संगीतको सागरमा आनन्दित जीवन बाँचिरहेको छु: मनोजराज

म्यूजिक खबर
प्रकाशित: १३ कार्तिक २०७३, शनिबार

मनोजराज शिवाकोटी नेपाली गीतसंगीतको क्षेत्रमा एउटा चर्चित गायक हुनुहुन्छ । उदयपुर जिल्लाको रिस्कु गाबिसमा बुबा मन्दिर शिवाकोटी र आमा मन्जु सिवाकोटीको जेठो छोरा हुनुहुन्छ गायक मनोजराज । नेपाली सांगीतिक क्षेत्रमा दर्जनौं गीतमा स्वर दिइसकेका मनोजराज आधुनिक गीतगजलको क्षेत्रमा उच्चकोटीका गायकका रुपमा चिनिन्छन् । शास्त्रीय संगीतमा समेत दख्खल राख्ने मनोजराज आफूलाई सिक्दै गरेको संगीतको विद्यार्थी बताउँदै आउनु भए पनि यतिबेला धेरैलाई संगीत शिक्षा दिँदै आइरहनुभएको छ । हिट्स एफएम म्युजिक अवार्ड, म्युजिक खबर अवार्ड, इमेज अवार्ड, क्यापिटल नेशनल अवार्ड, राप्ती समाज सम्मान जस्ता दर्जनौं अवार्ड, सम्मान र पुरस्कार प्राप्त गरिसक्नुभएका गायक मनोजराजसँग म्यूजिक खबरका लागि सम्पादक सविता पोखरेलले लिनुभएको अन्तरवार्ताको अंशः
आजभोली के गर्दै हुनुहुन्छ ?
हाम्रो जीवन नै संगीतमय छ, गीतसंगीतमै जीवन गुजारिरहेको छ । दशैं नजिकिँदै गर्दा दशैं विशेष गीत सार्वजनिक गरेँ र त्यसकै प्रचार प्रसारमा लागिरहेको छु ।
मनोजराज राम्रो गायक तर घमण्डी छ भन्ने सुनिन्छ के सत्य हो ?
हरे ! कहाँ सुन्नुभो ? म नरिवल जस्तो छु नभेट्दा साह्रो भेटेपछि नरम छु । खै, म त त्यस्तो छैन ! मनमिल्दा आन्द्रा गाँसिने मान्छे हुँ नचिनेकोसँग चाहिँ अलिक रिजर्भ नै हुन्छु । अनि अनावश्यक चाकडी जान्दिनँ सायद त्यही भएर होला घमण्डी भनेका ।

manojraj-sewa
तपाईंले अरुको एल्बममा धेरै गाउनु भयो है आफ्नो चाहिँ बजारमा किन ल्याउनु हुन्न ?
वास्तवमा हामी प्रोफेशनल गाउने मान्छेको अलि यस्तै हुने हो क्या हो ? आफ्नो आउन अलि समय लाग्ने । म अझ अलि आफ्नो काममा अल्छी गर्ने मान्छे परें । अब अलि चाँडो गर्छु यो एल्बम पनि । भर्खरै दशैं विशेष गीत भाइब्सबाट बाहिर ल्याएको छु । अर्को एउटा चट्पटे गजल लोक लयमा ल्याउन आँटेको छु तर यो अहिले रिलिज भएको गीतबाट भने धेरै आशावादी छु । अब भने मनोजराज एकदम वियोगान्त गीत गाउने मात्र नभई रमाइलो गीत पनि गाउने गाएको हो भन्ने बनाउन चाहन्छु ।
त्यसमा व्यक्तिगत जीवनको भोगाईको कारणले हो कि ?
हैन ! नेपालीहरु वियोगान्त गीत नै बढी रुचाउने गर्छन् । म अलि छिट्टै कथाको पात्र सोच्न्छु अरुबाट, तर सबै गायक गायिकाले ८० प्रतिशत वियोगान्त गीत गाएका छन् ।

जीवन के हो ?
जीवन संवेदना सम्भावना कर्तव्य र निरन्तरताको अनुभव हो ।
पछिल्लो समयमा गीत सदाबहार बन्न सकिरहेका छैनन् नि ?
अहिले गीत सुन्ने भन्दा हेर्ने भयो । जसले गर्दा शब्द गहकिला भन्दा रमाइला हुन थाले । मन छुने भन्दा दिमाग नचाउने हुन थाले । जमाना फास्ट भयो भनौं न त्यसैले सदाबहार बन्ने गीत नै सिर्जना हुन छाड्यो ।

manojraj
भनेपछि गीत कर्णप्रिय बनाउन भन्दा पनि हेर्न योग्य बनाउन जरुरी भयो ?
होइन, गीत भनेको सुन्नकै लागि हो । त्यो कर्णप्रिय हुनै पर्छ भन्ने म मान्दछु । तर अब प्रस्तुति श्रव्यमा मात्र नभइ दृश्यमा नदेखाए श्रोता दर्शकले पनि त्यति चासो दिन छाडेको हो की भन्ने अनुभव छ । अवश्य पनि शब्द गीतको मेरुदण्ड नै हो भने संगीत त्यसको प्राण अनि स्वर त्यसको पहिचान यी तिनै कुरा मिले भने गीत कर्णप्रिय बन्छ ।
अहिलेको सांगीतिक क्षेत्र कस्तो पाउनु भएको छ ?
डिजिटल र फास्ट भएको छ । अहिलेको समाज जस्तो विकृतिले चाँडै प्रवेश पाइहाल्ने । अदृष्य बजार जुन प्रविधी जानेकाले मात्रै सफल उपयोग गर्न पाउने । तर एकदमै सुलभसँग फैलाउन सकिने छ ।
जीवन तथा संगीत प्रति गुनासो छ कि छैन  ?
म सकारात्मक सोंच राख्ने आशावादी मान्छे भएकोले जीवनमा जतिसुकै अप्ठ्यारो र जस्तोसुकै खुशी आए पनि एकसमान हुने स्वाभावको भएकोले जीवनप्रति म सन्तुष्ट छु । कुनै गुनासो थिएन, छैन र हुने पनि छैन । रह्यो संगीतको कुरा, म गायक मात्र नभै आफूलाई सांगीतिक प्राणी भन्न रुचाउँछु । त्यही भएर संगीतप्रति कुनै गुनासो आउने ठाउँ नै भएन । बरु म संगीतको सागरमा आनन्दित जीवन बाँंचिरहेको छु भनौं ।
मनपर्ने समकालिन गायक ?
स्वरूपराज आचार्य मनपर्ने समकालीन गायक हो । अनि अर्को मनपर्ने समकालीन गायकमा जगदिश समाल पनि हो ।
कसलाई आफ्नो प्रतिस्पर्धी ठान्नुहुन्छ ?
म स्पर्धा भन्दा साधनालाई महत्व दिने मान्छे भएकोले सबैलाई सम्मान गर्छु । कुरै गर्ने हो भने मेरो स्पर्धा मैसंग हुन्छ अझ आफूलाई केही परिस्कृत गर्ने कुरामा हुन्छ ।
अहिलेको मनपर्ने गायिका ?
मनपर्ने गायिका अन्जु पन्त नै हो । नयाँमा बानिका प्रधान र मेलिना राई मन पर्छ ।
संगीतमा लागे पछिको अविष्मरणिय क्षण ?
संगीतमा लागेपछिको अविस्मरणीय क्षणमा हालसालै मैले मलाई असाध्य मनपर्ने मैले सम्मान गर्ने मेरो आइडल संगीतज्ञ संगीत सम्राट गोपाल योन्जनको रेकर्ड नभएका पाँच गीत गाउने मौका पाएँ । दुई गीत रेकर्ड भइसके तीन गीत हुन बाँकी छन् । यो नै मेरो लागि अविस्मरणीय क्षण हो ।

अन्त्यमा ?
अन्त्यमा मलाई श्रोता सामु पु¥याउने सम्पूर्ण मिडियालाई स–सम्मान धन्यवाद । मेरा सम्पूर्ण शुभचिन्तक र श्रोतालाई म्युजिक खबरको पहिलो अंकमा नै मलाई उपयुक्त ठानेर स्थान दिनुभयो, जसका लागि म्यूजिक खबरलाई हार्दिक आभार प्रकट गर्दछु । यसै मिडियाबाट विजयादशमी र दीपावलीको हार्दिक मङलमय शुभकामना । हजुरहरुको माया यसैगरी अनवरत पाईरहुँ, धन्यवाद ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु