शब्द शिल्पीभित्र अक्षरले कुँदिएका अनमोल डायमण्ड ‘पञ्चामृत’

म्यूजिक खबर
प्रकाशित: १६ चैत्र २०७५, शनिबार

सुमन पण्डित/म्यूजिकखबर

गीतकार अर्जुनरत्न भिखारी पछिल्लो समय उदाएका गीतकार हुन् तर उनका सिर्जना नयाँ जस्ता कहिँ पनि देखिँदैनन् । समाजको यथार्थ धरातलमा बगेर आफ्ना मनका भावनाहरु कोर्न सफल गीतकार हुन् भिखारी । पोखरामा जन्मिएका भिखारीलाई त्यहाँको भूगोल, परिवेश र आँखा अगाडि देखिएका विभिन्न दृश्यहरुसँगै उनको मनमा जसरी गीतसंगीतको छाप बस्न सफल भयो त्यो भन्दा पनि बढी २८ वर्षे लामो बेल्जियम बसाईको उतारचढावले गीतकार बनाएको छ । प्रवासको भूमिमा व्यवसाय गरेर घरबासको गीत लेख्नु र नेपाली संगीत बजारलाई चलायमान बनाउने काममा लागि पुर्न त्यति सजिलो छैन । लगानीका हिसाबले पनि उत्तिकै जोखिम बन्दै गएको क्षेत्र गीतसंगीतमा रेमिट्यान्सका माध्यमले भिखारीका सिर्जनाहरुले गीत बन्ने अवसर पाइरहेका छन् । तर भिखारी पैसाले भने गीतकार भएका होइनन्, पैसाभन्दा धेरै माथि उनका सिर्जनाहरु सिर्जित छन् । उनले लेखेका गीतका लाइनहरु हेर्दा लाग्छ ‘यो सिर्जना कहाँ लुकेको थियो ?’ गीत र कविताका लाइनहरु स्कुल पढ्दा देखि लेख्दै आए पनि एसएलसी पाससँगै १६ वर्षे उमेरमै विदेशिएका मनहरुभित्रका पीडा, धोका, संवेदनाभित्र उनी शब्दको खेती गरिरहेका छन् ।

 


गीतकार अर्जुनरत्न भिखारीका शब्दलेखनमा समाज झल्कने गर्छ । गत वर्ष मात्र पहिलो एल्बम ‘जय मायाप्रेम’ लिएर आएका गीतकार भिखारीले बीचमा पनि केही संगीतकर्मीको सहकार्यमा एक दुईवटा गीतहरु गरे । तर यतिखेर भने संगीतकार सुनिल मास्केसँगको सहकार्यमा उनले ‘पञ्चामृत’ गीतिसंग्रह लिएर बजारमा आएका छन् । पञ्चामृतभित्र पाँचवटा गीतहरु समावेश गरिएका छन् तर फरक फरक पहिचान बोकेर गीतहरु संग्रहित भएका छन् ।
गीतकार अर्जुनरत्न भिखारी जन्मेको भूगोल, परिवेश र आँखा अगाडि देखिएका विभिन्न समाजका दृश्यहरुसँगै उनको मनमा पनि गीत र कविताका लाइनहरु स्कुल पढ्दा देखि नै आउने गथ्र्यो । त्यही दिनहरुले आज गीतकार बन्ने जग निर्माण गरेका हुन् । हुन त गीतकार भिखारीले तत्कालिन समय विदेशीका लागि बस्न सजिलो भएका कारण त्यतै काम गर्ने सोच बनाए र उनी भाडा माझ्नेदेखि कुकसम्मको काम गर्न सफल भए र अध्ययनलाई पनि जारी राखे । त्यसपछि ४–५ वर्षमा नेपाल आउने सोच बनाएको भएपछि नेपाल फर्केर सँगै स्कुल पढ्दा आँखामा बसेकी रत्न श्रेष्ठसँग विहेबारी गरेका हुन् । जुन बेला उनी २२ वर्षका थिए । भिखारी सुनार थिए तर रत्न श्रेष्ठ परिवारको जहाँ तत्कालिन समय अन्तरजातीय विवाह गरेर समाज परिवर्तनको यात्रामा होमिएका थिए । त्यही समयदेखि हालसम्म उनले भोगेका अनेकौं घटनाक्रमलाई उनले गीतका माध्यममा यतिखेर पीडा पोख्ने काम गरेका छन् भन्दा पनि फरक पर्दैन । किनकी गीतका शब्दहरु भनेका समाजभित्रकै विभिन्न यथार्थताभित्र उनिएको हुन्छ ।

धनले होइन मनले सबै चिज किन्न पाए हुन्थ्यो
को आफ्नो को पराई साँच्चै चिन्न पाए हुन्थ्यो

माथिका हरफले पनि गीतकार अर्जुनरत्न भिखारीको क्षमता प्रदर्शन भइसकेको छ । पछिल्लो समाज, उनको अघिपछि देखिएको समय नै उनको माथिको शब्दका मूल स्रोत हुन् । विदेशमा रहँदाको आरोह अवरोहले सिकाएको पाठसँगै स्वदेश फर्कदाको क्षणमा भोगिएको अनुभवभित्र पनि माथिका हरफहरु निकै मार्मिक भएर कोरिएको हुनुपर्छ । उनका शब्दशिल्पीभित्र अक्षरले कुँदिएका अनमोल डायमण्डहरु छन् । कुनै बेला उनले दुई लाइन लेखेर फोहोर बनाएका डायरीहरु फ्याँकीदिने गर्थिन् उनकी श्रीमती रत्ना । त्यो देखेर रत्नकी साथी दक्षिणाले नफ्याँकिदिनु भन्दै डायरी फिर्ता गराउन लगाएको दिन सम्झन्छन् । सायद रत्नालाई पनि थाहा थिएन उनले गीत लेखिरहेका छन् कि छैनन् भनेर । तर ती दिन लेखिएका अक्षरहरु सायद आज सफल गीतकार बन्ने यात्रा थियो । ‘फिका फिका’ गीत रेकर्ड भएपछि गीतकारको यात्रामा सुरुवात गरेका भिखारीले एल्बम बजारमा ल्याउन लागेको भने त्यति धेरै भएको छैन । तर पनि उनका गीतहरुका शब्दले उनलाई अब्बल गीतकारको दर्जामा नै राखिसकेको छ ।

०४० सालमा भारतमा स्कलरसीपमा पढ्न जाने मौका पाएका सुनिल मास्के आजका उत्कृष्ट श्रेणीका संगीतकार बन्न सफल भएका हुन् । ४५ सालतिर बल्ल संगीतकार मास्केले औपचारिक रुपमा संगीत क्षेत्रमा होमिएका थिए । बाँसुरी बजाउँदा बजाउँदै यो क्षेत्रमा छिरेको भए पनि तत्कालिन समयमा उनले आफ्नै स्वरमा ‘भाखा’ एल्बम बजारमा ल्याएका थिए । केही गीतमा उनले शब्द पनि लेखे, संगीत पनि भरे । गीत गाउने रहर पूरा गरे । २०५३ सालमा कुमार कान्छाको स्वरमा ‘मैले खोजेको साइँली तिमीलाई’ गीत बजारमा ल्याए । जुन गीतले राम्रै चर्चा पनि पायो । त्यसपछि राजुबाबु श्रेष्ठको पहिलो गीत आफ्नै संगीतमा रेकर्ड गर्न सफल भएका थिए मास्केले । ०५६ सालमा यम बरालको स्वरमा गीत रेकर्ड गराएका उनले लामो समयपछि ०६७ सालमा आएर मनिला सोताङ र स्वरुपराज आचार्यको स्वरमा ‘सुनिभा’ लिएर आएका थिए । त्यसपछि उनको निरन्तरता संगीतमै अघि बढ्यो । ०६९ मा सत्यराजको आवाजमा ‘शुभ’ लिएर आए । त्यसपछि मिलन अमात्यको स्वरमा, राजुबाबु श्रेष्ठको शब्द, सचिन सिंहको एरेन्जमा ‘मधुर मिलन’ ल्याए भने ०७२ सालमा श्रावणी सार्वजनिक गरे । ०७४ सालमा भने नूतन कृति र शब्द सलोनी बजारमा ल्याए । अहिले गीतकार अर्जुनरत्न भिखारीसँग सहकार्य गर्दै उनले ‘पञ्चामृत’ एल्बम लिएर आएका छन् । पञ्चामृतमा उनले शब्दसँगै संगीतको सामाञ्जस्यता पनि पस्केका छन् । मायाप्रेम, मिलन विछोड, समाजका हरेक पाटालाई शब्दसँगै संगीतको तालमेल मिलाएका मास्केका संगीतमा स्वरको पनि उत्तिकै तादम्यता मिलेको पाइन्छ ।
गीतकार अर्जुनरत्न भिखारी र संगीतकार सुनिल मास्केको गीतिसंग्रह ‘पञ्चामृत’ सार्वजनिक गरियो । वरिष्ठ गीतकार एवं चलचित्र निर्देशक यादव खरेल, वरिष्ठ संगीतकार शम्भूजित बास्कोटा, वरिष्ठ गायक दीप श्रेष्ठको प्रमुख आतिथ्यतामा ‘पञ्चामृत’लाई सार्वजनिक गरिएको हो । गीतसंगीतका त्रिवेणी वरिष्ठ तीन स्रष्टालाई गीतकार भिखारी र संगीतकार मास्केले सम्मान गर्दै उनीहरुको हातबाट नै गीतिसंग्रह ‘पञ्चामृत’ लाई सबैको सामु सुम्पेका थिए ।

Photo: Nabin Babu Gurung

कार्यक्रमको सुरुवातमा नै मनले होइन धनले र जवानीको ऐना हजुर दुई वटा गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो । भिडियो हेरेपछि बल्ल औपचारिक रुपमा कार्यक्रमलाई सुरुवात गरिएको थियो । भाइब्स क्रियशनको आयोजनामा भएको उक्त विमोचन कार्यक्रमलाई संचारकर्मी नरशे भट्टराई र संचारकर्मी एवं निर्देशक दिनेश डीसीले संचालन गरेका थिए ।
कार्यक्रममा बोल्दै वरिष्ठ संगीतकार शम्भूजित बास्कोटाले शब्द अनुसारको संगीत बनेको र शब्द र संगीतलाई नै मजबुत बनाउँदै गायकी पनि मिठो भएकोले पञ्चामृत सफल हुनेमा विश्वास लिएको बताए । त्यस्तै वरिष्ठ गायक दीप श्रेष्ठले पनि गीतकार र संगीतकारलाई शुभकामना दिँदै एल्बमका सबै गीतहरु मिठासयुक्त बन्नुमा गीत, संगीत र गायन पक्षले सशक्त भूमिका खेलेको बताएका थिए ।

त्यसैगरी वरिष्ठ गीतकार एवं चलचित्र निर्देशक यादव खरेलले नारायण गोपालसँगको पुराना दिन सम्झँदै आफूलाई शब्दले छोएपछि मात्र संगीत भर्ने वा गाउने गरेको हुँदा पहिला शब्दले नै छुनु पर्ने बताए । शब्दले छोएमा बल्ल संगीत भर्न र गाउन आनन्द आउने हुँदा गीत मिठासपूर्ण बन्ने बताए ।
गीतिसंग्रह पञ्चामृतभित्र धनले होइन मनले, जवानीको ऐना हजुर, परैदेखि, मन मनै त हो, तिम्रा झुटा जस्ता बोलका गीत रहेका छन् । जसमा सुरज थापा, मेलिना राई, सुरेश लामा, प्रमोद खरेल, स्वरुपराज आचार्यको स्वर रहेको छ । गीतहरुमा संगीत संयोजन रिकेश गुरुङ, सञ्जीव बराइली, प्रदीप श्रेष्ठको रहेको छ भने मिक्सिङ मास्टरिङ किशोर थापाको रहेको छ । एल्बमलाई भाइब्स क्रियशनले बजार व्यवस्थापन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु