• एल्बम निकालेर पैसा कमाउँछु भन्ने त आशै छैन

    म्यूजिक खबर
    प्रकाशित: २७ मंसिर २०७०, बिहीबार

    नेपाली गीत÷संगीतको श्रोता छन् तर एल्बम बिक्री छैन । एल्बम बिक्री नभए पनि गायक÷गायिकाले श्रोताका लागि गीत गाइरहेका छन् । यस्तै गायिका सिमा शाहले आफ्ना श्रोता र आफ्नो प्रोफाइलका लागि एल्बम निकाल्न चाहन्छिन् । उनी भन्छिन्, ‘प्राफाइलका लागि पनि एल्बम निकाल्न लागेकी हुँ । तीन वर्षअघि ‘सिमा’ एल्बम ल्याएर संगीतमा औपचारिक यात्रा प्रारम्भ गरेकी सिमा अहिले ‘सिमा–२’ ल्याउने तयारीमा छिन् । यसपटक गायिका सिमासँग गरिएको सुरसंवाद प्रस्तुत छ ।

    गायन यात्रा कसरी अगाडी बढिरहेको छ ?
    राम्रै छ, ‘सिमा–२’ को काम अन्तिम चरणमा पुगेको छ । अब केही समयमै श्रोतामाझ ल्याउने छु ।

    बिक्री नै हुँदैन भने केका लागि एल्बम ल्याउने नि ?
    एल्बम त बिक्री छैन तर प्रोफाइलका लागि भए पनि एल्बम निकाल्न आवश्यक ठानें ।

    कति समयपछि एल्बम ल्याउँदै हुनुहुन्छ ?
    तीन वर्षपछि दोस्रो एल्बम ल्याउन लागेकी हुँ । मैले पहिलो एल्बम ०६७ मा ‘सिमा’ ल्याएकी थिएँ ।

    पहिलो एल्बमले तपाइँलाई के दियो ?
    नाम दियो अनि दोस्रो एल्बम ल्याउने प्रेरणा प्रदान ग¥यो । एल्बम निकालेर पैसा कमाउँछु भन्ने त आशै छैन ।

    seema shahसंगीतमा सधैं पैसा मात्र खर्च गरिरहन साध्य होला र ?
    हरेक क्षेत्रमा सुरुमा लगानी नै चाहिन्छ । वर्तमान अवस्थामा संगीतमा धेरै लगानी गर्नु पर्ने भएको छ । एक दिन त रिर्टन होला नि । कला क्षेत्रमा पहिलो नाम त्यसपछि मात्र पैसा कमाइन्छ ।

    तपाईंलाई चिनाउने गीत भन्नुपर्दा ?
    मलाई गायिका भनेर ‘कसरी बोलाउँ मायालु तिमीलाई’ गीतले चिनाएको हो । यो गीत मैले २०६० सालमै रेकर्ड गरेकी हुँ क तर बीचमा ‘ब्रेक’ गरेकी थिएँ ।

    तपाईं कस्तो प्रकारको गीत गाउन रुचाउँनुहुन्छ ?
    म प्राय सबै किसिमका गीत गाउनले प्रयास गरिरहेको छु । तर श्रोताले भने मेरो स्वर पप आधुनिकलाई सुहाउँछ भन्ने गरेका छन् । हामी कलाकारका लागि सबैथोक श्रोता नै भएकाले अब पपतिर बढी जोड दिउँ कि जस्तो सोच बनाएकी छु ।

    अब आउने एल्बम ‘सिमा’ भन्दा के फरक छ ?
    पहिलो एल्बम संगीत नै नसिकि ल्याएको हुँ तर अहिले सिकेर र जानेर ल्याउन लागेकी छु । त्यसैले मेरो स्वरमा निखारता अवश्य ल्याएको छु जस्तो मलाई लाग्छ । हिजोआज पनि संगीत प्रशिक्षण लिइरहेकी छु ।

    यहाँसम्म आइपुग्दा सांगीतिक क्षेत्र कस्तो लागिरहेको छ ?
    रमाइलै भइरहेको छ । संगीत भन्ने चिज एउटा महासागर हो । संगीतको महासागर गहिराइ नाप्न गाह्रो छ । संगीत सिकेर कहिल्यै सकिँदैन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु