स्ट्याण्डअप कमेडी ‘नेपग्याज्म’ को नाम ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा दर्ता

म्यूजिक खबर
प्रकाशित: १६ जेष्ठ २०७८, आईतवार
standup-comedy Nepgysm

काठमाडौं । नेपग्याजमका लोकप्रिय स्ट्याण्ड-अप कमेडी कलाकार लेखमणी त्रिताल (रमेश अंकलको छोरो) तथा उमेश कुमार गौतम (यूकेजी)को नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ ।

सर्वाधिक उचाईंको स्ट्याण्ड-अप कमेडी शोको विश्व कीर्तिमान तोड्नका लागि गत बैशाख २० गते सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरी नेपग्याजमको प्राविधिक टोली कालापत्थरतर्फ प्रस्थान गरेको थियो ।

उक्त टोलीमा विश्व कीर्तिमान कार्यक्रमका कार्यक्रम संयोजक सन्तोष कुमार देवकोटा, निर्देशक ज्ञानेन्द्र मिश्र, निर्माता आशिष शाही, छायाँकार आशु बस्नेत, अल्टिच्यूड तथा ट्राभल एक्सपर्ट दीपक थापा, लोकपथ डटकमका सीईओ तथा पत्रकार रमेश जमकटेल र कलाकारद्वय लेखमणी त्रिताल तथा उमेश कुमार गौतम रहेका थिए ।

इटालीका हास्य कलाकार तथा रेडियोकर्मी पाउलोले फ्रान्सेस्चिनीले २०१९ को अप्रिल २५ का दिन विश्वको सर्वोच्च शिखर सगरमाथा आधार शिविरको ५ हजार २७० मिटरको उचाईँमा स्ट्याण्ड–अप कमेडी प्रस्तुत गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गरेका थिए ।

गिनिज बुक अफ वल्र्ड रेकर्डले आफ्नो आधिकारिक वेबसाइट मार्फत् इटालियन कलाकार पाउलोले राखेको विश्व कीर्तिमानको रेकर्ड तोड्दै नेपालका कलाकारद्वय लेखमणी त्रिताल तथा उमेशकुमार गौतमले नेपालको कालापत्थरमा ५ हजार ३०२ मिटरको उचाईंमा स्ट्याण्ड–अप गर्दै नयाँ कीर्तिमान कायम गरेको आधिकारिक सामग्री सार्वजनिक गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु