मलाई लोकदोहोरी गायिका भन्नमा गर्व लाग्छ

म्यूजिक खबर
प्रकाशित: १० माघ २०७३, सोमबार

राधिका हमाल, गायिकाradhika hamal_1
देउडामा राम्रो चल्न थालेपछि लोकदोहोरीतर्फ प्रवेश गर्नुभएको हो ?
त्यस्तो होइन, म लोकदोहोरीमा प्रवेश गरेपछि नै देउडातिर चल्न थालेको हुँ । देउडामा पनि मेरो राम्रै चर्चा भयो । गीतसंगीतको पहिलो स्थान मलाई लोकदोहोरीले नै दिएको हो । दुःखै दुःख बोलको गीतबाट मैले प्रवेश गरेको हुँ तर मेरो गायनयात्रामा भने अहिलेसम्म सुखै सुखको महशुष गरेकी छु ।
अहिलेसम्म कति गीतमा स्वर दिनुभयो ?
संख्यात्मक हिसाबले मैले ५ हजारभन्दा माथि गाइसकेको छु ।
गायनकै क्षेत्रमा पछिल्लो समय प्रतिस्पर्धा निकै देखिन्छ कसरी प्रस्तुत हुनुभएको छ ?
प्रतिस्पर्धा हुनु राम्रो कुरा हो । तर प्रतिस्पर्धाकै रुपमा कसैले कसैलाई हेर्नुपर्ने अवस्था भने म देख्दिनँ । किनकी आ–आफ्नो पनमा गीत गाउने हो, आफ्नै शैली हुन्छ सबै गायिकाहरुको पनि । आफ्नो शैलीमा गाउँदा कसैसँग प्रतिस्पर्धा भएको जस्तो मलाई लाग्दैन ।
तपाईं त मेला महोत्स्वमा दर्शकलाई उचाल्ने खालको गीत गाउनुहुन्छ रे नि ?
हो, दर्शक नै हाम्रो पहिचान हुन् तर म माहौल तताउने क्रममा छाडा गीत गाउन भने चाहन्नँ । लोकदोहोरी भन्ने वित्तिकै नराम्रो तरिकाले प्रस्तुत हुनु हुँदैन भन्ने लाग्छ र मेरा गीतहरु प्राय गरेर स्टेजका लागि मान्य हुने नै छन् । स्टेजमा म उक्लिएपछि मेरा फ्यानहरुले मेरो स्वर र गायकीमा मजा लिन थाल्छन् ।
देश विदेशका महोत्सवमा गाउन जाँदा आयोजकको नजिक बन्र्नुपर्छ भन्छन् नि ?
आयोजकको नजिक बनेर हामीलाई कुनै पनि सांगीतिक कार्यक्रम गर्नु छैन बरु आयोजकले हाम्रो डिमाण्डलाई स्वीकार गर्नुपर्छ । हामी त चलेका कलाकार हौं कुनै आयोजकका लागि नजिक बनेर कार्यक्रम हात पार्नु छैन । नचलेका भन्दैमा पनि आयोजकले भनेकै सबै मान्नुपर्छ भन्ने छैन । कलाकारले आफ्नो स्थान बनाउन अडान पनि लिन सक्नुपर्छ । आयोजकको पाउ मोल्दैमा आफ्नो करिअर चल्दैन बरु करिअरमा दाग लाग्छ ।
लोकदोहोरीमा त छाडापन भयो, विकृति आयो भनिन्छ नि ?
पछिल्लो समय लोकदोहोरीमा धेरै विकृति आएको छ । हामीले विकृतिलाई रोक्ने अभियान पनि चलाएका छौं । अब हामी नै सचेत भएनौं भने योभन्दा धेरै विकृति आउँछ । मौलिकता हराउनु एकातिर छ भने अर्कोतिर जथाभावी शब्द सिर्जना गर्ने कामले पारिवारिक रुपमा सुन्न पनि गाह्रो हुँदै गयो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको म एउटा सचिव मात्र होइन म एउटा गायिका पनि हुँ, त्यसैले मैले कुन गाउने कुन नगाउने भन्ने कुरामा शब्द हेर्नु जरुरी छ । हामीले त्यो अभियान अन्तर्गत ३–४ वटा गीत त रोकि पनि सकेका छौं । लोकको पहिचान मेटाउने खेलले हामीलाई नै असर पु¥याउँछ ।
दोहोरी गाउँदा चाहिँ किन ल्याउने लाने कुरा मात्र धेरै हुन्छ ?
त्यो परिवेश हेरेर गाउनुपर्ने हुन्छ । तर ल्याउने र लाने भन्नेमै लोकदोहोरी सीमित हुनुहुन्न । हामी समाज बदल्ने पात्रका रुपमा चिनिन्छौं भने हामीले सभ्य गीत गाउनुपर्छ । मेरो म्यूजिक बैंक स्टुडियोमा रेकर्ड हुन आएका गीतलाई पनि सेन्सर गर्ने गरेको छु । छाडा शब्द आउनेवित्तिकै सच्याउन लगाउँछु ।
आधुनिक गाउनेलाई चाहिँ गायिका मात्र भन्ने लोकदोहोरी गाउनेलाई चाहिँ लोकदोहोरी गायिका भन्ने गर्दा तपाईंलाई कस्तो लाग्छ ?
मलाई त लोकदोहोरी गायिका भन्दा नै गर्व लाग्छ । पहिला सबैलाई गायिका मात्र भनिन्थ्यो तर लोकदोहोरी गायिका भन्ने प्रचलन हामीले नै ल्याएका हौं । आधुनिक गायिका भनेर भन्ने प्रचलन पनि त छैन तर पनि हामी एउटा लोकले मन पराउने गीत गाउने भएपछि आफ्नो पहिचान पनि लोकसँग नै जोडिएको हुन्छ । त्यसैले लोकदोहोरी गायिका भन्नुमा नै हाम्रो पहिचान हुन्छ जस्तो लाग्छ ।

radhika hamal copy
लोकगीत जति चर्चित भए नि आधुनिक गायक गायिकाको तुलनामा लोकदोहोरी गायक गायिका कम लोकप्रिय बन्छन् नि ?
मलाई त त्यस्तो लाग्दैन । आधुनिक गायनलाई मन पराउने र लोकदोहोरीलाई मन पराउने छुट्टै छन् । मेरो गीतकै कुरा गर्ने हो भने ढल्क्यो जवानी होस् क्याम्पस पढ्न आउनी पूर्वदेखि पश्चिमसम्म सबैले मन पराउनुभएको गीत हो । कुनै बेला झापाको कार्यक्रममा जाँदा मेरा गीतलाई वान्स मोर भनेर मैले पुनः गाउनुपरेको थियो । अब पूर्वमा लोकदोहोरी सुन्दैनन् भन्ने हो भने किन त्यस्तो भयो त ? दर्शकको रोजाईमा कहिले आधुनिक पर्ला त कहिले लोकदोहोरी ।
लोकदोहोरी गायिका मात्र भएर हिंड्ने कि भर्सटायल गायिका पनि बन्ने ?
अब सबै प्रकारका गीत गाउने सोचमा छु । मैले लोकदोहोरीमा पनि फरक फरक फ्लेबरका गीत गाएको छु । लोकपप, पपतर्फ पनि गाउन सक्छु तर मेरो पहिचान बनेको लोकदोहोरीमा नै म रमाउँछु ।
तपाईंलाई गायिका बनाउनमा कसको हात छ ?
पहिला त मेरो सरकार कृष्ण पुनकै हात छ भन्नुपर्छ । उहाँसँग नै सांगीतिक सहकार्य गर्दै गर्दा आज म यो ठाउँमा छु । तर विहेपछि मेरो जेठाजू इन्द्र पुनले पटक पटक तिमी गायिका बन्नुपर्छ भनेर काठमाण्डौ पठाउनुभयो । त्यसले गर्दा पनि मलाई पारिवारिक रुपमा सहज भयो । प्रेरणाकै रुपमा लिने हो भने नारायण रायमाझीलाई भुल्न हुँदैन ।
तपाईंको विहे चाहिँ लभ म्यारिज हो ?
आधा लभ, आधा एरेन्ज हो । पहिला हामी संगीतकै काममा भेट भएको थियो । पछि केही लभ पर्दै थियो अनि पारिवारिक रुपममै मागी विहे गरेका हौं ।
कुनै सांगीतिक जोडीका रुपमा जमेको पशुपति शर्माको जोडी अहिले राधिकासँग छैन नि ?
हामी दुईजनाले गाएको क्याम्पस पढ्न आउनी तथा केहि तिजका गीतहरु धेरै चले । त्यसले गर्दा पनि पशुपतिजी र मेरो जोडीजस्तै भएको थियो, देश विदेशमा पनि हामीलाई बोलाइन्थ्यो । त्यतिखेर प्राय आशिष म्यूजिकको लगानीमा हामीले धेरै गीत गाएका थियौं तर पछिल्लो पटक एउटा गीतमा उहाँहरुले मलाई गाउन बोलाएर अरुलाई नै गाउन लगाउनुभएको फेला पारेँ त्यसपछि नगाउने बाचा गरेको थिएँ । तर पानी बाराबार भने भएको छैन, उहाँले प्रतिष्ठानकै चुनावमा पनि मलाई सचिव बनाउन कसरत गर्नुभयो । देशविदेशमा सँगै स्टेजमा हुँदा क्याम्पस पढ्न आउनी जस्ता गीतहरु अफर आउँछ र सँगै गाउँछौं पनि ।
तपाईंलाई मन पर्ने गीत चाहिँ कुन हो ?
मेरो आफ्नै गीत माता भवानी ढल्क्यो जवानी सबैभन्दा बढी मन पर्छ । जुन गीतले मलाई नेपालमा मात्र नभएर सिक्किम, दार्जिलिङलगायत विदेशमा चिनायो ।
नयाँ आउने प्रतिभालाई के भन्नुहुन्छ ?
सिकेर आउनुस्, बुझेर आउनुस् । भोलिको यो संगीत उद्योगले आशा गरेको गायक, गायिका बनेर आउनुस् । सबैले वाहीवाही गर्ने अवस्था सिर्जना होस् । हामीभित्र हतोत्साही हुने बानी छ, छिट्टै प्रतिफलको आशा गर्ने गरिन्छ । पहिला लगानी गर्नुप¥यो, मेहनत गर्नुप¥यो त्यसपछि बल्ल प्रतिफल प्राप्त हुनेछ । त्यस्तै लोकदोहोरीमा विकृतिमुक्त बनाउँदै अग्रजको सम्मान र अनुजलाई प्रोत्साहन दिँदै संस्कारयुक्त लोकदोहोरी बनाउन आउनुहोस् । हाम्रो सम्मान र संस्कारले हामीलाई नै सबैको प्रिय बनाउनेछ ।

प्रस्तुतिः सविता पोखरेल

तस्विरःसविता पोखरेल

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु