सदबहादर सिर्जनाका धनी गायक संगीतकार रोशन सिंह

म्यूजिक खबर
प्रकाशित: २२ आश्विन २०८२, बुधबार १३:०५

सुमन पण्डित

नेपालको रुकुम पश्चिम विकासको क्रमले अलि पछि परेको भए पनि सिर्जनाको मूल भने धेरै भेटिने गर्छन् । तीमध्येका एउटा सिर्जनाको हिरा हुन् रोशन सिंह । उनी पछिल्लो समयका लोकप्रिय गायक बनेका छन् । उनले संगीतको यात्रा गर्न थालेको करिब एक दशक हुँदैछ तर उनका सिर्जनाले उनलाई लोकप्रियताको शिखरमै पू¥याएको छ । शब्द, संगीत सिर्जना र गायनको पाटोबाट सबैको मनमस्तिष्कमा अमिट छाप छोड्न सफल भएका छन् । ‘ओइ ज्योति ओइ ज्योति’ बोलको गीतबाट २०७३ सालदेखि औपचारिक रुपमा सांगीतिक यात्रा सुरु गरेका थिए । त्यसपछि ‘तरकारीवाली’ गीतलाई लिएर आए । यी दुवै गीत एकातिर व्यङ्ग्यात्मक रुपमा देखिए पनि दोहोरीमा आधुनिकता सहित फरकपन पस्किन सफल भए रोशन ।

वि.सं. २०७२ मा रुकुमबाट वैदेशिक रोजगारीमा जान काठमाडौं आएका सिंहको मन संगीतको क्षेत्रमा मोडिएको थियो । विदेश जानुअघि उनी एक गीत रेकर्ड गराउन चाहन्थे । त्यसैले वैदेशिक रोजगारीमा जाने निधोसहित भिषासमेत प्राप्त गरिसकेका थिए । भिषा अवधि सकिनु अघिसम्म आफ्नो गीत गाइदिन धेरै गायकहरूको दैलोमा पुगे पनि । तर, कसैले आफ्नो गीत नगाएपछि निराश बने । अन्ततः आफैं गायक बनेर गीत रेकर्ड गरेको उनी सुनाउँछन् ।

‘म संगीत सिकेर आएको मान्छे थिइनँ । मेरो रहर एउटा गीत रेकर्ड गर्नु थियो । तर कसैले गाउन मानेनन् । मलाई इगोहर्ट भयो । आफैं गायक बन्नुको बिकल्प पनि थिएन । अनि आफै गायक बनेँ’, उनले पुराना दिन सुनाए । त्यो गीत रेकर्डपछि उनमा संगीतको चाहना आफसेआफ बड्यो । त्यसपछि सबैकुरा भुलेर लगातार सिर्जनातर्फ मोडिए ।े ‘ओइ ज्योति’ र ‘तरकारीवाली’ भन्ने गीतहरू निकाले । ती गीतहरूले चर्चा त पाए नै तर उनलाई गालीको वर्षा नै वर्षियो । अरुभन्दा फरक बन्ने प्रयास गर्दा धेरै गाली मिले पनि उनी आफ्ना सिर्जनाहरुप्रति सम्मान प्रकट गर्छन् । त्यसपछि यो क्षेत्र आफ्ना लागि बनेको होइन जस्तो लागेर दुई वर्ष विश्राम लिए । गीतको भोक छँदै थियो । त्यो बेला जागिरको खोजीमा धेरै दोहोरी साँझसम्म पुगे कतै काम पाएनन् र निराश भएर बसे । झण्डै डिप्रेसनको शिकार बनेका उनले आफ्नो मन आफैंले बुझाए । मनलाई धेरै बलियो बनाए, अनि वैदेशिक रोजगार त्यागे तर संगीतलाई त्याग्न सकेनन् र पुनः फर्किए संगीतको यात्रामा ।

‘म त संगीतको सामान्य विद्यार्थी हुँ । कुनै बेला इगोको कारण गीत गाएँ । सधैँ त्यही इगो साधेर पनि त भएन नि’, मनमनै यस्तै कुराहरु सम्झिँदै गायन, शब्द तथा संगीत सिर्जनामा होमिएँ – उनले भने । उनले सिर्जना गरेका धेरै गीतले दर्शक÷श्रोताको मनमा डेरा जमाएका छन् । ‘सर्जकलाई गाली र ताली स्वभाविक रहेछ जस्तो लाग्न थालेको छ, उनी भन्छन्– ‘मैले विगतमा खाएको गालीले नै मलाई पाठ सिकाएको हो र आज ताली पाएको छु । जो गल्ती गर्छ उसले सिक्नका लागि धेरै कुरा प्राप्त गर्छ । गल्ती पनि एउटा पाठ नै रहेछ ।’

पछिल्लो समय उनले निकालेका धेरै गीतहरू दर्शकको रोजाइमा छन् । भूपू माया– १ देखि ५ सिरिजसम्म आइपुग्दा सबै चर्चाको शिखरमा छन् । त्यस्तै पिपल छेउमा वर, किन मरिनँ म, सिन्दुर, कस्तो थिएँ कस्तो भएँ, रुनु पर्लानी, धोका खाएर बिग्रेको, ए झरी लगायत करिब ५ दर्जन गीत चर्चामा छन् । तर, उनी आफ्नो सिर्जनामा आफू भन्दा अरु गायक गायिकालाई गाउन दिँदा आत्मसन्तुष्टि मिल्ने बताउँछन् । गीतसंगीत क्षेत्रले आफूलाई बाँच्न सिकाएको उनले हामीलाई सुनाए । ‘संगीत क्षेत्रलाई मैले के दिएँ भन्ने कुरा म भन्न सक्दिनँ । तर, संगीत क्षेत्रले मलाई पहिचान दिएको छ’, गायक सिंह संगीत क्षेत्रप्रति कृतज्ञता प्रकट गर्छन् ।

आँशु दिने मान्छेलाई बिन्ती छ
मेरा लागि त्यही आँशु किम्ती छ
ए झरी !
मुटुभित्र बसेको मान्छेलाई बिर्सुं कसरी ?

सिंहले यो गीत २०७७ को साउनको झरीमा लेखेका हुन् । त्यसबेला उनी काठमाडौंको सामाखुशी क्षेत्रमा बस्थे । उनले गीत निर्माणको त्यसबेलाको समय सम्झिन्छन् । ‘गीतको स्थायी बनेपछि त्यो साँझ म रूझ्दै म्हेपी मन्दिर पुगेँ’ बिहान ३ बजेसम्म मैले गीतलाई कुन कुन विषय जोड्ने भन्ने निक्र्यौल गरेँ । त्यही मन्दिरमा पहिलो अन्तरा बनाएँ ।’

गायक रोशन सिंहका गीतहरु सुनेपछि लाग्छ यी प्रेममा पागल भएका मान्छे हुन् । पीडाको अन्तरहृदयदेखि पस्किएका सिर्जनाहरुले उनलाई पागलप्रेमीको संज्ञा दिइरहेको आभास हुन्छ । उनका हरेक गीतमा फरकपन भेटिए पनि शब्द सिर्जनाले पटक पटक मायाप्रेमभित्रको गहिराई भेटाइदिन्छ । त्यहाँभित्र मिलन बिछोडको संगम छ । मायाको सागरभित्र पौडिएको यात्रीको मनलाई राम्रोसँग बुझाउन पनि सक्छ । उनका हरेक गीतबाट यो प्रष्ट हुन्छ कि मायाप्रेमको गहिराइमा डुबेर उत्रिँदै गरेको एउटा प्रेमीमध्ये रोशन सिंह पनि एक हुन् । शब्द सिर्जना होस् या संगीत सिर्जना उनको अब्बल पक्ष हो । उनको गायकी पनि उत्तिकै मजबुत देखिन्छ र उनले अरुलाई गाउन दिएका गीतहरु पनि उत्तिकै अब्बल बनेका छन् । उनका हरेक गीत मिलियन भ्यूज पाएका गीतको लिस्टमा पर्दछन् ।

उनले सिर्जनामा लागेपछि केही अवार्ड, केही सम्मानहरु पनि हात पार्न सफल भएका छन् । आफ्नो सिर्जनाले पाएको अवार्ड र सम्मानले सिर्जनाको बाटोमा प्रोत्साहन मिलेको बताउँछन् । ए झरी गीतबाट ए.एम.एस. नेशनल अनर अवार्ड प्राप्त गरेका छन् । त्यस्तै नेशनल ब्राण्ड म्यूजिक अवार्ड, एपिक नेपाल म्यूजिक अवार्ड लगायतका अवार्ड पाइसकेका छन् । दोस्रो तीज म्यूजिक अवार्डमा निर्णायकको भूमिका निर्वाह गरेका रोशन सिंह पछिल्लो समय व्यस्त पनि छन् । मेला महोत्सवमा उनको डिमाण्ड उत्तिकै छ । हिजो उनलाई दोहोरी साँझहरुमा काम दिन नाक खुम्च्याउनेहरु आज उनकै गीत ती साँझहरुमा गाइन्छन् । आफूलाई ठूलो मानेर गीत नगाइदिने वा गीत सिर्जनामा विश्वास नगर्नेहरु नै आज उनकै पछि छन् । सिर्जनाले नै उनीहरुलाई आफूसमक्ष ल्याउन सफल भएका हुन् । उनीसँग यतिबेला अझै १० वर्षलाई पुग्ने स्टक गीतहरु सिर्जना गरेर बसेका छन् । उनी भन्छन् ‘वर्षको २–४ वटा गीत बजारमा ल्याउँदा पनि अझै १० वर्षलाई पुग्ने सिर्जना स्टक गरेको छु’ । आफूलाई हरेक ठाउँमा फरक तरिकाले प्रस्तुत गर्नुपर्छ भन्ने मान्यताका उनी संगीत यात्रामा निरन्तर अघि बढेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु