संस्कृतिविद् सत्यमोहन जोशीको निधन, पार्थिव शरीर किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई प्रदान गरिने

म्यूजिक खबर
प्रकाशित: ३० आश्विन २०७९, आईतवार
Satyamohan Joshi

संस्कृतिविद् सत्यमोहन जोशीको आइतबार राति ७ बजेर ९ मिनेट जाँदा ललितपुरस्थित किस्ट अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनको १०३ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गतेदेखि भर्ना भएर उपचार भइरहेको थियो ।

संस्कृतिविद् जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेट जाँदा ललितपुरस्थित किस्ट अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि उनलाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिँदै थियो ।

उनलाई डेंगीको संक्रमणका सथै पिसाबमा पनि संक्रमण देखिएका कारण अस्पताल भर्ना गरिएको थियो । उनी मुटु र फोक्सो पनि दीर्घरोगी थिए ।
संस्कृतिविद् सत्यमोहन जोशीको पार्थिव शरीर चिकित्सा शिक्षा अध्ययनका लागि किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई प्रदान गरिने भएको छ । जोशीको इच्छा अनुसार नै उनको पार्थिव शरीर अस्पताललाई दिइने ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जानकारी दिएका छन् ।

उनका अनुसार जोशीको शरीरलाई साढे ११ बजे देखि १२ बजेसम्म अस्पताल प्रांगणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ । परिवारले अस्पतालको शय्यामा नै श्रद्धाञ्जली प्रकट गरेर हिन्दु संस्कारका केही विधि प्रक्रिया पूरा गरेपछि उनको पार्थिव शरिर आम मानिसका लागि श्रद्धाञ्जली दिनका लागि राखिने छ ।

यस्तै, १२ बजे उनको शरीरलाई ललितपुर महानगरपालिकामा लगिने र त्यहाँ ४ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने भएको छ । उनलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका अन्य विशिष्ठ व्यक्ति समेत जाने बताइएको छ । उनको शरीर अन्तिममा आइतबार नै अस्पताललाई हस्तान्तरण गरिने मेयर महर्जनले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृतिविद् सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गर्दै मुलुकले अभिभावक गुमाएको पीडाबोध भएको बताएकी छन् । राष्ट्रपति भण्डारीले जोशीको निधनप्रति दुःख व्यक्त गर्दै श्रदाञ्जली जनाएकी छन् ।

राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटरमार्फत श्रदाञ्जली व्यक्त गरेकी छन् । ’वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ । उहाँको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको अजस्र स्रोत हो । अमर सत्यमोहनप्रति हार्दिक श्रद्धाञ्जली !,’ राष्ट्रपतिले लेखेकी छन् ।

त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले शतब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री देउवाले शताब्दी पुरुष जोशीको निधनको खबरले आफू दुःखी भएको भन्दै उनले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैं सम्झिरहने बताए ।
‘शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको खबरले निकै दुःखी भएको छु । उहाँले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैं सम्झिरहनेछ ।’

प्रधानमन्त्री देउवाले मृतक जोशीको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।
जहानियाँ राणा शासनदेखि २००७ सालमा आएको प्रजातन्त्रसम्म र २०१७ देखि सुरु भएको पञ्चायतदेखि २०४६ मा आएको प्रजातन्त्रसम्मका सबै उथलपुथलपूर्ण इतिहासका साक्षी रहेका जोशी नेपाली र नेवारी भाषाका नाटककार र त्यसमा अभिनय गरेका कलाकार पनि थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु