
काठमाडौं । वरिष्ठ गीतकार शुभ मुकारुङको दोस्रो गीतिसंग्रह पुस्तक ‘यतै अल्मलिएँ’ सार्वजनिक भएको छ । गीतकार संघ नेपालको आयोजनामा भएको ‘यतै अल्मलिएँ’ विमोचन कार्यक्रममा संघका अध्यक्ष बसन्त बित्यासी थापाको सभापतित्व रहेको छ । कार्यक्रमका विशिष्ठ अतिथि प्रतिष्ठित गीतकार एवं पूर्वमन्त्री एसपी कोइराला, गीतकार संघ नेपालका पूर्व अध्यक्ष चूडामणी देवकोटा, वरिष्ठ गीतकार अमर वान्तु, वरिष्ठ संस्कृतिविद भक्त राई, माननीय हेमराज राई, वरिष्ठ गीतकार श्रवण मुकारुङ, वरिष्ठ गायक, गीतकार संघ नेपालका पूर्व अध्यक्ष योगेन्द्रमणी दाहाल लगायतको हातबाट सार्वजनिक गरिएको थियो ।
वरिष्ठ गीतकार शुभ मुकारुङले आफ्नो छोरा रियोङ हाङ मुकारुङको जन्मदिन पारेर गीतिसंग्रह ‘यतै अल्मलिएँ’ सार्वजनिक गरेका हुन् । गीतकार मुकारुङले कार्यक्रममा मन्तव्य राख्दै तीन दशकभन्दा लामो समयदेखि साहित्यमा आफूले बटुलेको अनुभवलाई गीतहरुको संग्रह पुस्तकभित्र समावेश गरेको बताएका थिए ।
त्यस्तै प्राज्ञ तथा वरिष्ठ साहित्यकार राजन मुकारुङले ‘यतै अल्मलिएँ’ कृति माथि समीक्षा गर्दै समाजको चेत खोल्नका लागि दर्बिलो खम्बा बन्न सफल भएको बताए । शुभ मुकारुङलाई गीतहरुको पुस्तकले अल्मल्याएको छैन झन् उच्च बनाएको भन्दै पुस्तकहरुमाथि समीक्षात्मक टिप्पणी गरेका थिए ।
कार्यक्रममा गीतकार संघका पूर्व अध्यक्ष चूडामणि देवकोटाले शुभकामना मन्तव्य दिँदै वरिष्ठ गीतकार शुभ मुकारुङका शब्दमा नातिकाजीले समेत संगीत भरिसकेका व्यक्ति भएकोले उनका गीतहरुको संग्रह पनि अवर्णनीय भएको बताए । उनको गीति लेखनसँगै गीतकारहरुको छाता संगठनलाई यो उचाईमा ल्याउनमा पनि ठूलो योगदान रहेको बताए ।
त्यस्तै वरिष्ठ गीतकार अमर वान्तुले उमेरले जेठो र कान्छो भए पनि सिर्जनाका हिसाबले वरिष्ठ गीतकार शुभ मुकारुङ जेठो भएको बताउँदै उहाँको सिर्जना क्षमता अब्बल रहेको बताए । ‘म कुनै स्रष्टाबाट प्रभावित भएर लेख्दिनँ आफैं आफैंमा प्रभावित भएर लेख्छु’ शुभ मुकारुङको यही वाक्यबाट उहाँको सिर्जना क्षमता अब्बल रहेको मैले पाएको छु गीतकार अमर वान्तुले भने ।
त्यस्तै अर्का वक्ता संस्कृतिविद् भक्त राईले कुनै पनि काम गर्न जोखिम मोल्नु पर्ने बताउँदै गीतकार शुभ मुकारुङ साहित्यिक यात्रामा जिन्दगी नै जोखिममा राखेका गीतकार भएको बताए । ‘यतै अल्मलिएँ’ गीतहरुको पुस्तक साहित्य भण्डारमा मात्र नभएर उहाँको जिन्दगीको महत्वपूर्ण कमाइ भएको समेत राईले बताए ।
त्यसैगरी पूर्व मन्त्री एवं प्रतिष्ठित गीतकार एसपी कोइरालाले गीतहरुलाई समाजले मनोरञ्जनको साधन मात्र भनेर हेलाँ गरेको बताउँदै यो समाज बदल्ने शक्तिशाली माध्यम भएको हुँदा साध्य पनि हो भने । गीतकार शुभ मुकारुङको सिर्जना समाज रुपान्तरणको एउटा माध्यम भएको छ कोइरालाले भने– वरिष्ठ गीतकार शुभ मुकारुङको तीन दशकभन्दा लामो साहित्यिक यात्रामा ‘यतै अल्मलिएँ’ले समाजमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भोजपुरले जन्माएको साहित्यिक विरुवा भएको बताउँदै गीतकार शुभ मुकारुङ साहित्यमा जीवन समर्पण गरेको व्यक्ति भएका बताए ।
कार्यक्रम गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले कार्यक्रमलाई समापन गर्दै गीतकार शुभ मुकारुङ साहित्यको क्षेत्रमा उचाइ कायम गरेका गीतकार भएको बताउँदै उनका गीतहरुले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सफल हुने बताए । कार्यक्रम गीतकार संघ नेपालका उपाध्यक्ष रमेश कोइरालाले संचालन गरेका थिएँ ।