स्रोताको मायाकै कारण आधुनिकतर्फ लागें

म्यूजिक खबर
प्रकाशित: २ कार्तिक २०७०, शनिबार

कस्तुप पन्त गीतकार÷संगीतकार
आजभोली केमा व्यस्त हुनुहुन्छ ?
म आजभोली गीतसंगीतकै क्षेत्रमा क्रियाशील छु । आफ्नो एल्बम सारथी–३ को निर्माण कार्यमा नै व्यस्त छु । साथै यस एल्बभित्रको गीतसंगीतको प्रमोशनमा पनि लागिरहेको छु ।
तपाईं त लोकगीतमा नाम चलेको मान्छे तर आधुनिकतर्फ किन मोडिनुभयो ?
मैले लोकगीतमा ६ वर्षसम्म बिताएँ । त्यतिबेला मैले रचना गरेका गीतहरु प्राय सबै चर्चाको शिखरमा नै हुने गर्थे । कस्तुप पन्तको गीत हो भन्ने स्रोताहरुमा छाप छाडिसकेपछि म लोकगीतको स्रष्टा रहेछु भन्ने लाग्थ्यो । त्यसपछि मलाई अझ हौसला मिल्यो र अझ संगीतमा केही गर्नुपर्छ भन्ने सोचका साथ सुगम संगीततर्फ मोडिएको हुँ । सुगम संगीतमा पनि मेरा शब्द र संगीतले राम्रो स्थान पाएका छन् । स्रोताहरुले कस्तुप पन्तको गीतलाई धेरै माया गरिदिनुभएको छ ।
अहिलेसम्म कति गीत सिर्जना गर्नुभयो ?
मेरो सांगीतिक यात्राको सुरुवात २०६० सालबाट भएको हो । हालसम्मको यात्रामा ५० भन्दा बढी गीत गाएको छु भने सयौं गीत लेखेको छु । सबै स्रोताहरुले मन पराइदिनुभएको छ, जसका कारण म अझै सक्रिय रुपमा लागिरहेको छु ।
कसको प्रेरणाबाट यो क्षेत्रमा प्रवेश गर्नुभयो ?
म सानैदेखि नै गीतसंगीत मन पराउने व्यक्ति हुँ । मेरो वरिपरिको वातावरिण, घरपरिवार, गाउँ, छिमेक, साथीभाइहरुको प्रेरणाले नै मलाई यो क्षेत्रमा क्रियाशील गरायो । आधुनिक क्षेत्रमा भने सञ्चारकर्मी श्याम अर्यालको प्रेरणाले गर्दा नै हो भन्न चाहन्छु । म श्याम अर्यालको चलचित्र ‘मै छोरी सुन्दरी’को गीत तयार पार्ने क्रममा ‘मेरो मनको ढुकढुकीमा’ गीत लेखेँ । तर चलचित्र ढिलो हुनेभएपछि मैले त्यो गीतलाई आफ्नै एल्बम सारथीमा राखेँ । त्यो गीतले मलाई आधुनिक संगीतमा उचाइ थपिदियो र म आधुनिक गीतको क्षेत्रमा स्थापित भएँ ।
अन्त्यमा ?
अहिले नेपाली संगीतको बजार फिजिकल भन्दा डिजिटलतिर अगाडि बढिरहेको छ । यसले गर्दा यस क्षेत्रमा लागेकाहरुलाई निकै अप्ठ्यारो बनाइरहेको छ । यस क्षेत्रमा भएको पाइरेसी र विकृतिलाई हटाउन राज्यले नै पहल गर्नुपर्ने हो । सम्पूर्ण संगीतकर्मीहरु एक भएर लाग्नुपर्ने हो । त्यसका लागि सबै एकजुट हुन आवश्यक छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु