मेरो सबैसँग प्रतिस्पर्धा हुन्छ –माण्डवी त्रिपाठी

म्यूजिक खबर
प्रकाशित: ३० मंसिर २०७३, बिहीबार

नेपाली पाश्र्व गायनमा चर्चाको शिखरमा रहेकी गायिका माण्डवी त्रिपाठी नेपाली सांगीतिक फाँटमा स्थापित नाम हो । लोक गीत गायनबाट सांगीतिक धरातलमा पाइला टेकेकी सुमधुर स्वरकी धनि गायिका त्रिपाठीले लोकपप, आधुनिक, तीज र चलचित्रमा गरि दुईहजार भन्दा बढी गीतमा स्वर दिएर‘भर्सटायल’ गायिकाको छवि बनाइसकेकी छिन् । पछिल्लो समयमा देश तथा विदेशमा आयोजना हुने स्टेज कार्यक्रमहरुका लागि रोजाईमा पर्ने गायिकाहरु मध्येकी एक गायिका माण्डवी त्रिपाठीसँग म्यूजिक खबरका लागि सविता पोखरेलले गरेको सांगीतिक कुराकानी ।mandabi

सांगीतिक क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
मेरो घर परिवारको सांगीतिक वातावरणले नै मलाई यो क्षेत्रमा ल्यायो । मेरो बुबा हारमोनियम बजाउनु हुन्थ्यो, काका मादल बजाउनुहुन्थ्यो । मेरो भाइ राजन पनि गाउने गथ्र्यो । गाउनमा मेरो रुचि थियो । गायिका बन्ने सोख थियो । हामी गाउँ गाउँ र स्कुलमा पनि गाउँदै हिंड्थ्यौं । सबैले अफर गर्दै गाउन लगाउँदा प्रोत्साहन मिल्थ्यो ।

गायिका नै बन्ने उद्देश्यले काठमाडौंसम्मको यात्रा कसरी तय भयो ?
हामी गाउँमा गाउँदै हिंड्दा तार्कुघाट स्कुलमा भएको लक्ष्मी जयन्तीमा मैले गीत गाउँदै थिएँ । त्यहाँ विशेष अतिथिका रुपमा यज्ञनिधि दाहाल जानुभएको थियो । उहाँले मेरो भाइ र मलाई रेडियो नेपालमा लगेर साहित्य संसार कार्यक्रममा अवसर दिनुभयोे । म त्यतिबेला कक्षा ६ मा पढ्थें । हामीले कुन मन्दिरमा जान्छौ यात्री बोलको गीत गाएका थियौं लक्ष्मी जयन्तीमा त्यही गीत हारमोनियम बजाएर रेडियो नेपालको साहित्य संसार कार्यक्रममा गायौं । त्यसले मेरो काठमाडौं यात्राको सांगीतिक करिअरलाई ठूलो हौसला प्रदान ग¥यो ।

तपाईं त लोक क्षेत्रबाट आउनुभएको अहिले चर्चित बन्दै गएपछि लोक क्षेत्रलाई माया मार्नुभएको हो ?
होइन, लोक क्षेत्रलाई कदापि माया मार्नै सक्दिनँ । म लोक क्षेत्रमै स्थापित भएको कलाकार हुँ । सुरुमा त म आधुनिक गीत प्रतिस्पर्धामा दोस्रो स्थान हासिल गरेर गायनमा आएको हुँ । तैपनि लोकगायनले नै मलाई पहिला चिनाएको हो, मेरो मदरटङ नै लोक गीत हो । अहिले म पाश्र्व गायनतर्फ बढी लागें, आधुनिक गीततर्फ लागें तर लोक गाउन भने छाडेको छैन ।

तपाईं महंगो भएर हो की ?
त्यस्तो पनि होइन, म त्यस्तो महंगो पनि होइन जस्तो लाग्छ । आधुनिक, चलचित्रतर्फ म गाउँदै गर्दा त्यस्तो सोच्नुभएको हो । म जुन फ्लेबरको गीत पनि गाउँछु ।mandabi-music

अहिलेसम्म कतिवटा गीत गाउनुभयो ?
अहिलेसम्म मैले करिब दुई हजारको हाराहारीमा गाइसकेको छु ।

आफूले गाएको गीतमा सबैभन्दा बढी मन परेको गीत ?
त्यस्तो यही भन्ने छैन । मलाई सबै गीत नै मन पर्छ । कोही चले होलान् कोही चलेनन् तर गायकीमा मैले सबै गीतलाई समान रुपमै लिन्छु ।

तपाईंलाई चिनाउने गीत कुन हो ?
धेरै छन् चिनाउने गीत त । ढल्क्यो ढल्क्यो, सिम्पल सिम्पल, मात लाग्यो, बारुले कम्मर लगायत दर्जनौं गीत छन् । जसले मेरो करिअरलाई नै स्थापित गराएको छ ।

गायन क्षेत्रबाट कति कमाउनुभयो ?
मैले धेरै कमाएँ । पहिला दर्शक स्रोता सबैभन्दा धेरै कमाएको छु त्यो नै मेरो ठूलो धन हो । आर्थिक रुपमा भन्नुहुन्छ भने मलाई खान लाउन र पारिवारिक रुपमा सजिलै चल्न पुगेको छ । सन्तुष्ट नै छु ।

पारिश्रमिक चित्त नबुझेर गाउन अस्वीकार गर्नुहुन्छ कि गर्नुहुन्न ?
त्यस्तो रेकर्ड कहिँ पनि छैन । स्टुडियोमा पुगेर गाउन बोलाएपछि गाइसकेपछि गाएर नै आएको छु । मेरो रेट कुरा नमिल्ने कुरा पनि छैन । आफ्नै स्वास्थ्य स्थितिले गाउन नसके मात्र त्यस्तो होला तर सबैसँग पारिश्रमिक भनेजति नै पाइरहेको छु ।

वैवाहिक जीवन कस्तो चल्दैछ ?
राम्रोसँग चल्दैछ । आमा हुने सौभाग्य पाएको छु । बाबु छ एउटा । बच्च भएपछि गाह्रो त हुन्छ नै तर जिन्दगीमा बच्चा हुनुको रमाइलो अर्कै हुँदो रहेछ । श्रीमानबाट पनि मैले राम्रो सहयोग पाएको छु । उहाँ आफैंमा बुझेको संगीतकार हुनुहुन्छ ।

विहेपछि गीत गाउने अवसर कम पाइन्छ भनिन्छ नि ?
खै मलाई त त्यस्तो लाग्दैन । मेरा धेरै गीतहरु विहे पछि नै गाएको हुँ । हिट गीतको लिस्ट हेर्ने हो भने विहेपछिकै बढी चलेका गीतहरु हुन् । अहिलेसम्म निरन्तर गाइरहन पाएको छु ।

गायिकाले त संगीतकार रिझाउनु पर्छ रे नि ?
म्यूजिक इन्डस्ट्रिजमा धेरै खालको रिझाउने तरिका हुन्छ रे । मेरोमा त त्यस्तो कहिल्यै पनि भएन । विहे अघि पनि भएन र विहेपछि कोही छैन । मेरो नेचर नै कसैलाई रिझाएर काम पाउँछु भन्ने छैन ।

तपाईंलाई मन पर्ने संगीतकार ?
मेरो मन पर्ने संगीतकार गोपाल योञ्जन हो । त्यसपछि शम्भूजित बास्कोटा मलाई मनपर्ने संगीतकारका रुपमा लिन्छु । नयाँ पुस्तामा धेरै संगीतकार हुनुहुन्छ, सबैको संगीत उत्तिकै राम्रा छन् । यही भन्ने लाग्दैन ।music-mandabi

तपाईंलाई मन पर्ने गायिका ?
मलाई मन गायिका अन्जु पन्त हो ।

तपाईं कसलाई आफ्नो प्रतिस्पर्धी ठान्नुहुन्छ ?
मेरो प्रतिस्पर्धी त पहिला म आफैं हुँ । त्यसपछि मैले सबैलाई प्रतिस्पर्धी गायिका नै मान्ने गरेको छु । मेरो समकालिन हुन् या नयाँ आउने गायिकाहरु उनीहरुसँग बजारमा प्रतिस्पर्धा गरिरहेकै छु ।

गीतसंगीतबाटै जीवन चलेको छ त ?
अहिलेसम्म चलेकै छ । गीतसंगीतबाट राम्रै कमाइ भएको छ जसले घर परिवार चलाउन सकेको छु । मेरो मन्टेश्वरी स्कुल पनि छ त्यसबाट पनि मेरो घरखर्चलाई सहयोग पुगेकै छ । सन्तुष्ट नै छु भन्नुप¥यो ।

साइड विजनेश भएन भने संगीतबाट बाँच्न सकिँदैन भन्ने सोच हो की ?
होइन, त्यस्तो लाग्दैन । नेपालको म्यूजिक इन्डस्ट्रिजमा चलेका सीमित कलाकारले मात्र संगीतबाट जीवन गुजारा गरेका छन् भने अन्यको अवस्था साइड बिजनेशमै चलेको छ । तर मैले संगीतबाट नचलेर यो विजनेश गरेको होइन । हामी दिदीबहिनीहरु मिलेर १० वर्षअघिदेखि नै बाल संसार मन्टेश्वरी चलाउँदै आएका हौं । साइड विजनेश हुँदा धेरै सुरक्षित भइन्छ ।

कुन फ्लेवरको गीत मन पर्छ ?
फ्लेवर भन्दा पनि गीतसंगीतका सबै कुरा मिलेको गीत भयो भने मन पर्छ । लोक होस् या आधुनिक, पप होस् या चलचित्र सबै उस्तै लाग्छ ।

अविष्मरणीय क्षण ?
विहेपछि हेटौंडा प्रोग्राममा जान लागेका थियौं । बाइकमा गएका थियौं बेलुका भएको थियो । थानकोटमा पुगेका थियौं यति ठूलो पानी प¥यो, रुझियो । विपिनजी बाइक चलाउँदै हुनुहुन्थ्यो, भर्खर विहे भएको थियो, म सम्झिँदै रुँदै पछाडि गएको दिन कहिल्यै विर्सन सक्दिनँ ।

लोकगीतबाट आउनुभएको गायिका, लोकगीतमा अहिले विकृति आयो भनिन्छ नि ?
एउटा घरको एउटा छोरा बिग्रियो भनेर सबै बिग्रन खोज्नुहुन्न । बुझ्ने धेरैजना हुनुहुन्छ, धेरै संघसंस्था छन् पक्कै पनि कुनै दिन मौलिकतातर्फ फर्कनेछ ।

नयाँ आउने प्रतिभालाई के भन्नुहुन्छ ?
सिकेर आउनुस्, बुझेर आउनुस् । भोलिको यो संगीत उद्योगले आशा गरेको गायक, गायिका बनेर आउनुस् । सबैले वाहीवाही गर्ने अवस्था सिर्जना होस् ।

-म्यूजिक खबर पाक्षिकबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु