सुपर कमेडी लिगको औपचारिक घोषणा, महानायक राजेश हमाल बने प्रेसिडेन्ट

म्यूजिक खबर
प्रकाशित: २५ श्रावण २०८३, सोमबार १६:००

नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर कमेडी लिग’को औपचारिक घोषणा गरिएको छ।
काठमाडौं । हास्य-व्यङ्ग्यमा आधारित यस रियालिटी शोमा महानायक राजेश हमालले लिग प्रेसिडेन्टको भूमिका निर्वाह गर्नेछन् भने चर्चित कलाकारहरू विल्सन बिक्रम राई, लुनिभा तुलाधर, रविन्द्र झा र सुरक्षा पन्त क्याप्टेन तथा मेन्टरका रूपमा रहेका छन् ।
कार्यक्रमका लागि पाँच शहरमा अडिसन गरिने भएको छ, २०८३ साउन २९ गते दमक स्थित कदम थिएटर, साउन ३१ गते नारायणगढ स्थित राइनो वाटर होटेल, भदौ २ गते नेपालगन्ज स्थित सिद्धार्थ होटल, भदौ ४ गते पोखरा स्थित पोखरा थिएटर र भदौ ६ गते काठमाडौँमा अडिसन सञ्चालन हुनेछ।
अडिसनबाट छनोट हुने ३२ जना प्रतिस्पर्धीलाई चार समूहमा विभाजन गरिने र ८ जनाको उक्त समूहको नेतृत्व ४ जना क्याप्टेनहरुले गर्नेछन्।
अडिसनमा सहभागी हुन नपाएका र नेपालबाहिर रहेका नेपाली भाषी इच्छुक प्रतिभाहरूले डिजिटल अडिसन [email protected] अथवा 9802372180 मार्फत आफ्नो भिडियो सामग्री पठाएर पनि सहभागी हुन सक्नेछन्।
सुपर कमेडी लिग मूलतः समूहमा आधारित ढाँचामा प्रतिस्पर्धा हुने कार्यक्रम भएकोले एउटा स्क्रिप्टमा कम्तीमा दुई जना तथा आवश्यकता अनुसार सो भन्दा बढी प्रतिस्पर्धीले संयुक्त रूपमा प्रस्तुति दिनेछन्।
पूर्वनिर्धारित विषय तथा थिममा आधारित प्रस्तुतिहरू मुख्यतः स्केच, स्किट तथा ड्रामेडी (ड्रामा + कमेडी) लगायतका शैलीमा प्रस्तुति तयार गरिनेछ ।
नेपाली टेलिभिजन कार्यक्रम निर्माण तथा निर्देशनमा दुई दशक भन्दा लामो समय अनुभव बटुलेका तथा नेपाल आइडल, सारेगम लिल च्याम्प्स, बुगि बुगि, मेरो भोइस युनिभर्स र मेरो डान्स युनिभर्स लगायत विभिन्न अन्तर्राष्ट्रिय फ्रेन्चाइज तथा रियालिटी शोको निर्देशन गरिसक्नुभएका एलिन श्रेष्ठले यस कार्यक्रमको निर्देशन गर्नुहुनेछ ।
साथै निर्देशक श्रेष्ठले ‘सुपर कमेडी लिग’लाई नेपाली टेलिभिजनको प्रिमियम कमेडी रियालिटी शोका रूपमा स्थापित गर्ने लक्ष्य रहेको जानकारी गराउनु भयो ।
कार्यक्रमको प्रसारण नेपालको राष्ट्रिय टेलिभिजनबाट हुनेछ भने, डिजिटल प्रसारण ओ एस आर मार्फत हुनेछ। साथै कार्यक्रमको पर्दा पछाडिका सामाग्री हरू सारङ्गी मिडियामार्फत प्रसारण गरिनेछ।
कार्यक्रमको नियमित प्रसारण भाद्र अन्तिम सातादेखि सुरु गरिने जानकारी निर्माण पक्षले दिएको छ।
विशुद्ध पारिवारिक मनोरञ्जनात्मक प्रकृतिको हुने कार्यक्रममार्फत नेपाली दर्शकलाई नयाँ शैलीको हास्य मनोरञ्जन प्रदान गर्ने विश्वास निर्देशक एलिन श्रेष्ठले लिनु भएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु