इन्फा अवार्डलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने अभियानमा छौं – अध्यक्ष मोक्तान (अन्तर्वार्ता)

म्यूजिक खबर
प्रकाशित: १६ श्रावण २०८३, शनिबार २१:४३

काठमाडौं । उमेशराज मोक्तान बेलायतमा बसोबास गर्दै आएका नेपाली समुदायका सक्रिय समाजसेवी, आयोजक तथा नेपाली फिल्म क्षेत्रका प्रवर्द्धक हुन् । नेपालमा सरकारी वकिलका रूपमा सेवा गरेका मोक्तान सन् १९९६ को सेप्टेम्बरमा बेलायत पुगेका हुन् । त्यहाँ पुगेपछि उनले विभिन्न सामाजिक, सांस्कृतिक तथा व्यावसायिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । उनी संसारकै पुरानो नेपाली सामाजिक संस्था यती नेपाली एसोसिएसन यूकेका दुई कार्यकाल अध्यक्ष रहिसकेका छन् । त्यस्तै, एनआरएनए यूकेका सदस्य तथा दुई कार्यकाल सल्लाहकार, धरान समाज यूकेका संस्थापक एवं अध्यक्ष, कोकोमेन्दो तामाङ समाज यूकेका संस्थापक तथा अध्यक्षका रूपमा पनि उनले काम गरेका छन् । सन् १९९८ देखि नेपाली कलाकार संघ यूकेसँग आबद्ध मोक्तानले तीन वर्ष महासचिव र करिब ११ वर्ष अध्यक्षको जिम्मेवारी सम्हाले । बेलायतको लेबर पार्टीमा पनि करिब एक दशक सक्रिय रहेर काम गरेका उनी कोभिड–१९ महामारीका बेला फ्रन्टलाइनमा रहेर समुदायका लागि सेवा गर्ने ‘कम्युनिटी च्याम्पियन’ का रूपमा परिचित छन् । हाल विभिन्न संस्थामा सल्लाहकारको भूमिका निर्वाह गरिरहेका मोक्तान अहिले भने इन्फा अवार्डलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने अभियानमा केन्द्रित छन् । लण्डनमा पहिलो तथा दोस्रो इन्फा अवार्ड्सको सफल आयोजनापछि यही साउन ३० गते काठमाडौंमा तेस्रो इन्फा अवार्ड्सको आयोजना हुँदैछ । इन्फा इभेन्ट्स यूके लिमिटेड तथा इन्फा नेपाल लिमिटेड (इन्फा इभेन्ट्स नेपाल) ले आयोजना गर्ने तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा–२०२६) समारोहका लागि आगामी साता बेलायतबाट काठमाडौं आउन लागेका अध्यक्ष मोक्तानसंग गरिएको छ कुराकानीको सम्पादित अंशः

यहाँलाई नेपाली फिल्म क्षेत्रका लागि केही गरौँ भन्ने सोच कसरी आयो ?

म आफैँ कलाकार होइन । तर नेपाली फिल्मप्रति सधैँदेखि रुचि थियो । नेपाली मात्र होइन, अन्य देशका फिल्म पनि हेर्ने बानी थियो । सन् १९९८ मा नेपाली कलाकार संघ यूकेको महासचिव भएपछि नेपाली कलाकारहरूलाई बेलायतमा ल्याएर सांस्कृतिक कार्यक्रम आयोजना गर्ने अवसर प्राप्त भयो । त्यसपछि विभिन्न कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्न थाल्यौँ । पछि म ११ वर्षसम्म कलाकार संघ यूकेको अध्यक्ष पनि भएँ । महासचिव र अध्यक्षको जिम्मेवारी जोड्दा करिब १४ वर्ष कलाकार संघसँग आवद्ध भएर काम गर्ने अवसर मिल्यो । त्यो अवधिमा नेपालका धेरै कलाकार, विशेष गरी गायक–गायिकाहरूलाई बेलायत ल्याएर कार्यक्रम गरायौँ । नेपाली फिल्म क्षेत्रका कलाकारहरू पनि नृत्य तथा सांस्कृतिक प्रस्तुतिका लागि आउनु हुन्थ्यो । झरना थापा, श्रीकृष्ण श्रेष्ठलगायत धेरै कलाकारलाई बेलायतमा कार्यक्रम गराएका छौँ । कार्यक्रम गर्दै जाँदा त्यसप्रति झन् रुचि बढ्दै गयो । वर्षमा दुई वटा कार्यक्रम नियमित रूपमा आयोजना हुन्थ्यो । बेलायतका चार ठूला सहरमा नेपालबाट कलाकार ल्याएर नेपाली समुदायमाझ सांस्कृतिक कार्यक्रम सञ्चालन गर्थ्यौँ । फिल्मतर्फ पनि हाम्रो रुचि उत्तिकै थियो । त्यतिबेला बेलायतमा नेपाली फिल्म प्रदर्शन गर्ने चलन निकै कम थियो । प्रकाश थापा दाइले कहिलेकाहीँ नेपाली फिल्म ल्याएर प्रदर्शन गर्नु हुन्थ्यो, हामी पनि हेर्न जान्थ्यौँ । तर मेरो बुझाइमा बेलायतको सिनेमा हलमै नेपाली फिल्मको प्रिमियर शो आयोजना गर्ने पहिलो संस्था नेपाली कलाकार संघ यूके नै हो । हामीले राजेश हमाल अभिनित फिल्म ‘पूजा’ नेपालमा प्रदर्शन हुनुअघि नै बेलायतको हलमा राजदूतसहित विशिष्ट व्यक्तिहरूको उपस्थितिमा प्रिमियर गरेका थियौँ । सामान्यतया नेपालमा प्रदर्शन भएपछि मात्र विदेशमा फिल्म देखाइन्थ्यो, तर हामीले त्यो परम्परा तोडेका थियौँ ।

इन्फा अवार्ड समारोह आयोजना गर्ने योजना चाहिँ कसरी बन्यो ?

त्यतिबेला बेलायतका हलहरूमा हिन्दी फिल्महरू नियमित रूपमा लाग्थे र नेपालीहरू पनि ती फिल्म हेर्न जान्थे । नेपाली फिल्मको भने त्यति ठूलो बजार थिएन । त्यसका बाबजुद मैले बेलायतमा नेपाली फिल्म प्रदर्शन गर्ने प्रयास निरन्तर गरिरहेँ । प्रारम्भमा हलमा सम्भव नभएकाले विभिन्न कार्यक्रमस्थलमा नेपाली फिल्म प्रदर्शन गरिन्थ्यो । साथीभाइहरूको आग्रहमा फिल्म देखाउने काम हुन्थ्यो । अन्य व्यक्तिहरूले पनि नेपालबाट फिल्म ल्याउनु हुन्थ्यो र लण्डनमा प्रदर्शनका लागि मलाई नै सहयोग माग्नु हुन्थ्यो । मैले पनि सक्दो सहयोग गरेर नेपाली फिल्म प्रदर्शन गराउन साथ दिएँ । पछि विस्तारै बेलायतका विभिन्न सिनेमा हलहरूमा नेपाली फिल्म प्रदर्शन हुने वातावरण बन्यो । धेरै साथीहरूले त्यसका लागि मेहनत गर्नु भयो । त्यसलाई म नेपाली फिल्मका लागि सकारात्मक उपलब्धि मान्छु । हामी आफैँ फिल्म हेर्न जान्थ्यौँ । साथै अन्य नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई पनि सामाजिक सञ्जाल, फोन तथा व्यक्तिगत सम्पर्कमार्फत नेपाली फिल्म हेर्न आग्रह गर्थ्यौँ । नेपाली फिल्म सिनेमा हलसम्म पुग्नुपर्छ, दर्शकले हेर्नुपर्छ र राम्रो फिल्म विदेशसम्म पुग्नुपर्छ भन्ने भावना थियो । हामीले राम्रा र स्तरिय नेपाली फिल्म विदेशमा नियमित रूपमा प्रदर्शन गर्न सके नेपाली फिल्म उद्योगलाई आर्थिक तथा अन्तर्राष्ट्रिय दुवै हिसाबले सहयोग पुग्ने विश्वास थियो । यही सोचले पछि इन्फा अवार्डको आधार तयार गर्यो । प्राम्भमा भने इन्फा अवार्ड आयोजना गर्ने कुनै योजना थिएन । म हिन्दी फिल्मका अवार्ड समारोह र हलिउडका प्रतिष्ठित अवार्ड कार्यक्रमहरू हेर्थेँ । त्यसपछि साथी विकास देवकोटाले बेलायतमा सञ्चालन गरिरहेको ‘थर्ड आई फिल्म फेस्टिभल’ मा म करिब दुई वर्ष आवबद्ध भएँ । कार्यक्रमलाई अझ स्तरीय बनाउने विषयमा हाम्रो सोच मिलेन । साथीले पर्याप्त छलफल नगरी एकल निर्णय लिने शैली अपनाउनु भयो । त्यसैले कार्यक्रमको करिब ५०–६० प्रतिशत तयारी सकिँदासम्म पनि अन्तिम समयमा मैले उक्त फेस्टिभल छोड्ने निर्णय गरेँ । त्यसपछि मैले साथीहरूसँग ‘अझ राम्रो कार्यक्रम गर्न सक्छु’ भन्ने आत्मविश्वासका साथ नयाँ अवार्ड समारोह गर्ने योजना बनाएँ । करिब तीन महिनाभित्र नयाँ अवधारणासहित कार्यक्रम प्राम्भ गर्ने निर्णय गरियो । व्यक्तिगत रूपमा भन्दा संस्थागत रूपमा आयोजना गर्नु उपयुक्त हुने ठानेर यती नेपाली एसोसिएसन यूकेका तत्कालीन महासचिव टङ्क भट्टराईसँग छलफल गरेँ । कार्यसमितिबाट प्रस्ताव पारित भएपछि संस्थाकै आयोजनामा बेलायतमा पहिलो इन्फा अवार्ड भव्य रूपमा सम्पन्न भयो । यसैले म नेपाली फिल्मलाई अत्यन्त माया गर्छु र सकेसम्म यस क्षेत्रलाई सहयोग गर्ने प्रयास निरन्तर गरिरहेको छु ।

पहिलो र दोस्रो इन्फा अवार्डको आयोजना कस्तो रह्यो ?

पहिलो र दोस्रो दुवै इन्फा अवार्ड अत्यन्तै भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न भए । कार्यक्रम सञ्चालन पनि निकै सहज भयो । त्यसमा धेरै साथीभाइ, स्वयंसेवक तथा सहयोगीहरूको ठूलो साथ रह्यो । हामीले बेलायतमा पनि यति ठूलो र स्तरीय नेपाली फिल्म सम्बन्धी कार्यक्रम आयोजना गर्न सकिँदो रहेछ भन्ने सकारात्मक सन्देश दिन सफल भयौँ । पहिलो संस्करण सफल भएपछि दोस्रो संस्करण झन् उत्कृष्ट बन्यो । कलाकारहरूको सहभागिता पनि उल्लेखनीय रूपमा बढ्यो । मेरो विचारमा बेलायतमा अहिलेसम्म यति धेरै नेपाली फिल्मकर्मी तथा कलाकारहरूलाई एउटै मञ्चमा उभ्याएर सम्पन्न गरिएको कार्यक्रम इन्फा अवार्ड नै हो । यही सफलताले हामीलाई अझ ठूलो सपना देखाउने हौसला दियो । अब तेस्रो संस्करणलाई अझ भव्य र अन्तर्राष्ट्रिय स्तरको बनाउने उद्देश्यका साथ हामी नेपाल आउँदैछौँ ।

अघिल्ला दुई संस्करणबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

पहिलो र दोस्रो संस्करणबाट हामी अत्यन्त सन्तुष्ट छौँ । कार्यक्रम सफल हुनुको सबैभन्दा ठूलो कारण कलाकारहरूको विश्वास, नेपाली समुदायको साथ र आयोजक टोलीको अथक मेहनत हो । कार्यक्रम सम्पन्न भएपछि धेरै कलाकार तथा सहभागीहरूले सकारात्मक प्रतिक्रिया दिनुभयो । उहाँहरूले इन्फा अवार्डलाई स्तरीय र व्यवस्थित कार्यक्रमका रूपमा मूल्याङ्कन गर्नुभयो । यही विश्वासले हामीलाई यसलाई बेलायतमा मात्र सीमित नराखी अन्तर्राष्ट्रिय रूपमा विस्तार गर्ने आत्मविश्वास दिएको छ ।

पहिलो पटक नेपालमा आयोजना हुन लागेको तेस्रो इन्फा अवार्डबाट कत्तिको आशावादी हुनुहुन्छ ?

हामी निकै आशावादी छौँ । बेलायतमा पहिलो र दोस्रो संस्करण अत्यन्त सफल भएपछि इन्फा अवार्डलाई विश्वव्यापी बनाउने सोच आयो ।
भारतमा ‘आईफा अवार्ड’ जस्तै एउटा अन्तर्राष्ट्रिय पहिचान भएको अवार्ड नेपाली फिल्म क्षेत्रका लागि पनि हुनुपर्छ भन्ने हाम्रो चाहना हो । नेपालमा विभिन्न अवार्ड कार्यक्रम भइरहेका छन्, विदेशमा पनि हुने गरेका छन् । तर बेलायतमा आयोजना गरिएको इन्फा अवार्डबारे कलाकारहरूले नै ‘यो राम्रो र स्तरीय कार्यक्रम हो’ भनेर खुलेर प्रशंसा गर्नु भएको छ । त्यो हाम्रो लागि ठूलो उपलब्धि हो । यही सकारात्मक प्रतिक्रियाले हामीलाई ‘अब इन्फा अवार्डलाई बेलायतमा मात्र सीमित नराखी संसारका विभिन्न देशमा लैजानुपर्छ’ भन्ने सोचमा पुर्यायो । त्यसैको पहिलो कदमस्वरूप यसपटक हामी नेपाल आएका हौँ । नेपालमा इन्फा अवार्ड आयोजना गर्नुको अर्को महत्त्वपूर्ण कारण यहाँका दर्शक र सञ्चार माध्यम हुन् । सामाजिक सञ्जाल वा भिडियोमा हेर्नुभन्दा प्रत्यक्ष रूपमा कार्यक्रम देख्न पाउँदा फरक अनुभव हुन्छ । नेपालका पत्रकारहरूले कार्यक्रम प्रत्यक्ष अवलोकन गरेर आफ्नो दृष्टिकोणबाट समाचार, समीक्षा र विश्लेषण प्रकाशित गर्नुभयो भने इन्फा अवार्डको विश्वसनीयता र पहिचान अझ व्यापक रूपमा स्थापित हुन्छ भन्ने हाम्रो विश्वास छ । हामीले इन्फा अवार्डलाई भविष्यमा अन्य देशहरूमा पनि विस्तार गर्ने लक्ष्य राखेका छौँ। त्यसका लागि नेपालबाट सुरु गर्नु सबैभन्दा उपयुक्त ठान्यौँ । त्यसमाथि, नेपाली फिल्म उद्योगको केन्द्र काठमाडौंमै यो कार्यक्रम आयोजना गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो । कलाकार साथीहरूले पनि ‘हामी आउँछौँ, आवश्यक सहयोग गर्छौँ’ भनेर उत्साहजनक साथ दिनुभएको छ । उहाँहरूको साथ, सुझाव र विश्वासले हामीलाई यो कार्यक्रम सफल हुनेमा अझ धेरै आशावादी बनाएको छ ।

विगतका दुई अवार्डभन्दा यसपटक के–के कुरा विशेष र फरक हुनेछन् ?

यसपटक धेरै नयाँ कुरा छन् । बेलायतमा आयोजना गरिएका अघिल्ला संस्करणहरूमा हामीले प्रत्यक्ष प्रसारण गरेका थिएनौँ । कार्यक्रमको सम्पूर्ण भिडियो हाम्रो प्राविधिक टोलीले रेकर्ड गरेर पछि सम्पादन गरी युट्युब र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने गरेका थियौँ । तर यसपटक नेपालमा आयोजना हुने इन्फा अवार्ड प्रत्यक्ष प्रसारण हुनेछ । यसका लागि हामीले मिडियासँग औपचारिक सहमति गरिसकेका छौँ ।
यसको अर्थ, कार्यक्रमस्थलमा उपस्थित हुन नसक्ने दर्शकले पनि घरमै बसेर प्रत्यक्ष प्रसारणमार्फत सम्पूर्ण समारोह हेर्न सक्नेछन् । यसले इन्फा अवार्डको पहुँच धेरै गुणा बढाउने छ । अर्को महत्त्वपूर्ण विशेषता भनेको कलाकारहरूको सहभागिता हो । सम्भवतः नेपाली फिल्म उद्योगका धेरैभन्दा धेरै अग्रपङ्क्तिका कलाकारहरू एउटै मञ्चमा देखिने छन् । सामान्यतया कलाकारहरू आफ्नै फिल्मको छायांकन, विदेश भ्रमण वा अन्य व्यस्तताका कारण एउटै कार्यक्रममा सबैलाई उपस्थित गराउन निकै कठिन हुन्छ । तर इन्फा अवार्डका लागि धेरै कलाकारहरूले आफ्नो तालिका मिलाएर कार्यक्रममा सहभागी हुने प्रतिवद्धता जनाउनु भएको छ । म पूर्ण आत्मविश्वासका साथ भन्न सक्छु–यसपटकको इन्फा अवार्डमा नेपाली फिल्म क्षेत्रका धेरै प्रतिष्ठित कलाकारहरूको उल्लेखनीय उपस्थिति रहने छ । उहाँहरूको सहभागिताले मात्रै पनि यो कार्यक्रमलाई अझ विशेष, भव्य र ऐतिहासिक बनाउने छ ।

यो समारोहले नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा कस्तो योगदान दिएको अनुभव गर्नु भएको छ ?

यस्ता कार्यक्रमहरूले नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा कति ठूलो योगदान पुर्‍याउँछन् भन्ने कुरा धेरै व्याख्या गरिरहनै पर्दैन । जब हामी एउटा नेपाली फिल्म बेलायत, अमेरिका, अस्ट्रेलिया, हङकङ वा अन्य देशमा प्रदर्शन गर्छौँ, त्यहाँ बस्ने नेपालीहरूले आफ्नो भाषा र संस्कृतिसँग जोडिने अवसर पाउँछन् । यसले फिल्म उद्योगलाई आर्थिक रूपमा मात्रै होइन, अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्छ । अहिले विदेशका सिनेमा हलहरूमा नेपाली फिल्म नियमित रूपमा प्रदर्शन हुन थालेका छन् । यसले नेपाली समुदायका साथै विदेशी तथा भारतीय दर्शकले समेत नेपाली फिल्मबारे जान्ने अवसर पाएका छन् । बेलायतमा विगत दुई वर्षदेखि निरन्तर आयोजना हुँदै आएको इन्फा अवार्ड, साथै अमेरिका, अस्ट्रेलिया, हङकङलगायत विभिन्न देशमा हुने यस्ता कार्यक्रमहरूले नेपाली फिल्मको बजार विस्तार गर्न र विश्वव्यापी पहिचान बनाउन ठूलो योगदान दिएका छन् । नेपालका वरिष्ठ तथा चर्चित कलाकारहरू एउटै अन्तर्राष्ट्रिय मञ्चमा उपस्थित भएर सम्मानित हुनु आफैँमा गौरवको विषय हो । अवार्ड पाउनु वा नपाउनु एउटा पक्ष हो, तर यस्ता कार्यक्रमले फिल्मकर्मीलाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्ने, नयाँ अवसर सिर्जना गर्ने र नेपाली फिल्म उद्योगलाई सकारात्मक ऊर्जा दिने काम गर्छ । त्यसैले यस्ता कार्यक्रम नेपाली फिल्म उद्योगका लागि अत्यन्त फलदायी छन् भन्नेमा कुनै दुई मत छैन ।

काठमाडौंमा आयोजना हुने तेस्रो संस्करणको इन्फा अवार्डका बारेमा फिल्मकर्मी तथा कलाकारबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

हामीले कलाकार तथा फिल्मकर्मीबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाएका छौँ । सामाजिक सञ्जालमा इन्फा अवार्डबारे जानकारी सार्वजनिक गरेपछि धेरै कलाकारहरूले आफैँ फोन गरेर वा सन्देश पठाएर शुभकामना दिनुहुन्छ। कतिपय कलाकारलाई हामी आफैँले पनि सम्पर्क गर्छौँ । हामी उहाँहरूलाई यो कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै, ‘तपाईंहरूको उपस्थिति नै हाम्रो लागि सबैभन्दा ठूलो सम्मान हो’ भनेर आग्रह गर्छौँ । धेरै कलाकारहरूको जवाफ एउटै हुन्छ– ‘हामी अवश्य आउँछौँ, शतप्रतिशत आउँछौँ ।’ उहाँहरूलाई थाहा छ कि इन्फा अवार्ड कुनै सामान्य कार्यक्रम होइन । यो एउटा स्तरीय र व्यवस्थित अन्तर्राष्ट्रिय अवार्ड समारोह हो । त्यसैले यस्तो कार्यक्रममा सहभागी हुनु कलाकारहरूका लागि पनि सम्मानको विषय हो । अर्को महत्त्वपूर्ण कुरा आयोजकप्रतिको विश्वास हो । कलाकारहरू संसारभर विभिन्न कार्यक्रममा जानुहुन्छ । कतिपय ठाउँमा आयोजकको व्यवहार वा व्यवस्थापनका कारण नराम्रो अनुभव पनि भएको हुन्छ । त्यसैले सुरुमा उहाँहरूमा केही जिज्ञासा हुनु स्वाभाविक हो । तर विगत दुई वर्षमा बेलायतमा आयोजना गरिएका इन्फा अवार्डमा सहभागी भएका करिब ६०–७० जना कलाकारहरूले हामीलाई नजिकबाट चिन्नु भएको छ । हामी कार्यक्रम मात्र राम्रो बनाउने होइन, कलाकारहरूसँग राम्रो सम्बन्ध, सम्मानपूर्ण व्यवहार र आत्मीयता कायम राख्न पनि उत्तिकै ध्यान दिन्छौँ । कार्यक्रम सम्पन्न भएपछि पनि हामी कलाकारहरूसँग निरन्तर सम्पर्कमा रहन्छौँ । अहिलेसम्म कुनै पनि कलाकारले ‘इन्फा अवार्ड राम्रो छैन’ वा ‘त्यहाँका आयोजक राम्रो छैनन्’ भन्ने प्रतिक्रिया दिनुभएको छैन । बरु अधिकांश कलाकारहरूले ‘इन्फा अवार्ड व्यवस्थित छ, आयोजकहरू सहयोगी छन्, आत्मीय व्यवहार गर्नुहुन्छ’ भन्ने प्रतिक्रिया दिनुभएको छ । हामीले यही विश्वासलाई आफ्नो सबैभन्दा ठूलो उपलब्धि मानेका छौँ । धेरै कलाकारहरूले पनि जसरी भए पनि कार्यक्रममा आउने वाचा गर्नुभएको छ । त्यसैले हामी कलाकारहरूबाट यसपटक पनि भरपूर साथ र सहयोग पाउनेमा विश्वस्त छौँ। उहाँहरूको माया, विश्वास र उपस्थितिप्रति हामी हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ ।

अन्त्यमा केही भन्न चाहनु हुन्छ ?

सबैभन्दा पहिले, नेपालमा पहिलो पटक आयोजना हुन लागेको इन्फा अवार्डलाई भव्य, सभ्य र सफल बनाउन हामी सम्पूर्ण तयारीका साथ आउँदैछौँ । हामी अगस्ट ५ को साँझ हाम्रो टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ । बेलायतबाट हाम्रो ठूलो टोली नेपाल आउँदै छ । यो कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी संस्था, प्रायोजक, पत्रकार मित्र तथा शुभेच्छुकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । दर्शकहरूलाई पनि कार्यक्रममा उपस्थित भएर नेपाली फिल्म उद्योगको यो अन्तर्राष्ट्रिय अभियानलाई साथ दिन हार्दिक अनुरोध गर्दछु । विशेष रूपमा सम्पूर्ण नेपाली कलाकार तथा फिल्मकर्मीलाई इन्फा यूके र इन्फा नेपालका तर्फबाट यो कार्यक्रममा सहभागी भई समारोहको गरिमा र शोभा बढाइदिन हार्दिक निमन्त्रणा गर्दछु । धन्यवाद ! नमस्कार !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु