किबोर्डमा रमाउँदै सुनिल सिंह नेपाली

म्यूजिक खबर
प्रकाशित: १७ आश्विन २०७८, आईतवार

– सुमन पण्डित
सुनिल सिंह नेपाली कुशल वाद्यवादकका रुपमा परिचित छन् । हुन त उनी संगीतकार, संगीत संयोजकको रुपमा पनि उत्तिकै चर्चित भए पनि विशेषत आफूलाई वाद्यवादकका रुपमा परिचित गराउन रुचाउँछन् । उनी रेडियो नेपालका कुशल किबोर्डवादक हुन् । नेपाल सरकारको माताहातमा रहेको सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गत रेडियो प्रसारण सेवामा उनी किबोर्डको विशेष कक्षाहरु लिने गर्छन् ।
काठमाडौंको डिल्लीबजारमा जन्मिएका सुनिल सिंह नेपाली वरिष्ठ संगीतकार मदन सिंह नेपालीका सुपुत्र हुन् । वाद्यवादक नेपालीले ग्यालेक्सी पब्लिक स्कुलबाट एसएलसी परीक्षा पास गरेका हुन् । त्यसपछि किष्ट कलेजमा साइन्स एण्ड टेक्नोलोजीमा प्लस टु गरेका नेपालीले आफ्नो जीवनलाई त्यसपछि निरन्तर सांगीतिक क्षेत्रमा क्रियाशील गराए । उनी गीत संगीतलाई विश्व बजारमा चिनाउनको लागि समेत ठोस भूमिका खेलेका नेपाली कुशल वाद्यवादक हुन् । बुबा मदनसिंहको पदचाप पछ्याउँदै नेपाली संगीतमा होमिएका उनले नेपालको माटो सुहाउँदो धूनहरु भर्दै आएका छन् । किबोर्ड र गीतारमार्फत् नेपालको मौलिक धूनलाई गीतमा फरक तरिकाले प्रस्तुत गर्दै आएका सुनिलसिंहको सांगीतिक यात्राले भने अहिले दुई दशकको यात्रा पार गरिसकेको छ ।

२०५७ सालदेखि नै गीतसंगीतको यात्रामा होमिएका उन शिखर बिट कन्टेस्टमा सेकेन्ड रनरअप हुन सफल भएका थिए । उनले २०५९ सालबाट रेडियो नेपालमा वाद्यवादकको रुपमा काम सुरु गरेका थिए । अंग्रेजी, हिन्दी, नेपाली भाषामा तयार पारिएका आधुनिक, पप र लोकगीतमा उनले किबोर्ड र गीतारमार्फत् आफ्नो कला कौशल देखाइसकेका छन् । काममा सधैं विश्वसनीयता, इमान्दारिता र समयनिष्ठता हुनुपर्छ भन्ने सुनिल सिंह नेपालीले पियानो किबोर्ड वादनको माध्यमबाट देश विदेशका यात्रा गरिसकेका छन् ।
वि.सं २०६७ सालमा रेडियो नेपालबाट विशिष्ट श्रेणीको वाद्यवादकको प्रमाणपत्र पाएका नेपालीले विसं २०७२ सालमा कतार एयरवेजअन्र्तगतको कतार एयरर्पोटमा रहेको रेष्टुरेन्टमा पियानो पर्फमरको रुपमासमेत लामो सयम काम गरेका छन् । रेडियो नेपालमा करिब १२ वर्षको वाद्यवादकको जिम्मेवारी सम्हालेका उनले मेरिडियन अन्तर्राष्ट्रिय स्कुलमा संगीत प्रशिक्षकका रुपमा समेत चार वर्षे अनुभव सम्हालेका छन् । त्यस्तै स्कुल अफ पर्फमिङ आर्टस काठमाडौंमा पियानो प्रशिक्षकका काम गरिसकेका उनले यूरो स्कुलमाभने किबोर्ड टिचरका रुपमा हालसम्म पनि कार्यरत रहँदै आएका छन् ।

वाद्यवादनको क्षेत्रमा हरेक बाजासँग आफूलाई प्रस्तुत गर्न सक्नु सहज कुरा होइन तर उनी हरेक बाजासँग आफूलाई समाहित गराउँदै आएका छन् । गीतार, किबोर्ड, पियानोसँग रम्नु र रमाउनु उनको दैनिकी हो । उनको वाद्यकलाको कदर गर्दै विभिन्न संस्थाहरुले सम्मानसमेत गरिसकेका छन् । भर्खरै मात्र उनलाई रिवन इन्टरटेनमेन्टको आयोजनामा भएको राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मानमार्फत सम्मान गरिएको छ । मुलुकका प्रथम उपराष्ट्रपति परमानन्द झाको हातबाट वाद्यवादकको सम्मान पाएका उनलाई एक दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान हात पारिसकेका छन् ।
सांगीतिक संघ नेपालका सदस्यसमेत रहेका उनले रेडियो नेपालबाट पटक पटक विशेष वाद्यवादकको रुपमा सम्मान पाएका छन् । वाद्यवादकका रुपमा अन्तविद्यालय राष्ट्रिय प्रतियोगितामा २०५५ मा नै उनले ऐश्वर्य सांस्कृतिक शील्ड तथा अवार्ड पाउन सफल भएका थिए । त्यस्तै अन्तरविद्यालय प्रतियोगितामा वाद्यवादककै रुपमा प्रथम स्थान हासिल गरेका उनले वाद्यवादककै रुपमा वरिष्ठ संगीतकार, गायक, गायिकाहरुसँग सहकार्य गरिसकेका छन् । हजारौं गीतमा आफना् वाद्यकला प्रस्तुत गरेका सुनिल सिंह नेपालीले चलचित्र लोग्ने मान्छे र अन्तरालमासमेत संगीत संयोजनको जिम्मेवारी सम्हालिसकेका छन् ।

रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हुने टीका भण्डारीद्वारा संचालित कार्यक्रम साज र आवाज मा जगत मर्दन थापा, शुभ बहादुर सुनाम, दीपक जंगम, दीपक खरेल, तारा थापा, मीरा राना, रविन शर्मा, मदनसिंहनेपाली, शम्भूजित बास्कोटा, सुशील विश्वकर्मा, रामकृष्ण ढकाल, सत्य–स्वरुप आचार्य, शिव परियार, नगेन्द्र श्रेष्ठ, दिनेश सुब्बा, नरेन्द्र प्यासी, देविका बन्दना आदि दर्जनौं कलाकारहरुको प्रस्तुतिमा उनले वाद्यवादनमा सक्रिय भूमिका खेलेको अनुभव छ । अग्रज कलाकारहरुको प्रत्यक्ष गायन प्रस्तुतिमा वाद्यवादनको जिम्मेवारी सम्हाल्दाका अनुभव बटुलेका सुनिल सिंह नेपालीले नेपालमा भएका ठूला ठूला प्रतियोगितहरुमा वाद्यकला प्रस्तुत गरिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु