‘लकउडाउन’ सदुपयोगः एक वर्षलाई पुग्ने सिर्जना

म्यूजिक खबर
प्रकाशित: १८ भाद्र २०७७, बिहीबार
Sahadev Koirala

सविता पोखरेल/म्यूजिक खबर


विश्वव्यापी कोरोना कहरको सन्त्रासका कारण हाम्रो मुलुकमा पनि लकडाउन जारी भयो । सबै क्षेत्र ठप्प भयो । केहि महिनाको अन्तरालमा लकडाउन खुकुलो भएसँगै रोग र भोकसँग लड्ने दुबै वर्गले डरै–डरमा भए पनि केहि राहत महसुस ग¥यो । फेरि पुनः सरकारले निशेधाज्ञा नै जारी गरेपछि सबै क्षेत्र ठप्प हुन पुगेको छ ।
तर, सिर्जनशील व्यक्तिहरुका लागि हरेक समय अवसर बन्ने गरेको छ । खुशीका पलमा त हरेक रमाउँछन् नै दुःखमा समेत सक्रिय रहन सक्ने भनेकै शब्दसँग खेल्ने वर्ग नै हो । उसले खुशी र रोदनमा उत्तिकै दिमागी स्पर्श गरिरहेको हुन्छ । आनन्द लिइरहेको हुन्छ । विश्वव्यापी कोरोना कहरमा पनि आफूलाई सक्रिय बनाएर यहि सिद्ध गराएका छन् सिर्जनात्मक क्षमताका धनीहरुले । अध्ययन र रचनामा मस्त र व्यस्त बनेका छन् । यस्तै एक उदाहरण हुन् गीतकार तथा संगीतकार सहदेव कोइराला ।

नेपाली गीत संगीतमा विगत केहि वर्षदेखि अनवरत रुपमा आफ्नो सांगीतिक यात्रालाई निकै फराकिलो बनाउँदै आएका गीतकार हुन् सहदेव । उनी यतिबेला अड्केका काममा आफूलाई व्यस्त बनाइरहेका छन् । नियमित काम सबै ठप्प भए पनि उनले आफ्नो सिर्जनशीलता भने ह्वात्तै बढाएका छन् । सहदेव भन्छन् – ‘यसै पनि टोलाउँदै बसेर गुमाउनु शिवाय केही पाउनु त छैन ।

‘अमृत भनी विषै ख्वाए नि’ गीतबाट गीति लेखन र संगीतमा हात हालेका सहदेवका एकपछि अर्को गर्दै दर्जनौं गीतहरु आए । उनको जीवनले सांगीतिक गति राम्रैसँग पक्डिन सफल भयो । संगीतमै अझै धेरै गर्नुपर्छ भन्ने संकल्पले ‘नेपाल म्यूजिक अवार्ड २०७५’ को सफलतापूर्वक सम्पन्न गरे । फेरि उनले नेपालकै पहिलो लोकगीत सम्बन्धी रियालिटी सो ‘लोक स्टार’ गर्न सफल भए । तर व्यवसायिक रुपमै सांगीतिक उचाई पाइरहेका सहदेवको सांगीतिक सिर्जनामा भने असर पुग्यो । सिजर्नात्मक काम देखाउन पाएनन् । तर उनलाई लकडाउन यस्तो अवसर बन्यो जसका कारण आज फेरि आफूलाई आफ्नो मन र मुटुबाट गर्न चाहेको कामलाई निरन्तरता दिन पाइरहेका छन् । सहदेव भन्छन् – ‘लोक स्टारको जिम्मेवारीले गीति लेखनमा निरन्तरता दिन सकिरहेको थिइनँ । तीन वर्ष पुगेछ ग्याप भएको पनि । लकडाउनको भरपुर सदुपयोग गरिरहेको छु । १५ वटा प्रोजेक्ट तयारी अवस्थामा छन् ।’ लकडाउन र निशेधाज्ञासँगै सरकारले जारी गरेको नियमलाई पूर्णतः पालना गरिरहेका उनी । अन्य थुप्रै सिर्जना तयारी गरिरहेका छन् । निरन्तर सिर्जनामा नै तल्लिन छन् ।
कुराभन्दा कामलाई प्राथमिकता दिनुपर्छ भन्ने सकारात्मक सोचका धनी सहदेव अगाडि भन्छन् – ‘अब अरु काममा व्यस्त भए पनि अहिले गरेका सिर्जनाहरु एक वर्षसम्मका लागि पुग्नेछन् । यहि समयमा उनले केही गीतहरुको रेकर्डिङ पनि गरिसकेका छन् । गायनका लागि उनले नयाँ पुराना सबैलाई समेटेका छन् । लोकदोहारीकी सर्वाधिक चर्चित गायिका विष्णु माझीदेखि आधुनिक क्षेत्रकी सर्वप्रिय गायिका अन्जु पन्त उनको रोजाइमा परेका छन् । त्यस्तै पुराना चर्चित गायक गायिका प्रमोद खरेलदेखि रामजी खाँण र पूर्णकला बिसीदेखि नयाँ पुस्ताका चर्चित गायिकाहरु समिक्षा अधिकारी, एलिना चौहानसम्मलाई पनि गीत गाउन लगाएका छन् । त्यसमध्ये गायिका एलिना चौहानले स्वरमा रहेको ‘चकित परुन दुनियाँ सारा बुझ्देउ कान्छा आँखैको ईसारा’ चाँडै बजारमा आउने तयारीमा छ । अन्य गीतहरु पनि चाँडो भन्दा चाँडो सार्वजनिक गर्ने उनी बताउँछन् । ‘कतिपयले गीतलाई बिर्सेछ भन्न थाले भने कतिपयले मलाई नै बिर्सीसक्नु भयो होला जस्तो लागेर पनि फेरि सक्रिय भएको हुँ । डायरीमा थुप्रै शब्द छन् । लकडाउनमै २० भन्दा बढी गीत लेखें । ती मध्ये रोजेर केही बजारमा ल्याउने सोच गरेको छु । आशा छ पहिलाको जस्तै माया पाउँछु भन्ने ।’

यसरी अधिकांशलाई कठिन मोड बनेको लकडाउन, निशेधाज्ञालाई सहदेवले भने अवसरको रुपमा उपयोग गरे । उनी भन्छन् – ‘स्वास्थ्य नै धन हो सावधानी त अपनाउनै प¥यो । घरपरिवारमा समय दिन पाएको थिइनँ । अहिले पुरा समय दिन पाएको छु । रुचीको कामलाई समय दिन पाएको छु । घरको काममा सहयोग गर्न पाएको छु । रमाइलै लागिरहेको छ । तर निशेधाज्ञाले धेरैलाई अप्ठ्यारो अवस्थामा पु¥याइरहेको छ । यस्तै हो भने रोगले भन्दा पनि भोकले मर्नेहरु धेरै हुन सक्छन् । यसतर्फ पनि सरकारले सोच्न जरुरी छ । कोरोनाको डर पनि छिट्टै सकियोस् कामना गर्दछु ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु