लोकसंगीतमा बाह्य अतिक्रमण र विकृति भित्रिएको छः प्रधानमन्त्री प्रचण्ड

म्यूजिक खबर
प्रकाशित: ५ फाल्गुन २०८०, शनिबार
Pushpa kamal Dhahal Prachanda

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले शनिबार धादिङको चरौंदीमा आयोजना गरेको ७ औं रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सबै भाषा, जाति र क्षेत्रमा लोकगीत लोकप्रिय रहेको उल्लेख गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोकगीत संगीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुन सबैलाई आग्रह गरेका छन् । प्रधानमन्त्री दाहालले नेपालीपनको संगीत विकृतितर्फ गएकाले त्यसप्रति गम्भीर हुनुपर्नेमा समेत आग्रह गरे ।
विविधतापूर्ण मौलिकतामा आधारित गीत–संगीतले निकै राम्रो प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘दर्शक–श्रोताको मन जितेका कालजयी गीत नेपालीको मन, मुटु र जनजिब्रोमा झुन्डिएका छन्, तर पछिल्लो समय ‘भाइरल’ हुने र ‘भ्यूज’ बढाउने नाममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारसमेत सांस्कृतिक विकृतितर्फ अग्रसर भएको अनुभूति हुन्छ, यसतर्फ कलाकर्मी र सम्पूर्ण जनसमुदायहरू सचेत हुनुपर्ने समय आएको छ ।’
‘भाइरल’ हुनु र लोकप्रिय एवं जनप्रिय हुनु एउटै कुरा नभएको भन्दै प्रधानमन्त्री दाहालले ‘भाइरल’को अर्थ सङ्क्रामक प्रसार भएकाले राम्रो नभएको उल्लेख गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकगीत सम्पूर्ण नेपालीको साझा संस्कृति र सम्पत्ति भएको बताएका छन् ।

सार्वजनिक मेला महोत्सवका कतिपय प्रस्तुति अत्यन्तै भद्दा, परिवार र साथीहरूसमेत सँगै बसेर हेर्न नसकिने खालका हुने गरेको गुनासो आउने गरेको बताउँदै प्रधानमन्त्री दाहालले यस्ता गतिविधिलाई प्रतिष्ठान र यससँग आबद्ध कलाकारहरु मिलेर निरुत्साहित गर्न आग्रह गरे ।
‘लोकसाहित्य युगौँदेखि जनसाधारणको मौलिक परम्पराका रूपमा व्यक्त हुँदै आएको छ, लोक साहित्यअन्तर्गत प्रमुख विधाका रूपमा लोकगीत सबैभन्दा सम्पन्न भएको विधा हो’, प्रधानमन्त्री दाहालले भने, ‘नेपाली जनजीवनका समग्र पक्ष र पाटालाई लोकगीतले प्रस्तुति गरेको बताए । नेपालको मेचीदेखि महाकालीका साथै नेपाल बाहिरसमेत फैलिएर रहेको लोकगीत यहाँका हरेक संस्कृति, प्राकृतिक सौन्दर्य, जनजीवनका हरेक घटना, दुःखसुखका सम्पूर्ण भोगाइ नै लोकगीतको प्रमुख विषयवस्तु बनाएर प्रस्तुत भएको समेत बताए ।
प्रधानमन्त्री प्रचण्डले बहुजाति, बहुभाषी तथा बहुसंस्कृतिको धनी देश नेपालको राष्ट्रिय पहिचानको महत्वपूर्ण आधारस्तम्भ लोकदोहोरीको मौलिकताको रक्षा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले लोकगीतले भाषिक, सांस्कृतिक विविधतासहितको बलियो अन्तरघुलन र एकता बनाउनुपर्ने समेत बताए । ‘हरेक देशको आफ्नै लोक संस्कृति हुन्छ, छुट्टै पहिचान र महत्व हुन्छ’, प्रधानमन्त्री दाहालले भने, ‘आवश्यकता, भौगोलिक अवस्था, जातीय बनोट, मूल्यमान्यताआदिले संस्कृतिको निर्धारण गर्छ, विविधतापूर्ण संस्कृति भएका विश्वका मुलुकहरूमध्ये नेपाल त्यस्तो देश हो, जहाँ जातीय, भाषिक, सांस्कृतिक विविधतासहितको बलियो अन्तरघुलन र एकता छ ।’

हिमाल, पहाड र तराई–मधेसको जीवनपद्धति आ–आफ्नै हुने गरेको बताउँदै प्रधानमन्त्रीले जीवनपद्धतिका आधारमा संस्कृतिको विकास हुँदै जाने उनले उल्लेख गरे । उनले भे, ‘हामीकहाँ सांस्कृतिक विविधताको प्रमुख आधार पनि जातीय, भाषिक, सामुदायिक र भौगोलिक विविधता नै हो, यसको सम्मान गरेर मात्र हामीले सही अर्थमा राष्ट्रिय संस्कृतिको विकास गर्न सक्छौँ ।’ लोक प्रतिभालाई आफूभित्र अन्तरनीहित प्रतिभा प्रस्फुटनको अवसर प्रदान गर्न देशभित्र र विदेशमा लोक तथा दोहोरी गीत प्रतियोगिता सञ्चालन गर्ने गराउने कार्य सराहनीय रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले लोकसंगीतको संरक्षणका निम्ति लोक वाद्य सामग्रीको प्रयोगमा जोड दिए । सबै नेपालीमा राष्ट्रियता र नेपाली मौलिकताको भावना जगाउन क्रियाशील हुनुपर्ने उल्लेख गर्दै उनले आफ्नो उद्देश्यमा प्रतिष्ठान एकताबद्ध प्रयासका साथ अग्रसर हुने विश्वास व्यक्त गरे ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्ष रिता थापा मगरको सभापतित्वमा भएको ७ औं रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता फागुन ५मा शुरु भएर ८ गते समापन हुँदैछ । उक्र प्रतियोगिताको उद्घाटन शत्र पारेर संस्थापक अध्यक्ष अमर विरही गुरुङ, पूर्व अध्यक्षहरु गायक प्रजापति पराजुली, दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, बद्री पंगेनी, रमेश बिजीलाई समेत सम्मान गरिएको थियो ।
इन्द्रेणी सांस्कृतिक विकास केन्द्रको प्रमुख प्रायोजन रहको यस रनिङ शिल्डदोहोरी गीत प्रतियोगिताका संरक्षक नेपाल सरकार, संस्कृति, पर्यटन तथानागरीकउड्डयन मन्त्रालय, बागमती प्रदेश सरकार, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय एवम् बेनीघाट रोराङ गाउँपालिका रहका छन् । उक्त प्रतियोगितामा प्रथम पुरस्कार रु. ३,००,०००/–, द्वितीय पुरस्कार रु. २,००,०००/–, तृतीय पुरस्कार रु. १,००,०००/– र सान्त्वना पुरस्कार रु. ५०,०००/– प्रदान गरिनेछ । प्रतियोगी कलाकारहरु मध्येबाट उत्कृष्ट गायक, उत्कृष्ट गायिकालाई रु.२५००० नगद राशिको पुरस्कार प्रदान गरिनेछ भने उत्कृष्ट भेषभुषा, उत्कृष्ट नवगायक, उत्कृष्ट नवगायिकालाई रु.१५००० नगद राशिसहितको पुरस्कारको व्यवस्था गरिएको प्रतिष्ठानका अध्यक्ष रिता थापाले बताइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु