• ‘मैले गाउन थालेपछि पैसाको वर्षा हुनथाल्यो’

    म्यूजिक खवर
    प्रकाशित: १६ मंसिर २०७३, बिहीबार

    रामकृष्ण ढकाल, गायक

    आवरणको खबर कस्तो छ ?
    एकदमै राम्रो छ । जताततैबाटै राम्रो रेस्पोन्स पाइरहेको छु । मिडिया र यूट्यूबको भ्यूअर्स हेर्दा धेरै राम्रो भएको पाएको छु । गीतहरु पनि फरक छन् । यसको शीर्ष गीत ‘म लडेको’ एकदमै राम्रो रेस्पोन्स बटुल्न सफल भएको छ । अन्य गीतहरु पनि चर्चा बटुल्ने क्रममा नै छन् भने म हुरीमा दियोले त इमेज अवार्डसमेत चुमिसकेको छ ।

    ramkrishna-dhakal_singer
    आवरणभित्रको कुन गीत बढी मन पर्छ ?
    म लडेको बोलको गीत नै बढी उचाइमा देखिन्छ । सबै गीत उत्तिकै छन् । तर पनि यस गीतमा लोदेखि शुरु भएर हाइसम्मको एउटा कम्पोजिसन बनेको छ जसलाई मैले साह्रै नै मेहनतका साथ गाएको छु । हरि लम्सालको कम्पोजमा मनिष बशिष्टको शब्दमा तयार भएको गीतले सन्देश दिन खोजेको छ । अहिलेको परिवेशमा हौसला दिने खालको, मोटिभेशन गर्ने गीतका रुपमा मैले लिएको छु । मेरा लागि एउटा च्यालेन्जिङ गीत हो, यो गीत चल्ने मात्र होइन बाँच्ने गीत पनि बनेको छ । अरु गीत पनि उत्तिकै सबल छन् । मैले एल्बममा भएको ११ गीतकै म्यूजिक भिडियो बनाउने तयारीमा छु । अहिलेसम्म पाँचवटा म्यूजिक भडियो तयार भइसकेका छन् । आवरणकै प्रमोशनमा लागिरहेको छु ।

    ‘अ’ लाई मात्रै रोज्नुमा विशेष केही छ की ?
    ‘अ’को निरन्तरतामा यो आठौं एल्बम हो । हुन त मैले बीचमा शैली, मेरो साथी, बाँचुन्जेली जस्ता एल्बम ल्याएँ । तर ‘अ’लाई ब्राण्डको रुपमा स्थापित गर्न खोजेको हुँ किनकी हाम्रो अक्षर पनि ‘अ’ बाटै सुरु हुने भएकोले पनि यसलाई निरन्रता दिँदै आएको हु । आवरण ‘अ’ कै कमब्याक हो । आवरणलाई बजार प्रबद्र्धन गर्ने कम्पनी विन्ध्यवासिनीका संचालक सुवास रेग्मी भाइले पनि ‘अ’ लाई नै निरन्तरता लागि सल्लाह दिनुभयो ।

    ramkrishna
    आधुनिकमा चर्चाको शिखरमै हुँदा पपतिर लाग्नुभयो जसले गर्दा तपाइँलाई नै घाटा भयो भनिन्छ नि ?
    म म्यूजिकमा लागेको करिब ३ दशक भइसक्यो । म्यूजिकमा लामो समय लागिरहँदा त्यहाँ आएको फरक शैलीलाई पनि हामीले ध्यान दिनुपर्छ । जेनेरेशनको ग्यापसँगै हामीले कस्तो खालको म्यूजिकलाई प्रतिनिधित्व गरिरहेका छौं भन्ने बुझ्नु जरुरी छ । भ्वाइस र अभिनय भनेको फरक फरक स्वादमा हुनुपर्छ । हुन त जसले जुन प्याटर्न गाइरहेको छ त्यही प्याटर्नबाट चिनिनु राम्रो हो । पप गाउँदैमा मेरो स्रोता घटेको भन्ने लाग्दैन । फरक शैलीलाई आत्मसात गर्दा नयाँ स्रोताहरु पनि बढेका हुन्छन् । मान्छेको जीवन परिवर्तनसँगै हामीले पनि फरक स्वादको गीत दिनुपर्छ । सधैं एउटै शैली दिएर मनोटोनस गराउनुभन्दा उसलाई नयाँपनको आभास गराउनु राम्रो हो ।

    पछिल्लो समय गीतसंगीतको बजार त खस्क्यो भनिन्छ नि ?
    बजार खस्केको भन्न मिल्दैन विश्वव्यापीकरण भएको छ । प्रविधिको विकाससँगै विश्वव्यापीकरण भएको पनि हेर्न सकिन्छ । हिजो रेडियो नेपाल र नेपाल टेलिभिजन मात्रै थियो तर आज मिडियाको पनि विकास भएको छ । सामाजिक सञ्जालका माध्यमले पनि गीतसंगीतको बजार विस्तार भएको छ । हिजो सिडी, क्यासेट सेल्स हुन्थ्यो । म जतिखेर आए त्यतिखेर लाखौं लाख एल्बम बिक्री हुन्थे । अहिले झन् सम्भावना बढेर गएको छ । प्रविधिको सदुपयोग भइरहेको छ । अहिले सुन्ने र किन्ने तरिका फरक भएको छ । अहिले गीत निकाल्ने भनेको मिडियाबाट सुन्नका लागि मात्रै भएको छ । तर मिडियामा बजिसकेपछि त्यहाँबाट लिने फाइदाको बारेमा हामी हाम्रो अधिकारलाई लिन हिचकिचाइरहेको अवस्थाले गर्दा आम्दानी नभएको हो । अहिले मोबाइलमै सबैले सुन्छन्, मिडियामा बज्छ, विभिन्न सार्वजनिक स्थलमा बज्छ त्यहाँबाट लिने रोयल्टीका बारेमा हामीले सरकारसँग सहकार्य गरेर लिन अझै सकेका छैनौं । खाडीमुलुकमा हाम्रा असली स्रोता छन्, उनीहरुले किनेर सुन्छन् तर त्यहाँसम्म लैजान सकेका छैनौं । नेपाललाई मिस गरेर बसेका नेपालीहरुमाझ हामीले पु¥याउन नसकेको अवस्था । सम्भावना बढेर गएको छ ।

    चलेका अनुहारलाई मात्रै यो अवस्था सहज छ तर प्रतिभा भएका धेरै छन् उनीहरुलाई त केही नहुने नै देखिन्छ नि ?
    त्यो त नेपालमा मात्र होइन संसारभरको अवस्था नै हो । हिजो दिन होस् या आजको दिन होस् त्यो भइरहेकै छ । तर भएन भनेर पछि हट्दै जाँदा फेरि केही पनि हुँदैन । चलेका अनुहार पनि त्यसै चलेका होइनन्, उनीहरुको निरन्तरता, मेहनत र लगानी यही क्षेत्रमा भइरहेको छ र नै चर्चा पाउन सफल भए भन्ने बुझ्नु पर्छ । हिजोको दिनमा हामीलाई पनि सजिलो थिएन, रेडियो नेपालमै छिर्न सकिँदैनथ्यो तर आज ती दिन सहज भएका छन् । त्यस्तै प्रेम परियारकै एउटा उदाहरण लिउँ न यूट्यूबमा गीत गाएर कसैले राखिदिएकै भरमा उसलाई खोजेर गायक बनाउन सफल भइएको छ नि । अहिले प्रतिभा भएकालाई धेरै प्लेटफर्म छन् ।

    प्रविधिसँगै संख्यात्मक रुपमा गीतसंगीत बढे तर गुणात्मकता भने देखिँदैन नि ?
    हिजोको अवस्थामा सिमित हुन्थे, अवसर पनि कम हुन्थ्यो । भ्वाइस टेस्ट नगरिकन गीत गाउन नै पाइँदैनथ्यो । अहिले संख्यात्मक रुपमा रेकर्डिङ स्टुडियो, संगीतकर्मी सबै बढे । त्यतिखेर क्षमतावानले मात्रै अवसर पाउँथ्यो । अहिले बिकृति पनि भन्न मिल्दैन । गीतसंगीत भनेको सबैले गाउन पाउने अधिकार छ, रहरका लागि मात्रै रेकर्ड गर्न सकिन्छ । तर पैसा र रिलेशनको प्रयोगले जस्ता पनि बजारमा देखिए । उनीहरुसँग कुनै साधनाबिना पैसाले चर्चा बटुल्ने गरेको पनि देखियो । अहिले जग बलियो नभइ चर्चामा आउन खोजिएको कारण नकारात्मक दिशातर्फ लागेको देखिन्छ । मिडियाले पैसासँग तुलना ग¥यो तर गुणात्मकतातर्फ हेर्दै हेरेनजस्तो लाग्छ । त्यसले गर्दा प्रतिभा र पैसासँगको प्रतिस्पर्धा देखियो । प्रतिभाको पहिचान देशले नै गर्न सक्नुपर्छ । आफ्नो देशमा सम्भावना नहुँदा धेरै प्रतिभा भएका कलाकार पलायन भएका छन् । धेरै कलाकार उपचारको अभावमा अकालमै मृत्युको मुखमा पुगेका छन् त्यसका लागि पनि सरकारी नीति नियम नै बन्न सक्नुपर्छ । राष्ट्रले नै संगीत क्षेत्रलाई वेवास्ता गरेको देखिन्छ ।

    कलाकारितामा लागेर नै बाँच्न सकिने स्थिति छ त ?
    म त यही संगीत क्षेत्रमा नै लागेर बाँचेको मान्छे हुँ । प्रतिभा भएका कलाकार निरन्तर रुपमा गीतसंगीतमा लाग्यो भने बाँच्न सक्छु । कलाकार क्रियटिभ हुनुपर्छ । तर नेपालको परिवेशमा कलाकारितामा लागेर मात्र पूर्ण रुपमा बाँच्न अलि गाह्रो देखिन्छ । नेपालमा रोयल्टी र कपिराइटको व्यवस्थापन दह्रो रुपमा भएको छैन, यसको पालना गरेर सबैले गीतसंगीत प्रयोगबापत रोयल्टी दिए भने पक्कै पनि बाँच्न सक्ने अवस्था हुन्छ ।

    तपाईंजस्तो प्रस्तोता समाजको संस्थापक अध्यक्ष भइसक्नुभएको व्यक्ति रोयल्टीका बारेमा किन अवाज उठाउनु पर्ने होइन र ?
    हो, म प्रस्तोता समाजको संस्थापक अध्यक्ष भएको नाताले मैले सदैव रोयल्टी र कपिराइटस्का बारेमा आवाज उठाउनुपर्छ । मेरो पनि अधिकार हो, गीतकार, संगीतकार र प्रस्तोता सबैले रोयल्टीका लागि लाग्नुपर्छ । मेरो दुईपटकको कार्यकालमा मैले सकेको प्रयास गरेको हुँ । त्यतिबेला कलाकारले आफ्नो सिर्जनाको प्रयोग भएवापत रोयल्टी पाइन्छ भन्ने बुझेकै थिएनन् । अझ गायकले पनि रोयल्टी पाउँछ भन्ने अवस्था त्यहीबेला भएको हो । त्यतिखेर मेरो टिम नै रोयल्टीका लागि सडक सडकमा दौडिएका थियौं र अहिले पनि हेमन्त शर्माको नेतृत्वमा भएको प्रस्तोता समाजको टिम रोयल्टी र कपिराइट्सका बारेमा दौडिरहनुभएको छ । कलाकारले रोयल्टीका बारेमा राम्रोसँग बुझेपछि यसको व्यवस्थापन हुन्छ ।

    ramkrishna-dhakal
    अहिले कलाकारहरु पलायन हुने अवस्था पनि बढेको देखिन्छ कसरी लिनुहुन्छ ?
    समाज भनेको बलेको आगो ताप्छ । अब चर्चामा छँदा वाही वाही गर्छ तर उसको संगीतबाट कुनै उपब्धि हुन सकेन र आफ्नो आधारभूत आवश्यकता पूर्ति नभएपछि विकल्प खोज्छ । यो समाजमा उसलाई चिन्ने धेरै हुन्छन्, उसको लाइफस्टाइललाई पछ्याउने धेरै हुन्छ त्यसैले उसले सामान्य काममा झर्न सक्दैन त्यसको परिणाम कसैले नदेख्ने नयाँ समाज रोज्दा पलायन भएको होकी भन्न सकिन्छ । म चाहिँ यो क्षेत्रमा नै स्तरीयता खोजिरहनेछु ।

    तपाईंलाई दोस्रो पुस्ताको नारायण गोपाल भन्छन, कस्तो लाग्छ ?
    यो त मेरो लागि ठूलो कुरा हो । मैले गायनयात्रा सुरु गर्दा नै उहाँको गीत गाएर आएँ । स्टेजहरुमा मैले आफ्नो रेकर्ड नहुँदा उहाँका गीत धेरै गाएँ । तर आफ्नो गीत नचल्दा कता कता पिरोल्दोरहेछ । ०४५ सालमा उहाँको र मेरो सँगै एल्बम आएको थियो । त्यतिबेला कहिले उहाँको बढी, कहिले मेरो बढी बिक्री हुन्थ्यो । प्रोग्राममा पनि नारायण गोपालको दुरुस्तै गाउने केटो आको छ अब त्यसलाई गाउन बोलाउँ भन्थे । ठूलो रुखको ओत लाग्दा एकझर पानी ओत्छ भनेजस्तै भयो । ०४७ सालमा उहाँको निधन भयो त्यसपछि उहाँलाई भनेर बनाइएका गीतहरु मलाई गाउन लगाइयो । अबसर पनि धेरै मिले ।

    तपाईंका अविश्मरणीय क्षण ?
    अविश्मरणीय क्षणहरु धेरै छन् । ०४४ सालमा नेपाल ल क्याम्पसमा भएको एक कार्यक्रममा धेरै सिनियर कलाकारहरु हुनुहुन्थ्यो । दर्शकहरुको ठूलो भीड थियो । म बढी हिन्दी गीत गाउँथे । त्यहाँ मैले गाउन थालेपछि पैसाको वर्षा हुनथाल्यो । पैसा दिन खोज्नेहरुलाई रोक्नुपर्ने स्थिति नै पैदा भयो र उद्घोषकले गायकलाई नै पछि भेटेर आफैं दिनुहोस् भनेपछि बल्लतल्ल भीड रोकिएको थियो । त्यतिखेर म ११ वर्षको थिएँ । जुन समय मैले बिर्सन नसक्ने बनेको छ ।

    प्रेरणाको स्रोत भन्नुपर्दा ?
    पहिला त कोही थिएन नै तर काठमाडौं छिरेपछि गोपाल कर्माचार्यसँग भेट भयो । उहाँले एकल साँझ, चलचित्रमा समेत अवसर दिनुभयो । उहाँलाई कहिल्यै बिर्सन सक्दिनँ । उहाँकै मार्गदर्शनले म यहाँसम्म आइपुगेको हुँ ।

    प्रस्तुति/तस्विरः सविता पोखरेल

    म्यूजिकखबर पाक्षिकबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु