• ‘रिस उठेपछि म चुपचाप बस्न सक्दिनँ’ : मञ्जु पौडेल

    म्यूजिक खबर
    प्रकाशित: २९ चैत्र २०७५, शुक्रबार

    गायिका मन्जु पौडेल चर्चित नाम हो । गायिका बन्नु भन्दा अघि उनी कार्यक्रम उद्घोषिका भएर धेरै स्टेज कार्यक्रमहरु संचालन गर्दै आएकी थिइन् । रेडियो प्रस्तोता, कार्यक्रम संचालिका हुँदै विस्तारै उनी गायिकाको परिचयमा बदलिएकी हुन् । पछिल्लो समय मञ्जु पौडेलेको नाम नै एउटा स्थापित गायिकाको परिचयमा बदलिएको हो । उनी देशदेखि विदेशसम्मका विभिन्न स्टेज कार्यक्रमहरुमा प्रस्तुति दिँदै आएकी छन् । लोकदोहोरी क्षेत्रमा उनका गीतसंगीत चर्चाको शिखरमा रहँदै आएका छन् । प्रस्तुत छ, म्यूजिक खबरका लागि किस्ना आचार्य ‘रोशनी’ले गायिका पौडेलसँग गरेको १० रोचक कुराकानी :

    १. तपाईंको ब्यागमा कहिल्यै नछुट्ने ५ सामान ?
    मैले ब्यागमा कहिल्यै नछुटाउने पाँच सामान सानो ऐना अनिवार्य बोक्छु, लाइसेन्स, पर्स र पैसा, ट्याम्पन, फ्यामिली फोटो ।

    २.अहिलेसम्म नखुलेका तपाईंका २ गोप्य कुरा ?
    – एउटा पब्लिक फिगर भैसकेपछि त सबै कुरा प्रायः भनिहालिन्छ त्यस्तो गोप्य कुरा त छैन खोइ के भन्नू त ? पहिला त म गायिका र उद्घोषक मात्रै नभएर एउटा राम्रो गृहिणी पनि हुँ मलाई घरको सबै काम गर्न आउँछ । दोस्रो अहिलेसम्म नेलपोलिस आफैं लगाएकी छैन ।

    ३. अहिलेसम्म पाएको सबैभन्दा महङ्गो उपहार ?
    – उपहार त जेसुकै होस् आफैंमा अमूल्य हुन्छ जसको मूल्य नै हुँदैन । साच्चिकै मूल्यकै हिसाबमा पनि महंगो अहिलेसम्म पाएको मसँग हिराको चेन छ । कार्यक्रमको सिलसिलामा बाहिर गएको बेला मलाई एकजना फ्यानले दिनुभएको थियोे । जुन कुरा मैले कल्पनासम्म गरेकी थिइनँ । लिन पनि साह्रै अप्ठेरो लागेको थियो ।

    ४.तपाई जस्तै सधैं फिट र ब्यूटिफूल रहन के गर्नु पर्छ ५ वटा टिप्स् दिनु न ?
    – फिट र ब्यूटिफूल हुनकै लागि भनेर त्यतिसाह्रै मेहनत त गर्दिनँ म ।
    १. सकारात्मक सोच्छु
    २. खानपिनमा ध्यान दिन्छु (पानी, सागपात र सकेसम्म घरमै आफैंले बनाएर खान मनपर्छ )
    ३. आफुसँग जे छ त्यसमै सन्तुष्ट हुन्छु ।
    ४. नियमित एक्सरसाइज गर्छु ।
    ५. मेडिटेसन गर्छु ।

    ५. तपाईंलाई भेट्दा मानिसहरू के भनेर प्रशंसा गर्छन् ?
    – कार्यक्रममा गीत गाइसकेपछि होस्ट गरिसकेपछि हजुर त कार्यक्रमको फुल प्याकेज हुनुहुँदो रहेछ भन्नुहुन्छ । सामान्य भेटघाटपछि सोचेको भन्दा धेरै फरक पायौं । कस्तो फ्रेन्ड्ली, फ्याम्लिएर, सिम्पल मायालु भन्नुहुन्छ ।

    ६.आफ्नो एकदमै नजीकको साथीको ५ वटा नराम्रो कुरा काट्नुहोस (साथीको नाम सहित) ?
    – साथीको नाम पशुपति शर्मा
    अब कुरा के भनेर काट्ने त ?
    १ . मनमा लागेको कुरा प्रष्ट भन्न सक्दैन, आफै भित्रभित्र पिरलिन्छ बरु ।
    २. जो कसैलाई छिटो बिश्वास गर्छ र पछि पछुताउँछ ।
    ३. खानेकुरामा ख्याल गर्दैन ,उसलाई कतिखेर भोक लाग्छ उसैलाई थाहा हुन्न ।
    ४. यतिधेरै मिल्ने साथी भएर पनि कार्यक्रमहरुमा रेकोमेन्ड गर्दैन ।
    ५. नाक चुच्चे छ,मान्छे पनि काले छ तर कृयसन एकदमै उत्कृष्ट छ ।

    ७. आफुलाई नै मनपर्ने तपाईंका ४ बानी ?
    – आफूलाई आफ्नो कुराहरु प्रायः सबै राम्रै लाग्छ्न् । यी कुरा ममा एकदम राम्रो छ म आफैंले भन्नुभन्दा पनि मेरा नजिकका सहकर्मीलाई सोध्नुभएको भए सजिलो हुन्थ्यो कि ।
    १. म सहयोगी छु, कसैको दुःख देख्न सक्दिनँ ।
    २. सरल र सहज छु ।
    ३. जस्तोसुकै समस्याको सामना गर्न सक्छु ।
    ४. म राम्री पनि छु ।

    ८. आफुले होस्ट गर्दैगर्दा गरेको एउटा ठूलो मिस्टेक जुन सम्झिँदा अहिले पनि अप्ठ्यारो लाग्छ ?
    – म भर्खर भर्खर संचार क्षेत्रमा लागेको बेला थियो त्यतिबेला म रेडियोमा प्रोग्राम चलाउँथें त्यसै बेला आदरणीय दाजुहरु सत्य स्वरुपराज आचार्यसँग अन्तर्वार्ता लिने क्रममा मलाई थाहा नभएर अग्रज भजन शिरोमणि भक्तराज आचार्य ज्युलाई स्वर्गीय भनेर सम्बोधन गरें जुन अहिलेसम्मकै मेरो मिडिया फिल्डमा लागेर गरेको ठूलो गल्ती लाग्छ र सम्झिँदा पनि साह्रै अप्ठ्यारो लाग्छ । उहाँको सु–स्वास्थ्य लाभको र अझै धेरै दीर्घायुको पनि कामना गर्दछु ।

    ९. एकदमै धेरै रिस उठ्दा के गर्नुहुन्छ ?
    – मलाई अलिकति छिटो रिस उठ्छ रिस उठेपछि म चुपचाप बस्न सक्दिन तत्काल प्रतिकार गर्छु । अनि धेरै रिस उठ्दा रुन्छु ।

    १०. गायन र उद्घोषणमध्ये एउटा छोड्नु परेमा ?
    – मेरो लागि गायन र उद्घोषण दुबै उत्तिकै महत्वपूर्ण छन् म कुनै पनि छोड्न चाहन्न तर एउटा छोड्नै पर्ने त्यस्तै बाध्यता आएमा म गायनलाई नै छोड्छु किनकि गायन बिधा मेरो जीवनमा पछि थपिएकोे हो उद्घोषण आजको मन्जु पौडेल बन्नुको जग हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु