श्रीमान नै मेरो उर्जा हो: गायिका रमा अर्याल

म्यूजिक खबर
प्रकाशित: २९ असार २०७२, मंगलवार

rama aryal singer music

पूर्वी नेपालको इलाममा जन्मिएर झापामा हुर्किएकी रमा अर्याल सांगीतिक यात्रामा रमाइरहेकी छिन् । चार वर्ष अघि गन्तव्य एल्बमबाट संगीतमा पहिलो पाइला टेकेकी गायिका अर्याल छोटो समयमा नै सांगीतिक उचाइमा पुग्न सफल भइन् । यतिबेला विदेशीभूमि कतारलाई कर्मथलो बनाइरहेकी अर्याल ‘गन्तव्य–२’ को तयारीमा छिन् । उनका सांगीतिक आरोह अवरोहका विषयमा म्यूजिक खबर डटकमका लागि सविता पोखरेलसँग गरिएको कुराकानी ः

तँपाइको पारिवारीक अवस्थाका बारेमा भनिदिनुस्न ?
म एक विवाहित नारी हुँ । मेरो श्रीमान, एक छोरी र एक छोरा सहितको परिवार छ । । म गायिका रमा अर्याल भन्दा पहिले एक कुशल बुहारी, श्रीमती र आमा हुँ ।

आजकल के गर्दै हुनुहुन्छ ?
नेपाल आएको १५ दिनको समय सदुपयोग गर्दै गन्तव्य–२ एल्बमकै गीतसंगीत रेकर्डिङमा व्यस्त भइरहेको छु ।

सांगीतिक क्षेत्रमा कहिलेबाट प्रवेश गर्नुभयो ?
मैले सांगीतिक धरातलको गन्तव्यमा पुग्ने उद्देश्यले चार वर्ष अगाडीबाट ‘गन्तव्य’ एल्वम मार्फत यो क्षेत्रमा प्रवेश गरें । हेरौं अब गन्तव्यमा पुग्न सकिन्छ सकिँदैन तर यात्रा भने गरिरहनेछु ।

यो क्षेत्रमा कसको प्रेरणाबाट आउनुभयो ?
मेरो परिवार नै मेरो प्रेरणाको स्रोत हो । त्यसमा पनि मेरो श्रीमान नविन पोखरेल त मेरो उर्जा नै हो । मैले आफूलाई जति चिनें, त्यो भन्दा बढी मेरो श्रीमानले मलाई चिन्नु भएछ । किनभने म आफूलाई नै गायिका बन्न सक्छु भन्ने आत्मविश्वास थिएन तर पनि मेरो श्रीमानले ममा एउटा गायिकामा हुने सम्पूर्ण गुण देखेर यसतर्फ मलाई प्रोत्साहन दिनुभयो ।

तपाईंलाई यो क्षेत्रमा ढिलो आएछु जस्तो लाग्दैन ?
कहिलेकाहिँ लाग्छ पनि । तर बितेको समयलाई सम्झेर गुनासो गर्दिनँ । समयभन्दा अगाडि र भाग्य भन्दा धेरै केहिं पाइँदैन रे । आफूभन्दा अग्रजका अनुभूति सुन्छु अनि ढिलो आएँ, विलम्ब भयो भन्ने लाग्दैन । हाम्रै आखाँ अगाडि पनि यस्ता कलाकारहरु हुनुहुन्छ जसले आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण समय यहि क्षेत्रलाई समर्पण गर्नुभयो कतिपयले त झन् सम्पूर्ण भौतिक जीवन यहि क्षेत्रप्रति समर्पित गर्नुभयो । तर यसको बदलामा के पाउनु त उहाँहरुले ? आज उहाँहरुको जीवन कति कष्टप्रद छ ? सोच्दा पनि म त विव्हल हुन्छु । बरिष्ठ संगीतकारसँगको मेरो एक जिज्ञासामा त उहाँले यो क्षेत्रलाई सम्पूर्ण ठानेर समर्पित हुने सर्जक भनेको श्रीमती र बालबच्चालाई यातना दिने सर्जक हो भन्नुभयो । उहाँको उचाइमा पुगेको संगीताकारको स्थिति यस्तो छ भने सायद म पनि पहिलेदेखि नै यो क्षेत्रमा सक्रिय हुन्थेँ भनेँ मैले पनि मेरो परिवारलाई अन्याय गरिरहेकी हुन्थेँ होला जस्तो लाग्छ । ढिलै भए नि आएकी छु तर केही गरेरै छाड्छु भन्ने आत्मविश्वास छ ।

rama aryal1

भनेपछि संगीत क्षेत्रमा लागेर बाँच्न सकिंदैन त ?
अत्यन्तै गाह्रो छ । औंलामा गन्न मिल्ने केही कलाकारलाई छाडेर हेर्ने हो भने सबैको दैनिकी दुःखलाग्दो नै छ । आर्थिक रुपले तन्दुरुस्त केही कलाकारलाई हेर्ने हो भने पनि कि त उनीहरु देश तथा विदेशमा भएका कन्सर्टबाट कि त अर्को कुनै बैकल्पिक पेशाबाट मात्र बाँचेका देखिन्छन् ।

संगीतमा लागेर केही होला जस्तो लाग्छ ?
कोही रहरले संगीतमा आए होलान् भने कोही संगीतमा नै समर्पित हुन्छु भनेर आए । जसरी आए पनि संगीतमा लागेपछि नाम त पक्कै राख्नुपर्छ भन्ने हो । होला दामको कुरामा पनि म कुनै बेला सफल हुन्छु जस्तो लाग्छ । निराशावादी कुरा गरेर सकिँदैन, केही रिटर्न आउँदैन भन्नु पनि हामीले हुँदैन । पैसाको लगानीमा आफ्नो समाजमा व्यक्तिगत उचाइ पनि त मिलिरहेको हुन्छ । त्यसैले म पनि गीतसंगीतमा लागेर कुनैदिन त्यसको प्रतिफल लिन्छु भन्ने विश्वासमा छु ।

अहिलेसम्म कतिवटा गीत गाउनुभयो ?
अहिलेसम्म एक दर्जनभन्दा बढी गीतमा स्वर दिएकी छु । २ वटा गीतको रेकर्डिङको तयारीमा छु । अनि गन्तव्य २ एल्वमको तयारी पनि गर्दैछु ।

विदेशमा बस्ने कलाकारलाई आफ्नो करिअरमा फाइदा बढी कि घाटा ?
फाइदा र बेफाइदा पनि दुइ किसिमले हुन्छ । एउटा आर्थिक रुपको फाइदा हुन्छ । भने अर्को मान्छेले चिनिने फाइदा हुन्छ । मेरो हकमा भने विभिन्न संघ संस्थामा आवद्ध हुन पाएको छु । त्यहाँ हुने हरेक कार्यक्रममा मलाई सम्झिनुहुन्छ । गायिका भनेर इज्जत गर्नुहुन्छ, सम्मान गर्नुहुन्छ । यो पनि त फाइदा नै हो नि ।

संघसंस्थामा पनि आवद्ध हुनुहुन्छ ?
विदेशमा त संघसंस्था धेरै हुन्छन् । जिल्ला विशेष, संस्था, पार्टी विशेष इत्यादि । विदेशमा रहेर मैले नि केहि संघ संस्थामा आवद्ध हुने मौका पाएको छु । त्यहाँको नेपाली सांगीतिक क्षेत्रकै बसन्त फिल्मस्मा पनि म कोषाध्यक्ष छु ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु