
काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र प्रतिष्ठित मोडलिङ प्रतियोगिता ‘नोथिङ स्मार्ट फोन मोडल हन्ट नेपाल-२०२६’ को ग्राण्ड फिनाले आगामी साउन ८ गते आयोजना हुने भएको छ। आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अनुसार प्रतियोगिताको यो १० औँ संस्करणको अन्तिम प्रतिस्पर्धाको तयारी तीव्र पारिएको छ।
देशव्यापी रूपमा लिइएको विभिन्न चरणको अडिसनबाट यस वर्ष फाइनलका लागि २६ महिला र १६ पुरुष गरी कुल ४२ जना उत्कृष्ट प्रतियोगीहरू छनोट भएका छन्।
प्रतियोगिताको मुख्य विजेता (मिस एण्ड मिष्टर मोडल हन्ट) ले ५ लाख रुपैयाँ बराबरको पुरस्कार र विभिन्न ब्राण्डका आकर्षक उपहारहरू प्राप्त गर्नेछन्। यसका साथै, विजेताहरूले आगामी सेप्टेम्बर महिनामा कम्बोडियामा आयोजना हुने प्रतिष्ठित अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘मिस एण्ड मिष्टर सेलिब्रेटी इन्टरनेशनल २०२६’ मा नेपालको तर्फबाट आधिकारिक प्रतिनिधित्व गर्ने सुवर्ण अवसर पाउनेछन्।
विगत एक महिनादेखि फाइनलमा पुगेका ४२ जना प्रतियोगीहरूलाई विशेष बन्द प्रशिक्षण (ग्रुमिङ सेसन) दिइँदै आएको छ। उनीहरूलाई ब्याकस्टेज म्यानेजमेन्ट, र्याम्प वाक, बडी ल्याङ्ग्वेज, व्यक्तित्व विकास, फोटोसुट, फेसन र मिडिया फेसिङ जस्ता व्यावसायिक मोडलिङका विविध विधाहरूमा देशका स्थापित विज्ञहरूद्वारा प्रशिक्षित गराइएको छ।
नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले नेपाली मोडलिङ क्षेत्रलाई व्यावसायिक बनाउन र अन्तर्राष्ट्रिय स्तरको मोडल उत्पादन गर्न यो प्रतियोगिता कोशेढुङ्गा सावित हुँदै आएको बताए।
प्रतियोगितामा’पब्लिक च्वाइस अवार्ड’ विधाका लागि आधिकारिक डिजिटल वालेट साझेदार ‘खल्ती’ एप मार्फत भोटिङ समेत खुला भइसकेको छ। दर्शकहरूले आफ्ना मनपर्ने प्रतियोगीलाई भोट गरेर सिधै फाइनलको उत्कृष्ट विधामा जिताउन सक्नेछन्।
यो सिजनको मुख्य प्रायोजक नोथिङ स्मार्ट फोन रहेको छ भने प्रतियोगिताको व्यवस्थापन यतना पाण्डे र कोरियोग्राफी वरिष्ठ कोरियोग्राफर रोजिन शाक्यले गरिरहेका छन्।