• समाजले गीतलाई नकरात्मक भन्नै सक्दैन : गीतकार विश्व देवकोटा

    म्यूजिक खवर
    प्रकाशित: १० चैत्र २०७२, बुधबार

    गीतकार विश्व देवकोटा सुरुवाती पेशाले हेर्दा शिक्षक । शिक्षण पेशा छाडेपछि नेपाल सरकारकै स्रोत व्यक्तिका रुपमा विभिन्न जिल्लामा कार्यरत हुनुहुन्छ । गत वर्ष मात्र म्यूजिक खबर म्यूजिक अवार्डमा उत्कृष्ट एल्बमको अवार्ड प्राप्त गर्न सफल गीतकार देवकोटाले गीति लेखनको सुरुवातीदेखि नै पाएको सफलतालाई निरन्तरतामा बदल्दै हुनुहुन्छ । स्कुलदेखि नै शिक्षण पेशामा गीतका माध्यमले मनोरञ्जन प्रदान गर्दै आउँदा एकातिर विद्यार्थीलाई बुझाउन सजिलो हुने र अर्कातिर आफ्नो क्षमताको पनि सदुपयोग हुने गीतकार देवकोटा बताउनुहुन्छ । गीतलाई हेर्ने दृष्टिकोण समाजले यतिबेला नकारात्मक रुपमा लिनै सक्दैन देवकोटा भन्नुहुन्छ – ‘रुची र जीवनको भोगाइ फरक हुँदोरहेछ । छाक टार्ने बाध्यतामा वास्तविक रुचि पछाडि पर्छ ।’ पन्द्रुङ – ३ गोरखामा जन्मिएर करिब एक दर्जन पुस्तक र सिडी एल्बम बजारमा ल्याइसक्नुभएका गीतकार देवकोटासँग म्यूजिक खबर डटकमले गरेको कुराकानीः

    शिक्षण पेशामा व्यस्त हुँदाहुँदै गीत लेखनको प्रक्रिया कसरी अगाडि बढ्यो ?
    म गोर्खा जिल्लाको एक स्कुलमा हेडमास्टरको जागिरे थिएँ । प्रत्येक वर्ष वार्षिकोत्सव कार्यक्रमको आयोजना गरिन्थ्यो । म हेडमास्टर भएको उक्त स्कुलमा वार्षिकोत्सव हेर्न वरपरका गाउँहरुदेखि बाहिरबाट पनि हेर्न आउनेको भीड हुन्थ्यो । त्यतिबेला विद्यार्थीहरुको प्रतिभालाई कसरी राम्रो गराउने भन्नेमा मेरो ध्यान केन्द्रित हुन्थ्यो । म आफैं गीत लेख्ने र नचाउने गर्थें । युवा, बाल, बृद्धा सबै समूहका लागि गीत बनाएँ, त्यो गीत गाउँमा नै चल्यो । विद्यार्थीलाई मनोरञ्जन दिनकै लागि गीत लेख्दा लेख्दै म गीति लेखनतर्फ उन्मुख भएको हुँ ।

    Bishwo Devkota-9
    गीत लेखनको श्रेय कसलाई दिनुहुन्छ ?
    म एउटा शिक्षक हुँदै अहिले नेपाल सरकारको स्रोत व्यक्तिको रुपमा काम गरिरहेको छु । मुलुकका विभिन्न जिल्लामा प्रशिक्षकका रुपमा पुगेर मैले बालमैत्री तालिम संचालन गर्दै आएको छु । यो तालिमको अवसरमा जति रमाइलो गरेर तालिम प्रदान गरिन्छ त्यति नै सिक्ने अवसर पनि मिल्छ । तालिमको बेला रमाइलो गर्दै मान्छे हेरेर गीत लेख्ने र भन्ने बानी प¥यो । यसरी मानिसको अनुहार हेरेर गीत रचना गर्दै जाँदा गीतकार बन्न पुगेछु । मेरो शिक्षण पेशा र एउटा प्रशिक्षक बनेर विभिन्न जिल्लामा तालिम प्रदान गर्दा गीत लेखनलाई श्रेय मिलेको हो ।

    गीत के रैछ ?
    गीत एउटा जीवन हो । अनुभूति हो गीत । समाजबाट प्रतिविम्वित भएका परिणाम, नियति सबै गीत रहेछन् । यथार्थमा गीतको परिभाषा भन्ने हो भने चोटलाई समाएर सुन्दा चोट नै हुन्छ । समाज चित्रण गर्ने कला हो गीत । जीवनको भोगाइ हो गीत । समुदाय वा व्यक्तिको भोगाईलाई चित्रण गर्न हामीले गीतको प्रयोग गरिरहेका छौं ।

    शिक्षक र गीतको सम्बन्ध कस्तो रहेछ ?
    शिक्षकले पठनपाठन गराउँदा होस् वा प्रशिक्षक भएर प्रशिक्षण दिँदा होस् गीतले निराशपूर्ण वातावरणलाई निस्तेज गर्छ । गीतको प्रयोग गरेर रमाइलो गर्दा सिकाएको कुरा पनि सिक्दा रहेछन् विद्यार्थीहरुले । निराशपूर्ण वातावरण हटाउँदै विद्यार्थीहरुको ध्यान केन्द्रित गर्न गीतको प्रयोग गर्नुपर्ने देखिन्छ । तर गीत विषयवस्तुसँग मिल्दोजुल्दो भयो भने धेरै राम्रो हुन्छ । जस्तो अभिनय, नृत्य, खेल, गायन, सामग्री निर्माण, हस्तकला, चित्रकला सबैमा गीतको प्रयोग गर्दै शिक्षणलाई अगाडि बढाउन सकिन्छ ।

    पहिला त गीतमा लाग्ने मान्छेलाई नकारात्मक रुपमा हेरिन्थ्यो नि ?
    पहिला धार्मिक सुरुवातीको बेला पनि श्लोक सुन्थे, पुराण भन्थे, झ्याउरे चुट्का, बालन, भजन सबै गीतभित्र रमाएका हुन्थे । त्यतिबेला गीतकार बारेमा गलत बुझाई भएका केही जनसंख्याले नकारात्मक रुपमा हेरे होलान् । किनकी रामायण त पढे, भजन गाए, बालन खेले तर त्यसलाई गीत हो भन्न सकेनन् । अहिले त गीत सबैको साथी भइसकेको छ । कुनै पनि व्यक्ति वा समाजले गीतलाई नकरात्मक भन्नै सक्दैन ।

    एउटा गीत जीवन्त बन्न के के चाहिन्छ ?
    शब्द, संगीत, एरेन्जमेन्ट, स्वर यी प्राविधिक कुराको मिलन राम्रो भयो भने गीत जीवन्त बन्छ । गीत जीवनसँग मिल्यो भने पक्कै पनि जीवन्त बन्छ ।

    बाल साहित्यभित्रको मान्छे मायाप्रेममा डुब्दा कस्तो अनुभूति हुन्छ ?
    बालबालिका भनेका प्रशंसाका भोका हुन्छन् भने ठूला मान्छे सम्मानको भोका हुन्छन् । यसलाई आधार लिएर बाल साहित्यमा पाठ्यक्रम जोड्न सकियो भने गीत जीवन्त हुन्छ । ठूला मान्छेको गीत गजलमा सिंगो जीवन देखाउनु पर्छ । जिन्दगीका अनुभव समावेश गर्नुपर्छ । पाँच मिनेटभित्र एउटा जिन्दगी अटाउनु पर्ने हुन्छ ।

    गीत व्यवसायिक बन्दै छ कि आत्मसन्तुष्टिका लागि मात्र भएको छ ?
    म बालबालिका सान्दर्भिक धेरै प्रशिक्षणमा सहभागी हुँदै आएको छु । गीतभित्रै बाँचेको छ धेरै व्यवसाय । व्यवसाय वा कमाई बाँच्ने आधार हो तर गीत भने आत्मसन्तुष्टिकै लागि लेखिन्छ अनि स्वर संगीत भरिन्छ ।

    पहिलाजस्तो गीतहरु सदाबहार बनेनन् नि ?
    पहिला संचारमाध्यमका नाममा गीत बज्ने नेपाल टेलिभिजन र रेडियो नेपाल मात्र थ्यो । सबैका लागि टीभी सहज थिएन तर रेडियो भने मुलुकको कुना कुनामा सुन्ने गर्थे । रेडियो नेपालमा गीत बजेपछि सबैलाई एकैचोटी सुनाउन सकिन्थ्यो र सदाबहार पनि बन्न सफल हुन्थ्यो । छनौट गरेर बजाउँछु भन्नै पर्दैनथ्यो किनकी त्यतिबेला रेडियो नेपालकै स्टुडियोमा मात्र गीत रेकर्ड हुन्थ्यो । अहिले सयौ रेडियो छन्, टीभी च्यानलहरु सयभन्दा माथि संचालनमा छन् त्यसले गर्दा भेगीय रुपमा रेडियो टीभीले प्रचारप्रसार गर्ने गर्छन् । सबै उत्तिकै मूल्यवान बनेका छन् तर आआफ्नो रोजाईमा गीतसंगीत बजिरहेका छन् । त्यसले गर्दा सदाबहार बन्न नसकेको भन्ने आरोप लागेको हुनसक्छ ।

    Bishwo Devkota-13

    सभ्य समाजका लागि कस्ता गीत आवश्यक पर्छ ?
    गीतमा जीवन दर्शन चाहिन्छ । समाजको परिकल्पना पनि गीतभित्र नै समेटिनु पर्छ । पछिल्लो समय गीतहरु अल्पायूमै सकिने गरेका छन् । जेनेरेशन अनुसारको रुची हो तर पनि पाश्चात्य भन्दा आफ्नै कलासंस्कृतिभित्रको मौलिकता खोजियो भने समाजमा पाच्य हुन सक्छ ।

    विदेशको जस्तै नेपालमा पनि सरकारको ध्यान जान सकेको छैन, यसलाई कसरी लिनुहुन्छ ?
    अहिले नै हामीले त्यति ठूलो कल्पना गर्न सक्ने अवस्था छैन । राज्यले गर्नुपर्ने मुख्य काममा त सरकार हाँक्नेहरुको ध्यान जान सकेको छैन भने गीतसंगीतको कुरामा त सोच्नै सकिँदैन । हो, गीतसंगीत पनि राज्यको नभई नहुने कुरा हो । विश्वलाई चिनाउन सकिने एउटा कलासंस्कृति हो । तर यहाँ चुनाव जित्नका लागि मात्र गीतसंगीत प्रयोग गरिन्छ ।

    तपाईंको वास्तविक रुचि चाहिँ के थियो ?
    पहिला त म शिक्षण पेशामा आफूलाई समर्पित गरेँ । करिब ९ वर्ष शिक्षण सेवा गरेपछि मैले राजिनामा दिएँ र विभिन्न जिल्ला हुँदै हाल काठमाडौं जिल्ला शिक्षा अन्तर्गत स्रोत व्यक्तिको रुपमा अहिले कार्य गरिरहेको छु । वास्तविक रुपमा मेरो रुचिका विषय चित्रकार बन्ने थियो । सानैदेखि गीत, कथा, कविता लेख्थें तर चित्रकार बन्ने रहर मनमा थ्यो । म जतिसम्म बन्नुपर्ने हो त्यो भने अझै बनेको छैन । घुम्न मन पर्छ, म स्रोत व्यक्तिकै रुपमा मुलुकको ६० जिल्ला घुमिसकेको छु । रुची र जीवनको भोगाइ फरक हुँदोरहेछ । छाक टार्ने बाध्यतामा वास्तविक रुचि पछाडि पर्छ ।

    अहिलेसम्म जीवनमा के पाइयो र के गुमाइयो जस्तो लाग्छ ?
    जीवनमा धेरै अनुभव पाइयो जुन समयमा जे गर्नुपथ्र्यो त्यो भने गर्न पाइएको छैन । त्यो चाहिँ गमाएँ जस्तो लागेको छ । गीत सिक्ने उमेरमा सिकाउने कोही भएन, चित्र कोर्ने उमेरमा चित्र कोर्न सिक्ने अवसर पाइएन । परिवेश, स्रोत र साधनले उपयुक्त स्थान र सामग्रीको अभावमा परियो । २० वर्षअघि सिक्ने कुरा अहिले सिक्नुपर्दा पक्कै पनि गुमेको अनुभव भइरहेको छ ।

    प्रसंग बदलौं, शैक्षिक सामग्रीको निर्माण पनि गर्नुहुन्छ भविश्य कस्तो छ ?
    भविश्य त उज्यालो छ तर मैले भन्दा राज्यले गर्नुपर्ने काम हो जुन मैले गरिरहेको छु । राज्यले योप्रति ध्यान दिएको भए बालबालिका कति रमाउँथे होलान्, त्यो दुर्भाग्य हो । पछिल्लो समय त झन् पासपोर्ट बनाएर विदेश जानुको विकल्प छैन नेपालीलाई । अहिले लोडसेडिङको मारमा परेर शैक्षिक सामग्री उत्पादन गर्न सकिएको छैन । सामग्री निर्माण गरेर बजार पठाउँदा किन्न नसकिने हुन्छ नबनाउ संस्था घाटामा जान्छ । यसलाई मार्नेभन्दा विकल्प छैन । अहिले पनि १४ जना कामदारलाई रोजगार दिइरहेको छु तर उनीहरु पनि विदेश जानुपर्ने बाध्यतामा परेका छन् । संस्था बन्द गरुँ कि संचालन गरुँ ? उर्जा संकटको मारमा उर्जाशील युवा पलायन हुनुपर्ने बाध्यता आइपरेको छ ।

    अब के गर्ने ?
    अबको अवस्था भनेको कि दोस्रो व्यवसाय अँगाल्ने कि परिमार्जित गर्ने सोच छ । नत्र बाँच्न पनि सकिँदैन र बचाउन पनि सकिँदैन ।

    प्रस्तुतिः सुमन बैरागी

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु