संचारकर्मी मित्रहरुमा आग्रह – रबिन्द्र खड्का

म्यूजिक खबर
प्रकाशित: १ भाद्र २०७७, सोमबार

काठमाडौँ – रजतपट कार्यक्रममा नायिकाहरुलाई लक्षित गरेर आएको टिप्पणी सन्दर्भमा विभिन्न सरकारी र गैर सरकारी निकाय एवं एपी वान टेलिभिजनमा नायिका पुजा शर्माले आवश्यक छानविनका लागि निवेदन दिनु भएको सर्वविदितै छ । त्यसै सन्दर्भमा चलचित्र क्षेत्रका विभिन्न ७ वटा संस्थाहरुको ध्यान आकृष्ट भई वक्तब्य समेत आएको थियो । सोही वक्तब्यमा उल्लेख गरिएको ‘‘सहभागिता नजनाउने’’ कुरालाई लिएर सामाजिक संजालमा विभिन्न धारणाहरु आएको र संचारकर्मी एवं चलचित्रकर्मी विच असमझदारी उत्पन्न हुने देखिएकाले ७ वटै संस्थाहरुको उक्त बक्तव्यको आशय प्रष्ट पार्न नेपाल चलचित्र कलाकार संघको अध्यक्षको हैषियतले केही कुरा उल्लेख गर्ने जमर्को गरेको छु ।

वर्गिय संस्था भएकाले वर्गको हक हित एवं उत्थानमा क्रियाशिल हुनु संस्थागत धर्म हो । सदस्यले आफुलाई परेको मर्का र उत्पिडनमा संम्बन्धित पेशागत संस्थामा निवेदन दिनु सदस्यको अधिकार हो । बर्गको समस्या भएकाले पेशागत संस्थाहरुले न्यायका लागि एक्यबद्धता जनाएका हुन् । यो एक्यवद्धता कुनै व्यक्ति विशेष र संचारकर्मी विरुद्ध नभइ हाल विकाश भैरहेको प्रवृतीको विरुद्धमा, प्रवृतीलाई निरुत्साहित गर्न भएको हो भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु ।

जहाँ सम्म कार्यक्रममा ‘‘सहभागिता नजनाउनु हुन’’ भन्ने शब्द प्रयोग भएको छ । त्यो वहिष्कारको आब्हान हैन, आफ्ना सदस्यहरुलाई अनुरोध गरिएको मात्र हो । संचारकर्मीसंगको सम्बन्धमा दरार ल्याउन र सम्बन्ध विगार्न त्यो शब्द प्रयोग भएको होइन । चलचित्र क्षेत्रका संचारकर्मी र चलचित्रकर्मी एक अर्काका पुरक हुन् । एक नभइ अर्कोको अस्तित्व रहदैन भन्ने हाम्रो मान्यता छ । वक्तव्यमा ‘‘सहभागिता नजाउन हुन अनुरोध’’ भन्ने वाक्याम्सलाई अन्यथा अर्थ नलगाइ दिनहुन म सम्पूर्ण संचारकर्मी मित्रहरुमा अनुरोध गर्दछु । अन्यथा बुझिएको प्रति हामी चिन्तित एवं दुखित छौं । यहि कुरालाई लिएर अन्यथा नलिदिनुहुन र भ्रममा नपर्न पनि म सबैमा निवेदन गर्दछु।

यसै सन्दर्भमा मिति २०७७ साल श्रावण ३२ गते रविवार अन्नपुर्ण ग्रुपका अध्यक्ष क्याप्टेन श्री रामेश्वर थापा, उपाध्यक्ष श्री राजेन्द्र शाक्य (डिजेन्द्र) ,एपी वानका श्री बलराम उप्रेती र बीच हामी श्री रविन्द्र खड्का अध्यक्ष – नेपाल चलचित्र कलाकार संघ, श्री मधुशुदन प्रधान अध्यक्ष – नेपाल चलचित्र संघ, श्री आकाश अधिकारी अध्यक्ष – नेपाल चलचित्र निर्माता संघ, श्री पुष्कर लामा अध्यक्ष – चलचित्र प्राविधिक संघ, श्री जनक कार्की का.बा. अध्यक्ष – चलचित्र नृत्य संघ, श्री शान्तिप्रिय पुर्ब अध्यक्ष – चलचित्र पत्रकार संघ नेपाल, श्री मोहन निरौंला उपाध्यक्ष तथा प्रवक्ता – नेपाल चलचित्र कलाकार संघ, श्री अर्जुन पोखरेल उपाध्यक्ष – चलचित्र प्राविधिक संघ, श्री रामेश्वर बुर्लाकोटी कार्यसमिति सदस्य – नेपाल चलचित्र कलाकार संघ र नायिका श्री पूजा शर्मा, निर्माता/निर्देशक श्री सुदर्शन थापा बिच अन्नपूर्ण ग्रुपको कार्यालयमा छलफल भयो । यो छलफलको संयोजन अधिवक्ता श्री रामकृष्ण हुमागाईले गर्नु भएको थियो। हाल देखा परिरहेको प्रवृतिलाई निरुत्साहित गर्न र समाधानको बाटो तर्फ उन्मुख हुन अत्यन्तै सकारात्मक सोचका साथ छलफल भएकोमा अन्नपूर्ण ग्रुपका अध्यक्ष कलाप्रेमी,समाजसेवी क्याप्टेन श्री रामेस्वर थापा, उपाध्यक्ष, वरिष्ठ चलचित्रकर्मी श्री राजेन्द्र शाक्य ( दिजेन्द्र) लगायत सहभागी तथा सम्पूर्ण शुभ चिन्तक मित्रहरू प्रती हार्दिक आभार प्रकट गर्दै,सम्पूर्ण सन्चारकर्मी तथा चलचित्रकर्मी,शुभचिन्तक मित्रहरूमा बिनम्रतापुर्वक यो जानकारी गराउदछु, सन्चारकर्मी र चलचित्रकर्मीको सम्बन्ध प्रगाढ र अमर बनोस्। सवैको कल्याण होस।

रविन्द्र खड्का
केन्द्रिय अध्यक्ष
नेपाल चलचित्र कलाकार संघ (FAAN)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु