अमेरिका अवसरहरूको देश जहाँ जस्तोसुकै काम होस् आफ्नो परिश्रमको मूल्य पाइन्छ: गायक भगवान भण्डारी

म्यूजिक खबर
प्रकाशित: २४ पुष २०७५, मंगलवार

गायक भगवान भण्डारीसँग १० कुरा


नेपाली सांगीतिक क्षेत्रमा स्थापित नाम हो भगवान भण्डारी । स्याङ्गजा जिल्लाको चापाकोटमा जन्मेका चर्चित लोक गायक भगवान भण्डारीका दर्जनौंको संख्यामा सुपर हिट गीतहरु छन् । बिग््रयो चाल पनि, खैरेनीमा गेट, फूलमा भमरा, दिलको ढोका बन्द, आमा तिम्रो दश धारा दूधको भारा तिर्न सकिन, डाली लार्कायो लगायत धेरै चर्चित गीतहरुले नेपाली लोकसंगीतको क्षेत्रमा राम्रो चर्चा एवम् लोकप्रियता बटुल्न सफल छ्न् । सिर्जनात्मक तथा आवाजको माध्यमबाट नेपाली लोकसांगीतको क्षेत्रमा निकै स्रहानिय योगदान पु¥याउँदै चर्चाले चरम उचाई पाएका बेला भण्डारी बेल्जियममा सेटल भएका थिए । बेल्जियममा रहँदा केहि गुमनाम जस्तो रहेपनि त्यसलगत्तै उनी परिवार सहित अमेरिका पुगे, अमेरिका पुगेपछि भने उनीभित्र सुसुप्त रुपमा रहेको कलाकारिता फेरी जुर्मुराउना थाल्यो र त्यसपछि पुनः कलाकारिता क्षेत्रमा सक्रिय रहँदै आएका छन् । लोक गायक बद्रि पंगेनीको गायनको टर्निङ प्वाईन्ट मानिने गीत ‘ससुरालीमा’ भन्ने गीत पनि भगवान भण्डारीकै रचना थियो । बद्रि पंगेनीलाई उनले भाइजस्तै मान्छन्, त्यसैले उक्त गीत दिएर ठूलो गुण लगाएको गायक पंगेनी स्वयम् स्वीकार्छन् । लोक गायिका लक्ष्मी न्यौपानेको स्वरमा पनि भण्डारीका धेरै लोकगीतहरु रेकर्ड भएका छन् । जसले नेपाली सांगीतिक क्षेत्रमा राम्रो चर्चा कमाएका छ्न् । उनै वरिष्ठ गायक तथा सर्जक भगवान भण्डारीसँग म्युजिक खवर पाक्षिकका लागि किस्ना आचार्य रोशनीले गरेका १० रोचक प्रश्नउत्तरः

१.भगवान भण्डारीका गीतहरू दर्शक श्रोताले सुन्न हेर्न पाउदैनन् अब ?
–किन नपाउनु, मेरा शब्द र संगीतमा त आईरहेकै छन् । केहि आउँदै पनि छन् । मेरो आफ्नै स्वरमा पनि केहि ग्यापमा आईरहेकै छन् । भबिष्यमा पनि निरन्तरता रहिरहने नै छ तर पनि स्वदेशमै रहेर जस्तो निरन्तर पहिले जत्तिकै सक्रिय रहन गाह्रो छ । परदेशमा बसेर भौगोलिक रूपमा जति टाढा रहे पनि गीतसंगीतबाट टाढा छैन र हँुदिन पनि ।

२.नेपालको सबैभन्दा बढी के कुरा मिस गर्नुहुन्छ ?
– सबै कुराहरू मिस हुन्छ आफ्नो गाउँघर आफन्त साथीभाइसँगको रमाइलो नेपाली खाना, हावापानी । तर पनि सबैभन्दा बढी नेपाल हुँदाका स्टेज कार्यक्रमहरु मिस गर्छु ।

३.यतिको अब्बल गायक सर्जकलाई नेपाली गीतसंगीत क्षेत्रले किन धान्न सकेन ?
– धान्नै नसकेको त होईन अहिले पनि त गीतसंगीतमा लागेका गायक गायिका सर्जक संगीतकार नेपालमै राम्रो र सन्तुष्ट जीवन बिताइरहेको हामीले देखिरहेकै छौं । मेरो हकमा परिवार बालबच्चा भइसकेपछि सधैँ एकल निर्णय लागू नहँुदोरैछ ।

४. नेपालमा राम्रै सफलता हुँदाहुँदै पनि अमेरिका सबैको सपना हुन्छ त्यहाँ के छ त्यस्तो ?
– नेपालमा त्यस्तो के छैन होला र जो परदेशमा छ । तर पनि नेपालको अवस्था अन्योल छ राजनितीक अस्थिरता, श्रमको कम सम्मान हुन्छ । अमेरिका अवसरहरूको देश जहाँ जस्तोसुकै काम होस् आफ्नो परिश्रमको उचित मूल्यांकन र मूल्य पाइन्छ सायद त्यसैले हो कि ?

५. नेपाली सांगीतिक क्षेत्रका तपाईंले अत्यन्तै मिस गर्ने ५ जना कलाकार ?
– सबै साथीभाई सहकर्मीहरुलाई उत्तिकै सम्झिन्छु ५ मात्रै अप्सन रहेछ । बद्री पँगेनी, राजु परियार, रमेश बिजी, नारायण रायमाझी, पुरूषोत्तम न्यौपाने अरु न रिसाउदिनु ल ‘मिस यू अल’ ।

६. अवार्ड सम्मानले सांगीतिक जीवनमा के महत्व राख्दछ ?
– असल राम्रा सिर्जना र प्रतिभाको निष्पक्ष कदर गरेर दिइने अवार्ड पुरस्कार सम्मानले हरेक कलाकारलाई प्रोत्साहन गर्छ । अझै राम्रो कसरी गरौं भन्ने जिम्मेवारी पनि बढाउँछ तर पछिल्लो समय नेपालमा हुने गरेका अवार्ड, सम्मानले खासै महत्व राख्दैन ।

७.नेपाल हुँदाको सांगीतिक यात्रामा घटेको कुनै अविस्मरणीय घटना ?
– त्यस्ता पलहरु धेरै छन् सांगीतिक यात्राका जुन अहिलेसम्म पनि मेरो मानसपटलमा ताजा छ्न् सम्झिँदा मन अझै रोमान्चित बन्छ बिर्सनै न सक्ने एउटा घटना नाम्चे बजारमा सांगीतिक कार्यक्रम थियोे । स्टेजमा चढेर गाउन थाले अत्यन्तै चिसो सास नपुगेर शब्द छोड्दै गाउँदै गरेको थिएँ यो कुरा धेरै सम्झिन्छु ।

८.तपाईंको अहिलेसम्म कसैले थाहा न पाएका २ गोप्य कुरा ?
– गोप्यलाई गोप्य नै राखौं खोलेपछि त कसरी गोप्य हुन्छ र ? भन्नैपर्ने अवस्था हो भने जीबनमा कहिल्यै चुरोट पिएको छैन, दिनमा ८ पटकसम्म खाना खान सक्छु हाहा… ।

९. अत्यन्तै मेहनत गरेर, चाहेर पनि पूरा हुन न सकेको एउटा सपना ?
– भलिबलको अन्तर्राष्ट्रिय खेलाडी बन्न चहन्थेँ मेहनत पनि गरेँ पछि गायक बनियो उता छोडियो यो सपना अधुरै रह्यो ।

१०. भगवान भण्डारीका ४ अत्यन्तै राम्रा पक्ष ?
– आफ्नो राम्रो कुरा आफै कसरी गर्नु खोइ ? यो त मेरा साथीहरूलाई सोध्नु भएको भए हुन्थ्यो । आफुलाई त जे गरेपनि राम्रो लाग्छ त्यहीँ अरुलाई न राम्रो लागेको पनि हुनसक्छ जे होस् । गीत चोर्दिन, स्टेज कार्यक्रम गरे बापत यति नै पारिश्रमिक चाहिन्छ भनेर कहिल्यै पनि भन्दिनँ, परिश्रम धेरै नै गर्छु, सबै सँग नरम बोल्छु ।

 


कलाकारको जिन्दगी कल्पना र भावनामा डुबेको हुन्छ

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु