सांगीतिक करिअरमा स्रोता नै मेरो लागि भगवान हुनुहुन्छः गायक, संगीतकार प्रकाश वाइवा

म्यूजिक खबर
प्रकाशित: २६ श्रावण २०८२, आईतवार १३:५७

नेपाली गीत संगीतमा एउटा प्रतिभाशाली व्यक्तित्वको रुपमा परिचित सुमधुर स्वरका धनी हुनुहुन्छ गायक संगीतकार प्रकाश वाइवा । सिन्धुली कमलामाई नगरपालिका घुरा फाँटमा जन्मिनुभएका सर्जक प्रकाश वाइवा नेपाली गीत संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने दौडमा छन् । उहाँ भन्नुहुन्छः नेपाली गीतसंगीतमा होमिनुको कारण आफ्नो कला ,संस्कृति भाषालाई विश्वमा चिनाउनेको लागि हो । एक दशक भन्दा लामो समयदेखि निरन्तर साधना र मेहनत गर्दै आज उहाँ एउटा कुशल गायक संगीतकार रूपमा परिचित हुनुहुन्छ । सांगीतिक क्षेत्रमा जति नै उताव चढाव आएतापनि हरेश खाँदिन भन्नुहुन्छ र आफू अझै कडा परिश्रम र धैर्यका साथ अगाडि बढ्नेछु प्रण गर्नुहुन्छ । सन् २०१६ देखि कतार दुबई बसेका र बाहिर भविष्य नदेखेर आफ्नै नेपालमा आएर आफ्नो गाउँ र आफ्नो ठाउँमा रहेर गीत संगीतको सेवामा आफूलाई समर्पित गर्नुभएको छ । तामाङ चलचित्र ‘छोडी नजानु’ मा पनि उहाँले आफ्नो अभिनय गर्नुभएको छ । १७ वटा भन्दा पनि बढी म्युजिक भिडियोमा आफ्नो अभिनय गर्नुभएको छ भने दुई दर्जनभन्दा गीतमा स्वर दिनुभएको छ । जसमा चर्चित गीतहरू हिमाली कान्छी, क्या राम्री मैच्याङ, ब्रान्डवाली, चौका पन्जा दाउ, गोप्य सेटिङमा, ब्रेल्साङ लाई म्हान्जी, घर मेरो सिन्धुली धुरा गाउँ, यो हाम्रो ल्होछार मेलामा, पर्लानी जारीमा आदि रहेको छ । आफ्नो गायन मार्फत कला, संस्कृति र भाषालाई जगेर्ना गर्दै उनी हाल विभिन्न स्टेज प्रोग्रामहरूमा आफ्नो जोडदार प्रस्तुतिहरू दिँदै आउनुभएको छ । गीत संगीतलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने उहाँको सपना छ । गायक तथा संगीतकार प्रकाश वाइवासँग म्यूजिक खबरका लागि गरिएको सांगीतिक कुराकानीः

तपाईंका लागि संगीत के हो ?
मेरो लागि संगीत जीवन हो । बरु रक्सी चुरोट छोड्न सकिन्छ होला संगीत भने चिज एउटा ठूलो नशा रहेछ । ध्यानको एउटा पर्यायवाची शब्द हो । संगीतले हरेक मानिसको मनलाई आनन्दित तुल्याइदिन्छ । भनिन्छ नि सुख दुःखको साथी जस्तै ।

संगीतमा लाग्दा कतिको चुनौती भोग्नुभयो तपाईँले ?

कुनै पनि क्षेत्रमा लागिपर्दा हरेक व्यक्तिले छुट्टै चुनौतीहरु भोग्नुपर्छ । मैले गीत संगीतलाई नै अंगालीरहँदा धेरै चुनौती र कठिनाइहरु भोग्नुपर्यो । त्यति सहज भन्ने हुँदैन रहेछ। जति दुःख कष्ट आइपर्दा पनि त्यसको सामना गर्नु क्षमता राख्न सक्नुपर्छ । संगीत एउटा यस्तो नशा हो एकचोटि रस बसेपछि छुटाउन गाह्रो हुँदो रहेछ ।

पछिल्लो समय यता नेपाली गीतसंगीतमा निकै नै छाडापन र दुई अर्थ लाग्ने गीतसंगीतहरु बजारमा आइरहेको छ तपाईंको भनाइ के छ ?

गीतसंगीतले हाम्रो संस्कृति कलालाई संरक्षण गर्छ, तर आज हाम्रो समाजलाई दूषित बनाउन अपाच्य खालका शब्दहरू संगीत भित्रिएको छ । यसले समाजलाई निकै नराम्रो असर पार्छ। जसरी चलचित्रमा सेन्सरसिप हुन्छ भनेजस्तै गीतसंगीतमा पनि सेन्सरसिप हुनु जरुरत छ । भोलिका हाम्रा नयाँ पुस्ताले के सिक्छन् त ? यस क्षेत्रमा लागि परेका सङ्घ संस्थाले पनि यस्ता गीत संगीतलाई कानुनी दायरामा ल्याउनुपर्छ ।

संगीत सिक्नु कतिको जरुरत छ ?

कुनै पनि पेशामा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने त्यो विषयमा ज्ञान हासिल गर्नु निकै आवश्यक छ । गीत संगीतको बजार निकै नै प्रतिस्पर्धी छ । आफूलाई अब्बल बनाउनको लागि सांगीतिक ज्ञान हुनु निकै नै आवश्यक छ ।

सार्वजनिक गीत ‘गोप्य सेटिङ’ को बारेमा के भन्न चाहनुहुन्छ ?

हाल सार्वजनिक गीत गोप्य सेटिङ गीतको शब्द पृथ्वी लामा, संगीत प्रयास तामाङ र गायनमा प्रकाश वाइबा र एन्जिला रेग्मीको रहेको छ । उक्त गीतको म्युजिक भिडियो भर्खर सार्वजनिक भएको छ युट्युबमा जसमा सम्पादन अनिल बिष्ट प्युठानी, कोरियोग्राफी र निर्देशनमा सञ्जीव ठोकार र दृश्य छायांकन दुर्गा श्रेष्ठको रहेको छ । सोही म्युजिक भिडियोमा धेरै कलाकारहरू अभिनय देख्न पाइन्छ जसमा मुख्य भूमिका संजीव गोले र सिर्जना घिसिङ रहेको छ । अन्य अतिथि कलाकारहरू रमेश लामा, कृति गोले, राम लामा, सन्तोष सेन ठकुरी, जुना साङ्टेन, प्रेम दोङ । सोही म्युजिक भिडियो प्रकाश वाइबा अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु