रहेनछ, अरुलाई पनि उत्तिकै गाह्रो हुने रहेछ,’ उनले भनिन्, ‘वास्तवमा मनुष्य जीवन कति महत्वपूर्ण रहेछ, तर त्यही जीवनलाई हामीले गलत तरिकाले पनि उपयोग गरिरहेका रहेछौं।’ यसमा सचेत हुन पुस्तकले धेरथोर सिकाउने उनले बताइन्।

    ‘मलाई क्यान्सरले दिएको एउटा सन्देश के पनि हो भने, मान्छेको जीवनमा धेरै चमकधमक मात्र हुनु ठूलो कुरा होइन, आफूलाई कतिले चिन्छन् भन्नु पनि ठूलो नहुन सक्छ, तर आफ्ना लागि कति छन् भन्ने विषयले धेरै अर्थ राख्छ,’ उनले भनिन्।

    क्यान्सरले पारेको अप्ठ्यारो परिस्थिति मात्र होइन, पुस्तकले जीवनका अन्य कठिनाइहरुलाई पनि सूक्ष्म रुपमा समेटेको छ।

    कोइरालाले आफ्नो संस्मरणात्मक कृति ‘जिजीविषा’मा आफूलाई क्यान्सर लागिसकेपछिका अवस्था र त्यसले आफूलाई सिकाएको ज्ञान समाजलाई बाँड्ने इच्छा छ भनेको सन्दर्भलाई लिएर गरिएको प्रश्नमा उनले यस्तो भनाइ राखेकी हुन्।

    उनले आफू राजनीतिक वातावरणमा हुर्किए पनि यसमै जीवन समर्पण गर्ने सोच नरहेको समेत बताएकी छिन्। ‘म राजनीतिक वातावरणमा हुर्किएँ। मेरो घरमा राजनीतिको चर्चा पहिलेदेखि अहिलेसम्म हुने गर्छ, विभिन्न राजनीतिक घटनाक्रमको साक्षी पनि बनेकी छु,’ उनले भनिन्, ‘तर यसैमा लागौं भन्ने सोच अहिलेलाई छैन।’

    ‘राजनीतिलाई म करिअरका रुपमा हेर्न सक्दिनँ। यसलाई सेवाका रूपमा हेर्न सक्छु। सेवा गर्न राजनीतिमा आउनैपर्छ भन्ने म सोच्दिनँ। समाजसेवा गर्नका लागि अरू धेरै उपाय हामीसामु छन्। समाजमा राम्रो काम गर्न राजनीति गर्नुपर्छ भन्ने कतै लेखिएको छ र ?’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु