म चाहन्छु मैले सिकाएका चेलाहरु पनि म भन्दा बढी योग्य बनुुन्: निर्देशक प्रकाश भट्ट

म्यूजिक खबर
प्रकाशित: ६ श्रावण २०७१, मंगलवार

काठमाडौं, ६ साउन । यतिखेर म्यूजिक भिडियोमा चर्चा बटुलिरहेका निर्देशक प्रकाश भट्ट म्यूजिक भिडियोको क्षेत्रमा व्यस्त निर्देशकका रुपमा चिनिन्छन् । कलाकार बन्ने सपना बोकेर गोर्खाबाट काठमाडौं छिरेका प्रकाश भट्ट आफ्नो औपचारिक अध्ययनलाई छाडेर कलाकारितातर्फ लाग्दा आज एउटा चर्चित एवं व्यस्त निर्देशकका रुपमा चिनिएका छन् । आफ्नो दुःखको पहाडहरुलाई लेख्दै जाने हो भने दुई चारवटा किताब नै बन्ने बताउने प्रकाश भट्ट आफ्ना चेलाहरु पनि आफूभन्दा चर्चित बनुन् भन्ने सोच राख्ने गर्छन् । प्रस्तुत छ प्रकाश भट्टसँग म्यूजिक खबरका लागि नारायण ढकालले गरेको कुराकानी ः 

प्रकाश भट्ट, निर्देशक
के मा व्यस्त हुनुहुन्छ ?
आजभोलि त म तिजका गीतहरुको म्यूजिक भिडियो लगायत अन्य लोक, आधुनिक गीतहरुको म्यूजिक भिडियो निर्देशनमा व्यस्त रहेको छु । गीतसंगीतको क्षेत्रमा म्यूजिक भिडियोहरु बिना बजारमा गीतसंगीत नै नबज्ने हुँदा म्यूजिक भिडियोको मार्केट राम्रो रहेको छ, त्यसकारण पनि म्यूजिक भिडियो निर्माणको क्रम तीब्र रुपमा अगाडि बढिरहेको छ । यतिखेर त तिज नजिकिँदै गरेका कारण तिज गीतकै म्यूजिक भिडियो निर्माणको क्रममा व्यस्त छु ।
तपाईं त आफैंमा मोडल पनि हुनुहुन्छ, अनि निर्देशक बनेर पो चर्चामा रहनुभयो त ?
म सानैदेखि एउटा कलाकार बन्ने सपना बोकेर काठमाडौं छिरेको हुँ । कलाकारिताको भूत चढेपछि म पढाइको सिलसिलामा काठमाडौं छिरे पनि कलाकारितातर्फ लागेँ । घरबाट काठमाडौं पठाउँदा बुबाआमाले छोराले राम्रो पढोस् भनेर पठाउनुभएको थियो । तर गाउँमा भएको मेरो सांगीतिक परिवेशले मलाई एउटा सफल कलाकार बन्ने सपनातर्फ सोच्न बाध्य बनाएको थियो । त्यसैले काठमाडौं छिर्नासाथ म पढाइ सँगसँगै नृत्य सिक्न थालेँ । साथीहरुले पनि ‘राम्रो नृत्य गर्छस् यसलाई निरन्तरता दे’ भनेर हौसला दिइरहन्थे । त्यसले मलाई झन् कलाकारितको बाटोतर्फ उन्मुख गरायो । त्यसपछि मोडल पनि बनेँ, विस्तारै विस्तारै मोडलिङ भन्दा निर्देशनतर्फ मेरो इच्छा जाग्यो र निर्देशनलाई बढी प्राथमिकता दिएँ ।
गाउँदेखि काठमाडौंमा छिरेर एउटा सफल निर्देशकसम्म आइपुग्दा कस्तो अनुभव गर्नुभएको छ ?
म गोर्खाको विकट ताकु गाविसबाट काठमाडौंसम्मको यात्रा गर्दा धेरै संघर्षको पाठ पढेको छु । पढ्नको लागि छुट्याएर घरबाट ल्याएको खर्चले म कलाकार बन्ने सपना बोकिरहेको थिएँ । अध्ययन एकातिर थियो अर्कोतिर ममाथि कलाकार बन्ने भूत सवार भएको थियो । धेरै संघर्ष गरियो, सुखदुःखका पहाडहरु मेरा सामु पनि नआएका होइनन् । तर मलाई सफल कलाकार बन्ने एउटै लक्ष्य भएका कारण निरन्तर कलाकारिताको क्षेत्रलाई आत्मसात गरिरहेँ । गाउँबाट झरेको प्रकाश भट्ट शहर आइपुग्दा मोडल, निर्देशक बन्ने जुन अवसर मिलेको छ त्यसमा मेरो मेहनत र पसिना धेरै बगेको छ । धेरै दिन भोकभोकै शहरमा हिंडेको अनुभवहरु छन् । मेरो संघर्ष र जीवनभोगाईलाई तपाईंहरु सामु बताउने हो भने दुई चारवटा किताब नै तयार हुन्छ । त्यसैले संघर्षबिनाको मान्छे कोही पनि हुँदैनजस्तो मैले भोगेको अनुभवभित्र छ ।

prakash bhatta
तपाईं एउटा निर्देशक बनिरहँदा धेरै कलाकार पनि उत्पादन गर्नुभएको छ होला नि ?
मैले धेरै कलाकार उत्पादन गरिसकेको छु । मैले यही भन्दा पनि धेरै अहिले सफल कलाकार बनेका छन् उनीहरुले नै मूल्यांकन गर्छन् । आखिर म एउटा माझी नै हुँ, जसले खोलामा आउने यात्रुलाई डुंगाबाट खोला वारिपारी गराइरहन्छ । म सिकाउँदै जान्छु र उनीहरुलाई सफल बाटोमा पु¥याउँछु र छाडिदिन्छु । तर म यही ठाउँमा छु । धेरैले कलाकारिताबाट आफ्नो भविश्य हात पारिसकेका छन् । म चाहन्छु मैले सिकाएका चेलाहरु पनि म भन्दा बढी योग्य बनुुन् ।
एउटा निर्देशक भएपछि म्यूजिक भिडियोमा मात्र किन सीमित त चलचित्र तिर निर्देशन गर्नुहुन्न ?
त्यो सोच्न नै भ्याएको छैन । म्यूजिक भिडियो निर्देशनमै मेरो व्यस्तता बढिरहेको छ, म्यूजिक भिडियो नै निर्देशन गर्न भ्याएको छैन । चलचित्र पनि गर्ने दिन आउला । तर निर्देशक भइसकेपछि चलचित्रतर्फ पनि जानु कुनै नौलो कुरा हुँदैन । आखिर कन्सेप्टको कुरा नै हो । तर व्यवसायिक हिसाबले एउटा चलचित्र बनाउँदा जति दिन लाग्छ त्यो भन्दा म एकदिनमा एउटा म्यूजिक भिडियो निर्देशन गरिरहेको हुन्छ । त्यसैले चलचित्रमा लाग्नुभन्दा पनि म्यूजिक भिडियोबाट मेरो व्यावसायिक करिअर सफल भएको छ ।
निर्देशकका पछाडि मोडलहरुको नाम धेरै जोडिने गर्छन् तपाईंको चाहिँ कस्तो छ नि ?
तपाईंहरुले भनेको कुरा सही हो, त्यो अनुभव अहिलेसम्म गर्न पाएकै छैन । मोडल र निर्देशकका बीचमा धेरै चर्चा चल्ने गर्छन् तर म आफ्नो काममा व्यस्त भएको कारण मोडलसँगको यो चर्चामा रमाउन सकिनँ । हुन त महिला र पुरुषबीचको आकर्षण सबैमा हुने गर्छन् तर आकर्षित हुने भन्ने वित्तिकै उनीहरुको नाजायज सम्बन्धमा मुछिनु राम्रो होइन आफ्नो काममा पहिलो ध्यान जानु जरुरी हुन्छ । हामी पहिलो कर्तव्य के हो भनेर बुझ्न सकेनौं भने सफलतातर्फ जान गाह्रो हुन्छ । चर्चा त नराम्रो काम गरेर चाँडो कमाइएला तर राम्रो काम गरेर चर्चा कमाइयो भने त्यो स्थिर रहन्छ ।

prakash bhatta mka award
पछिल्लो समय गीतसंगीतमा भएको विकृतिमा म्यूजिक भिडियोले प्रमुख प्रभाव पारेको छ, यसलाई कसरी लिनुहुन्छ ?
गीतसंगीतमा विकृति आएको भने पक्कै हो । तर सबै म्यूजिक भिडियोको कारण यस्तो भएको होइन । कति निर्माताहरुले त्यस्तै व्यावसायिकलाई राजेका हुन्छन् भने हामी निर्देशकले त्यसलाई प्रस्तुत गर्न बाध्य हुन्छन् । अब निर्माताहरुले गुन्यूचोली लगाएर गीत चल्दैन अलि फरक तरिकाले प्रस्तुत गर्नुपर्छ भनेर हामीले सोचेका हौं । विकृति नै भन्न मिल्दैन । तैपनि पछिल्लो समय केही निर्देशकहरुले लोकगीतका लागि नसुहाउने दृश्य राख्न पनि थालेका छन् त्यसले भने पक्कै पनि लोकसंगीतको क्षेत्रले पाश्चात्य शैलीलाई पछ्याएको छ भन्दा फरक पर्दैन ।
बजार खस्कियो भनिन्छ, तर छोटो लुगा लगाएर लोकदोहोरीको भिडियो बनाउँदैमा उकासिएला त ?
पहिला भन्दा संगीतको बजार खस्किएको भने पक्कै हो । पहिला सिडी बिक्री हुन्थ्यो, अहिले संगीतको केही पनि बिक्री हुँदैन भन्दा पनि हुन्छ । डिजिटल प्रविधिको विकाससँगै आरबिटी र यूट्यूबहरुमा जति गीतहरु चलेको देखिन्छ त्यति नै हो । तर छोटो लुगा लगाएर लोकदोहोरी म्यूजिक भिडियो बनाएर गीत बिक्री हुन्छ भन्ने होइन । तर अहिले भनेको साडी लगाएको हेर्ने भन्दा छोटा लुगा लगाएकै हेर्ने बढी हुन्छन् भन्ने मात्रै हो ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु