शिव परियार अर्थात् नेपाली संगीतको चम्किलो हिरा

म्यूजिक खबर
प्रकाशित: २६ फाल्गुन २०७५, आईतवार
  • सुमन पण्डित/म्यूजिकखबर

पुख्र्यौली थलो ओखलढुंगाको चिसंखुपाखे हो । बाजेहरु पहाडमा हुर्केको भए पनि बुबा सर्लाही बसाइँसराई गरेका थिए । त्यही सर्लाहीको हजरियाले जन्माएको एउटा असाधारण प्रतिभा हो गायक तथा संगीतकार शिव परियार । स्कुले जीवनबाट नै गायनमा प्रथम स्थान हासिल गर्दै आएका गायक परियार अहिलेका चर्चित एवं लोकप्रिय गायकको सूचिमा पर्दछन् । एसएलसीसम्मको अध्ययन गाउँमा गरेर काठमाडौं छिरेका शिव परियार रेडियो नेपालले आयोजना गरेको २०५९ सालको आधुनिक गीत प्रतियोगितामा आधुनिक गीत गायनमा स्वरतर्फ प्रथम स्थान हासिल गरेर सांगीतिक यात्रामा पाइला चालेका हुन् । तत्पश्चात आधुनिक संगीतमा नारायण गोपाल युवा संगीत पुरस्कार, नेपाल सरकारका तर्फबाट राष्ट्रिय युवा प्रतिभा सम्मान, सर्वोत्कृष्ट पुरुष गायन विधा अन्तर्गत इमेज अवार्ड, हिट्स एफएम म्यूजिक अवार्ड, रेडियो कान्तिपुर म्यूजिक अवार्ड, म्यूजिक खबर म्यूजिक अवार्ड, कालिका म्यूजिक अवार्ड, रेडियो अन्नपूर्ण म्यूजिक अवार्ड लगायतका म्यूजिक अवार्डहरु चुमिसकेका छन् । विगत १८ वर्षदेखि निरन्तर पूर्वीय शास्त्रीय संगीत गायनको अध्ययन र साधनाबाट संगीतमा आफूलाई निखारिरहेका गायक परियारका हालसम्म मोक्ष, स्वयम्, कादम्बिनी, क्या दामी, फाटेको मन, पागल, कथाले मागेपछि, वन्ली यू मेरो साथी, टाढाको साथी, शिवबुक गरी दशवटा सांगीतिक संग्रह नेपाली संगीतको भण्डारले पाएको छ । अहिलेसम्म चार सयभन्दा बढी गीतमा आफ्नो स्वर दिइसकेका गायक परियारको बारेमा म्यूजिक खबरले तयार पारेको रिपोर्टः

करोड क्लबको आँसुको अर्थ
आँसुको अर्थ पहिलो चरणको रेकर्डिङको साँझमा मेरो यूकेको फ्लाइट थियो । अत्यन्त हतारमा खाली पेटमा गएर टंक बुढाथोकी भाइको स्टुडियोमा गएर रेकर्ड गरेको थिएँ । सुन्दा राम्रै लागेको थियो । पछि त्यो अडियो गीतकार रवि अधिकारी र संगीतकार टंक बुढाथोकीको यूट्यूब च्यानलबाट सार्वजनिक भयो । त्यसपछि मलाई लाग्यो यति राम्रो गीतलाई यत्तिकै मर्न दिन हुन्न । अब पुरानो ढर्राको आधुनिक गीत सुन्नेभन्दा पनि नयाँ पुस्ताका स्रोताको हृदय छुने खालको गीत हुनु पर्छ भन्ने सोच आयो । आधुनिक गीतमा पनि विशेषगरी नयाँ शैलीको संगीत संयोजन मन पराउने स्रोताहरुको मन छुने संगीत संयोजन गर्नुपर्छ भन्ने लागेर मैले संगीत संयोजक ऋदम कँडेलजीलाई भने र नयाँ संगीत संयोजनमा पुनः रेकर्ड गरेँ । त्यही गीतले आज स्रोता तथा दर्शकको मन जित्दै यूट्यूबमा करोड क्लब भ्यूजको यात्रा पार गरिसकेको छ । जनताले माया गरिदिएर यस गीतमा करोड भ्यूज पाउनु भनेको आँसुको अर्थ र मरो च्यानलको पनि सम्मान हो भन्ने मैले बुझेको छु, कुराकानीमा उनले भने ।

आँसुको अर्थ–२
अब आँसुको अर्थ–२ सार्वजनिक गर्ने तयारी गरिरहेका छन् उनी । पहिलो गीतमा विशेषगरी जीवनमा प्रेममा धोका दिएर छोडि जाने पात्रलाई एकतर्फी आरोप लगाउँदै गुनासो गरिएको थियो भने ‘आँसुको अर्थ’ भाग–२ आफ्नो जीवनमा प्रेमपश्चात्को विछोडमा छोडी जाने पात्रलाई सदैव सकारात्मक ढंगले सम्मान र माया गर्नुपर्छ भन्ने कुरालाई जोड दिइएको छ, उनले बताए । गीतको शब्द रवि अधिकारीकै रहेको छ भने यसपटक संगीत आफैंले भरेका छन् । यो गीतले आँसुको अर्थ भाग–१ को उचाइमा रहेको सांगीतिक तल्तल्लाई मेट्ने प्रयास गरिएको उनले बताए । यतिखेर उनको ११ औं र १२ औं गीतिसंग्रह ‘शिवालय’का लागि शब्द छनौट, संगीत र रेकर्डिङको कार्य भइरहेको छ । गीतिसंग्रह शिवालय क्रमशः भाग–१ र भाग–२ गरी दुई भागमा प्रकाशन हुनेछ भने आँसुको अर्थ–२ पनि शिवालय भाग–१ अन्तर्गत रहने उनले बताए ।

विगतका दिन
सबैभन्दा ठूलो कुरा ‘पेट’को रहेछ । अत्यधिक सफलता र चर्चामा रहँदा पनि सांगीतिक विरासतको उचाई र ‘पेट’ प्रतिको उत्तरदायित्वलाई पनि सन्तुलित गर्दै नेपाली संगीत क्षेत्रमा अगाडि बढ्नको लागि धेरै चुनौति छ, उनले विगतका दिन सम्झिए – ‘एकदिनको कुरा थियो, एउटा गीत रिलिज गर्ने क्रममा दिउँसो १२ बजेसम्ममा सकिएला भनेको काम गर्दागर्दै राति ११ बज्यो । सामान्यतया हामी दिउँसो त भोकै बस्न सक्छौं । कयौं दिन कयौं रात भोकै बसेर पनि काम गरिएकै हो । तर त्यो रात मलाई यति भोकले सतायो कि माटो ढुंगा पाए नि खाउँजस्तो बनायो । त्यति ठूलो समस्या पनि होइन तर भोकै कसरी सुत्ने ? त्यतिबेला भोक सहन सक्ने अवस्था नै थिएन । पेट जलिरहेको जस्तो अनुभूति भइरहेको थियो । अब पेटकै कारण आफ्नो खाना खोज्ने क्रममा भौंतारियौं । त्यसपछि एउटा खाना खाने ठाउँ फेला पा¥यौं । सामान्य खाना खाने ठाउँ थियो, मान्छेको भीडभाड थियो । हामीलाई देखेर कलाकार भनी सहज रुपले खाना खुवाउने वातावरण बनाइयो । भात खानका लागि धेरैको लाइन थियो तै पनि हामी ५ जनाको समूहलाई एउटा टेबल खाली गरियो र खाना खान दिइयो । सबैले हेरिरहेका थिए, त्यहाँ कुनै सेलिब्रेटी जाने ठाउँ थिएन । तर पनि म लगायत साथीहरु सबैले खाना थपीथपी आनन्दले खाना खायौं । त्यहाँ हामीलाई जीवनमा कमाएको सांगीतिक विरासतको कुनै वास्ता थिएन । सांगीतिक उचाईको पनि कुनै वास्ता थिएन । किनकी पेटले निकै सताएको थियो । मैले सेलिब्रेटी हुँ भन्ने सोचिनँ, मलाई एउटै चिन्ता थियो काम सकेर पेटभरि खाना खाएर राति आराम लिनुथियो ।’ सफल कलाकारको जीवनमा पनि यस किसिमको संघर्ष अझै पनि जारी रहेको गायक परियार बताउँछन् ।

प्रशंसकहरुप्रतिको सांगीतिक जिम्मेवारी
सुरुसुरुमा जतिबेला सपनाहरुको पहाड बोकेर हिंडिएको थियो त्यतिबेला एक खालको खुशी र कौतुहलता थियो । प्रशंसकहरुले शिव दाई एउटा फोटो खिचौं न ! भन्दा वा स्टेजमा गीत गाउँदा ‘वान्स मोर वान्स मोर’ भन्ने शब्द गुन्जिरहँदा धेरै खुशी लाग्थ्यो । तर यतिबेला त्यो खुशी पूरा भएको अवस्थालाई चीरकालसम्म बचाएर लैजान निकै चुनौति थपिएको महशुस भएको छ । ‘सपना देख्ने मान्छेमा उत्साह नै उत्साह हुन्छ, गाह्रो भए पनि गाह्रो महशुस हुँदैन । पहिले सपना देख्दा बेलाको अवस्था त्यस्तो थियो । तर अब संगीतमा प्रशंसकहरुले दिनुभएको माया, सद्भाव, सम्मान र खुशीको उचाइलाई सन्तुलन गर्न, बचाउन निकै कठिन रहेको गायक परियार बताउँछन् ।

बाल्यअवस्थाको क्षण
स्कुले जीवनमा म मध्यमधारको विद्यार्थी थिएँ । बालापनका साथीहरुसँगको रमाइला र उट्पट्याङ पलहरु मनमा सोचिरहन्छु । साथीहरुसँग आत्मीय सम्बन्ध नै थियो । म परिवारको पुलपुलिएको एक्लो छोरो, चकचके, उटपट्याङ स्वभावको थिएँ । अर्काको बगैंचामा फलेको आँप चोरेर खाने, बारीको उखु चोरेर खाने, अरुको इनारमा हामफालेर नुहाउने, हिलो खेतमा उल्टो सुल्टो जिम्न्यास्टिङ गर्ने, गुलेली खेल्ने, बुढी बागमतीको भेलमा पनि हाम्फालिहाल्ने स्वाभाव मभित्र थियो, बालापनको अनुभव उनी यसरी सुनाउँछन् । ‘म मात्र होइन प्राय बाल्यअवस्थामा यस्तो स्वभावका अनुभव र कथाहरु धेरै पढ्न सुन्न पाइन्छ । माछा खानको अभाव नभए पनि बल्छीमा उनिएको माछाको फट्काई हेर्नकै लागि उनी टन्टलापुर घाममा घर नजिकैको बुढी बागमती खोलामा घन्टौं लागाएर बल्छी थापेर बस्ने गर्थे । धान, गहुँ बारीमा सिला खोजेर बेच्ने अनि घडी किन्ने गर्थे । तर घडी लगाउने रहरभन्दा पनि त्यो घडी कसरी बनेको छ भनेर घडी खोलेर हेर्दा धेरै पटक नयाँ घडी बिग्रेको उनको अनुभव छ ।

गायक बन्ने बालस्वप्न
उनीभित्र कलाकार बन्नुपर्छ भन्ने सपना थिएन । तर अचानक २०५१ सालमा उनले पढिरहेको श्री सरस्वति मा.वि. हजरिया, सर्लाहीको प्रतिनिधित्व गर्दै जिल्लास्तरीय बालगीत प्रतियोगितामा बालगीत गायन प्रस्तुत गर्ने मौका पाए । किनभने स्कुलभित्र उनी सबै विद्यार्थीहरुभन्दा स्वरमा गायनमा अब्बल बालगायक ठहरिएका थिए । प्रतियोगिता सर्लाहीको सदरमुकाम मलङ्वामा रहेको कृष्णामति बोर्डिङ स्कुलको प्राङ्गणमा भएको थियो । सर्लाही जिल्लाका लगभग ७० वटा जति स्कुलको सहभागिता रहेको त्यस प्रतियोगितामा उनी स्टेज चढेकै दिन प्रथम भएर नाम लेखाएका थिए । जतिबेला उनी ७ कक्षामा पढ्दै थिए । यो एउटा अनौठो संयोग थियो । एकदिन अचानक आफू पढेको कक्षामा सांस्कृतिक फाँटका शिक्षकले जिल्लास्तरीय बालगीत प्रतियोगिताको विषयमा इच्छुक विद्यार्थीहरुले भाग लिनेबारे सूचना सुनाइरहेको अवस्थामा उनकै छिमेकी साथीले अनयासै ‘सर शिवले गाउँछ रे !’ भनेर उट्पट्याङ गरेका थिए । तर त्यस उट्पट्याङमा उनले गम्भीर रुपमै आफ्नो स्वरको परीक्षा दिनुप¥यो । उनलाई गाउनका लागि कक्षामा अगाडि बोलाइयो, उनी डराई डराई सरको छेउमा गए, त्यतिबेलासम्म उनलाई आफू गाउँछु, अथवा के गाउने भन्नेबारे सामान्य हेक्कासम्म पनि थिएन । किनभने उनकै साथीले उनलाई सरको पिटाइ खुवाउन उट्पट्याङ गरेका थिए । तर त्यो नै उनको सांगीतिक जीवनको एउटा कडी साबित भयो । उनी कक्षाभित्र गायनमा अब्बल ठहरिए । त्यहाँभन्दा अगाडि कुनै गीत गाएको, गुनगुनाएको अथवा गाउन सक्ने रहर र क्षमता थियो भनेर उनलाई थाहा थिएन ।
त्यसपछि २०५३ सालमा पनि आफ्नो स्कुलको प्रतिनिधित्व गर्दै जिल्लास्तरीय बालगीत प्रतियोगितामा दोस्रोपटक प्रथम भए । यसरी क्रमशः श्री सरस्वती मा.वि. हजरियाले दोस्रोपटक पनि प्रथम भएपश्चात् सिधै राष्ट्रियस्तरको बालगीत प्रतियोगितामा भाग लिने अवसर पाएको थियो । यतिबेला शिव कक्षा ९ मा पढ्दै थिए । उनीसँग संगीतको कुनै औपचारिक ज्ञान थिएन । गीत सुनेकै भरमा हुबहु उतार्ने उनको प्रयास हुन्थ्यो । सात कक्षादेखि गीत गाउँदै प्रथम हुँदै आएको हुँदै आएको सामान्य परिवारको गाउँले केटो एउटा सम्मानित व्यक्तित्व बन्न थाल्यो । स्थानीयदेखि जिल्लासम्म उनको स्वरको चर्चा, प्रशंसा हुन थाल्यो । कयौं रङ्गमञ्चका कार्यक्रममा बालआवाजमै आधुनिक गीत, लोकगीत, चलचित्र गीत, पप गीत प्रस्तुत गर्ने अवसरसमेत उनले पाए । त्यसरी गीतसंगीत प्रस्तुत गर्दा कयौंपटक नगद, कपीकलम उपहार पाएको उनको अनुभव छ ।
त्यसपछि एसएलसी पास भएपछि कलाकार बन्ने सपना बोकेर काठमाडौं छिरे । तर त्यो बेलाको जमानामा के विषय पढेर के हुन्छ भन्ने थाहा थिएन । काठमाडौं छिरेपछि गायकै नै बन्नुपर्छ भनेर उनी फाइन आर्ट कलेजमा भर्ना भए । गाउँमा छँदा बाबुआमाको कमाण्डमा रहेको छोरोमाथि एकल जिम्मेवारी आइलाग्यो । तर के गर्नु अब कलेज पढ्न आएपछि आफ्नै टाउकोमा आफ्नो जिम्मेवारी बोकेर हिंड्नुपर्दा अप्ठ्यारो महसुस हुन थाल्यो । अब आफैंले रोजेको बाटोमा काठमाडौं छिरेपछि चुनौति पनि थियो । म एकोहोरो स्वभावको पनि थिएँ । म एउटा विषय लिएपछि अरु विषयमा ध्यान नदिने व्यक्ति हुँ । जेमा हात हाल्यो त्यो पूरा गरेर मात्र अघि बढिन्छ भन्ने विश्वास उनीमा थियो ।
अध्ययनको क्रममा नेपालको गोर्खा जिल्लाबाट भारतको दिल्लीसम्म पुगी ‘ग्वालियर घराना’ अन्तर्गत शास्त्रीय संगीत गायनमा संगीत प्रविणसम्मको पढाई सकेर काठमाडौं आउनुभएका गुरु चन्दनकुमार श्रेष्ठसँग उनको भेट भयो । गुरु चन्दनकुमार श्रेष्ठबाटै उनले संगीतको पहिलो स्वर औपचारिक रुपमा ‘सा’ गाउन सुरु गरे । उहाँसँग संगीतको संस्कारमा हुर्किएर यहाँसम्म आएको हुँ, उनले भने । उनी यतिबेला ८ वर्षसम्म गुरुसँग शास्त्रीय संगीत गायन पढेपछि पछि उहाँकै पहिलो चेला चण्डीप्रसाद काफ्लेलाई दोस्रो गुरु अपनाएर संगीतमा एम्यूजको अध्ययन गरिरहेका छन् । चन्दन गुरुसँगको सांगीतिक संस्कार र उर्जाले उनको नशानशामा संगीत प्रवेश भयो । कलेजतिरको पढाईमा भन्दा चन्दन गुरुसँगको शास्त्रीय संगीतको पढाईप्रति उनको मन बस्यो र त्यही बाटोमा उनी होमिए । यसैक्रममा गुरु रविनलाल श्रेष्ठबाट शास्त्रीय तबलावादनमा चार वर्षे शिक्षा पनि लिए । त्यसैको उपलब्धी हो आजको शिव परियार । उनी चन्दन गुरु, रविन गुरुप्रति आजीवन नतमस्तक छन् र चण्डी गुरुलाई पनि असाध्यै माया गर्दछन् ।

संगीतबाट उपलब्धी
संगीतको सारेगम सिक्दै गरेका विद्यार्थीलाई हेर्छु र म कुन स्थानमा छु र मेरो धरातल कहाँ हो भनेर हेर्छु । यति लामो सांगीतिक दूरीमा सबैभन्दा ठूलो उपलब्धी त ‘नाम’ नै पाएको छु । संसारमा जतिले जे गरिरहेका छन् नामका लागि गरेका छन् । नामका लागि गर्दा पैसा सँगसँगै जोडिएर आउँछ । हिजो कसैले नचिन्ने गाउँले केटोलाई अहिले राम्रो गायक हो शिव परियार भनेर चिनिँदा त्योभन्दा ठूलो के नै हुन्छ र ! म राम्रो स्वर भएको गायक भनेर जनताले दिनुभएको माया एकातिर राख्दा भौतिक उपलब्धीहरु पनि पाएको छ । रेडियो नेपालले आयोजना गरेको २०५९ सालको आधुनिक गीत प्रतियोगितामा सुरेश वाग्लेको गजलबाट गायनमा प्रथम भएर यात्रा सुरु गरेको थिएँ । तत्पश्चात आधुनिक संगीतमा नारायण गोपाल युवा संगीत पुरस्कार, नेपाल सरकारका तर्फबाट राष्ट्रिय युवा प्रतिभा सम्मान, सर्वोत्कृष्ट पुरुष गायन विधा अन्तर्गत इमेज म्यूजिक अवार्ड, हिट्स एफएम म्यूजिक अवार्ड, रेडियो कान्तिपुर म्यूजिक अवार्ड, म्यूजिक खबर म्यूजिक अवार्ड, कालिका म्यूजिक अवार्ड, रेडियो अन्नपूर्ण म्यूजिक अवार्ड लगायतका म्यूजिक अवार्ड चुमिसकेका छन् । त्यसैगरी नेपाली चलचित्र पाश्र्व गायनतर्फ सर्वोत्कृष्ट चलचित्र गायन सीजी डिजिटल फिल्म अवार्ड, विन्ध्यवासिनी म्यूजिक अवार्ड, म्यूजिक खबर म्यूजिक अवार्ड, कालिका म्यूजिक अवार्ड चुमिसकेका छन् । त्यस्तै गजलतर्फ मोतिराम–सेतुराम गजल सम्मान लगायत दर्जनौं सम्मानबाट पनि सम्मानित भइसकेका छन् ।
म्यूजिक खबर पाक्षिकबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु