गीत संगीतमा लागेर सत्रुलाई मित्रको रुपमा पाएँ

म्यूजिक खबर
प्रकाशित: १७ चैत्र २०७३, बिहीबार

मौसम गुरुङ, गायक

तपाईंको गायन यात्राको सुरुवात कसरी सुरु भयो ?
म सानैदेखि गीतसंगीत भनेपछि खान नै नचाहिने खालको थिएँ । सानोमा स्कुलमा अथवा गाउँघरतिर हुने कार्यक्रम खुब गीत गाउने गर्थें र सबैले भन्नु हुन्थ्यो यस्तो मिठो स्वर छ रेडियोमा गएर गीत गाउ न । मलाई पनि त्यस्तो हुन पाए त कस्तो हुन्थ्यो होला भन्ने लाग्थ्यो । मनमा ठुला ठुला सपना सजाउँथें अनि रेडियोमा बजेको गीतहरुको नक्कल गरेर गाउँथें । सबैको हौसला पाउँथें र त्यहि सपना मनमा बोकेर गाउँ छोडेर जहाँ गएपनि जुन अवस्थामा रहे पनि सपना चाहिँ त्यहि रेडियोमा गीत गाउने सपना थियो । दुई चार पैसा संगालेर एल्बम गर्ने सोच राखेँ र एल्बम पनि गरें । पहिलो पल्ट २०५९ सालतिर मुन्लाइट्स रेकर्ड्स मार्फत् ‘फेवा तालैमा म हरेस खाइ सकें माया जालैमा’ भन्ने गीत निकालें । मनमा अब रहर पूरा होलाजस्तो लागेको थियो तर सोचेजस्तो भएन पछि विदेशतिर लागियो ।

mousam gurung
त्यसो भए गीत नचलेपछि विदेश जानुभएको हो ?
त्यस्तो त होइन, गीत नचल्नुमा कम्पनीको कमजोरीको कारण थियो । मलाई कम्पनीले धोका दियो गीत टेलिभिजनमा बजाइदिन्छु भनेर पैसा दिएँ, भिडियो पनि गरेँ त्यसपछि कम्पनी मालिक अमेरिकातिर पलायन हुनु भयो । त्यसपछि मलाई आर्थिक कमजोरीले सतायो । एल्बम गर्न सकिएन । गाउन त गाएँ ४.५ ओटा त्यति सफल हुन सकेन । त्यतिबेला साइड ए र बी हुने गथ्र्यो । बी साइडमा गाउन बल्ल पाइन्थ्यो त्यहि पनि भिडियो हुँदैनथ्यो । अनि मलाई पनि आर्थिक अभावले खिच्दै गएपछि बिदेशिन बाध्य बनायो ।

विदेशबाट फर्किएपछि मात्र चर्चा पाउन सफल हुनुभयो नि ?
हजुर विदेशबाट फर्केपछि धेरै कुराहरु सिक्न भ्याइसकेको थिएँ । गीतसंगीतको बारेमा नि धेरै थोरै अनुभव भइसकेको थियो । अलि चलेको कलाकारहरुको पनि राम्रै साथ पाएको थिएँ । त्यसले गर्दा दर्शक स्रोताको मन जित्न सफल भएँ भन्नु पर्छ ।

maousam
विदेशमा रहँदा संगीतको अवस्था कस्तो पाउनुभयो ?
मलाई त यहाँ भन्दा पनि विदेशमा नेपालीहरुको गीत संगीत प्रतिको मोह बढी देखें । नेपालीमन र नेपालीपन विदेशमा धेरै देखिन्छ ।

गीतसंगीतको क्षेत्र समग्रमा कस्तो पाउनुभएको छ ?
म त खुसी नै छु । सबैले मेरा गीतसंगीत मनपराइदिनुभएको छ । जिन्दगी रमाइलो नै छ, सन्तुष्टि मिलेकै छ ।

गायक भनेर चिनिँदै गर्दा कस्तो महसुस हुन्छ ?
मैले त सोचेको पनि थिइनँ, दर्शक श्रोताले मेरो सिर्जनालाई मनपराइदिनुहोला भनेर । मेरो कला गलालाई यत्तिको स्थान दिनुहुन्छ भन्ने सोचेको पनि थिइनँ । आज एकदमै छु अनि सधैं यस्तै खुसी हुन पाउँ भनी भगवानसँग प्राथना गरिरहेको छु ।

सांगीतिक क्षेत्रमा लागेर के पाउनुभयो ?
गीत संगीतमा लागेर सबैभन्दा त सत्रुलाई मित्रको रुपमा पाएँ । हिजो छि छि भन्नेले आज आफै अँगालो हाल्न आउनु हुन्छ । अनि धेरै साथी पाएँ, दर्शक स्रोता पाए, सबैले मन पराइदिनुभयो जसले गर्दा ६ वटा राष्ट्रिय अवार्ड पनि पाउन सफल भएँ ।

यो क्षेत्रमा लागेर कुनै चिज गुमाएको जस्तो लाग्दैन ?
गुमको त खासै छैन तैपनि आफू त पर्यटन ब्यबसायी भएको हुनाले पर्यटकको भने जस्तो स्वागतमा खट्न सकिरहेको छैन । गीतसंगीतबाट धेरै पाएँ तर व्यवसायमा भने सोचेजस्तो गर्न नसकेको जस्तो लागेको छ ।

कस्ता खालका गीत मन पराउनुहुन्छ ?
मलाई मौलिक, वियोगान्त, दुःखको गीतहरु बढी मन पर्छ किनकि म आफू पनि दुःखमै हुर्केको हुनाले दुःखको गीत गाउन र सुन्न मन पर्छ ।

mausam grg
मनपर्ने गायक गायिका नाम लिनुपर्दा ?
मलाई मनपर्ने लोकगायक खड्ग गर्बुजा दाई र गायिका बिमा कुमारी दिदी हो । सानैदेखि उहाँहरुकै गीत गुनगुनाउने गर्थें त्यसैले उहाँहरु मेरो पाठशाला हुनुहुन्छ ।

मनपर्ने गीत कुन हो ?
मैले गाएको गीत मध्येमा ‘एउटा राम्रो बाटो देखाई देउ कि त भगवान मलाई नै मरिदेउ कि त उसको झल्को मेटाई देउ’ जुन गीतमा स्वरमा कालिका रोकाजी मलाई साथ दिनुभएको थियो भने शब्द गायिका कल्पना काफ्लेजीको रहेको थियो । यसमा मेरो आफ्नै लय रहेको छ ।

गायकका पछाडि त धेरै केटी फ्यानहरु पछि लाग्छन् रे नि ?
हजुर मेरो धेरै केटी साथीहरु हुनुहुन्छ । उहाँहरुले मलाई होइन मेरो कला र गलालाई माया गर्नु हुन्छ । त्यसो त केटा फ्यान पनि धेरै नै हुनुहुन्छ । मेरो कला गलालाई मन पराउने मेरा फ्यान हुन्, भगवान हुन् मैले उहाँहरुलाई पूजा गर्छु ।

तपाईं एउटा पर्यटन व्यवसायी, संगीत र पर्यटनको सम्बन्ध कस्तो हुँदोरहेछ ?
मलाई गीत संगीतले मेरो आफ्नै ब्यबसयमा धेरै टेवा पुगेको छ । म कति विदेशी पर्यटकहरुलाई आफ्नो सिर्जना सुनाउने पनि गर्छु, जसले नेपाली गीतसंगीतलाई चिनाउने मौका मिलेको छ जस्तो लाग्छ । मेरो कलाले बिदेशीहरुले पनि छिट्टै विश्वास गर्नु हुन्छ त्यसैमा खुसी छु । कलाकार हुनुमा गर्व लाग्छ र व्यवसाय र संगीत दुवै मेरो कर्म हो ।

गीत केका लागि गाउनुहुन्छ ? व्यवसायिकता वा रहर ?
दुबैलाई भन्नु पर्छ रहर पनि ब्यवसाय पनि । व्यवसाय भन्नाले छिट्टै पैसा कमाउने पाराको गीत संगीत चाहिँ गरेको छैन । तैपनि मैले यसलाई व्यवसायिकसँग जोड्न सक्ने बनाएको छु जस्तो लागेको छ । पहिला रहरमा लागियो पछि यसलाई नै कर्म बनाउँदै आएको छु ।

अबको योजना ?
अबको योजना भन्नु पर्दा जहाँसम्म दर्शक श्रोताको माया पाइरहन्छु त्यति बेलासम्म गीत संगीतलाई न्याय दिई राख्नेछु । मेरो क्षमताले भ्याएसम्म गीतसंगीतलाई छाड्ने छैन । नयाँ नयाँ सिर्जनाहरु ल्याउनका लागि निरन्तर क्रियाशील हुनेछु ।
प्रस्तुतिः सुमन

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु