शत्रुका लागि डरलाग्दो र सदस्यका लागि भरलाग्दो बनाउने छु

म्यूजिक खबर
प्रकाशित: ३२ असार २०७५, सोमबार

राजेन्द्रकुमार कार्की, अध्यक्ष, राष्ट्रिय संगीतकर्मी संघ

रामेछाप जिल्लामा जन्मिएर नेपाली गीतसंगीत क्षेत्रमा लाग्नुभएका राजेन्द्रकुमार कार्की यतिखेर संगीतकर्मी संघमा महाधिवेशनबाट अध्यक्षमा विजयी भएर आएका छन् । दमौलीमा गेट, पापी संसार, हल्ला चल्या छ, फिरफिरेको दाई, साथमा फोटो छ, मायाले बुनेको चोयाको डोको, रुमाल फाटेनी, संसार सारामा, मन परेको फूल लगायत चार दर्जन भन्दा बढी गीत सिर्जना एवं स्वर दिएनुभएका कार्की अलि फरक धारमा प्रस्तुत हुने गर्नुहुन्छ । गीतसंगीतको क्षेत्रमा आफूलाई समर्पित गर्दै कलाकर्मीको हक अधिकारका लागि लड्न सदैव तयार रहनुभएका कार्कीसँग म्यूजिक खबरका लागि सुमन बैरागीले गरेको कुराकानीः

संगीतकर्मीको चुनावपछि के के योजनामा हुनुहुन्छ ?
२०६२ सालमा गायक घमेश दुलालको नेतृत्वमा गठन भएको संगीतकर्मी संघ २२ दिने सांगीतिक आन्दोलनको नेतृत्व गरेको संस्था हो । घमेश दुलाल, रेशम थापा र नवराज घोरासैनी हुँदै चौथो महाधिवेशनबाट करिब ८ सय पूर्व मेचीदेखि पश्चिम मकाहालीसम्मका सदस्यबाट मलाई सर्वसम्मत अध्यक्षको जिम्मेवारी दिइएको छ । नागरिक उड्डयन, पर्यटन एवं संस्कृति मन्त्री रविन्द्र अधिकारीमार्फत नेपाल सरकारलाई संगीत विकास बोर्डको गठन हुनुपर्ने माग राख्दै कलाकार राष्ट्रका अभिन्न अंगका रुपमा स्थापित गरिनुपर्छ भनेर ११ बुँदे माग बुझाएका छौं । जसमा रोयल्टीको व्यवस्थापन, कलाकारको उपचार एवं पालपोषण सम्बन्धमा सरकारबाट कल्याण्कारी कोष स्थापना गर्नुपर्ने मागहरु पनि हामीले राखेका छौं । अहिलेसम्म संगीतकर्मी संघको ३३ जिल्ला र ६ प्रदेशको अधिवेशन सम्पन्न गरिसकेका छौं । मेरो कार्यकालमा बाँकी रहेका सबै जिल्ला, अन्चल अधिवेशन, उपत्यका विशेष समिति बनाउने, वाद्यवादक, प्राविधिक र कलाकारको समिति गठन गर्ने, विदेश विभाग ब्यूरो गठन हुँदैछ । तिज र विजय दशमीमा विभिन्न कार्यक्रम गर्ने तयारी पनि भइरहेको छ । त्यस्तै मंसिरसम्म एउटा बृहत लोकदोहोरी प्रतियोगिता गर्ने योजनामा पनि जुटेका छौं ।

अध्यक्षमा चुनिएपछि अब संगीतकर्मीका लागि खासमा के गर्नुहुन्छ ?
मैले संघलाई कलाकारले चाहेजस्तो सबैको नजरमा विश्वासिलो संस्थाको रुपमा विकास गर्नेछु । हाम्रो संघ चुस्त दुरुस्त हुनुका साथै शत्रुका लागि डरलाग्दो र सदस्यका लागि भरलाग्दो बनाउने छु । त्यस्तै अरुले बाहिरबाट हेर्दा रहरलाग्दो संस्थाको रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।

संगीतकर्मी संघ र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा खासै फरक देखिँदैन नि ?
दोहोरी गीत प्रतिष्ठानसँग हाम्रा धेरै कुरा मिल्छन् होला । हाम्रा कतिपय अधिकार प्राप्तिका लागि सँगै मोर्चामा सहयात्रा गर्न पनि तयार छौं । तर संस्थाका आफ्नै योजना, लक्ष्य र उद्देश्य हुन्छन् । हाम्रो संस्थाले लोकदोहोरी, आधुनिक, चलचित्र, साहित्य प्राय सबै क्षेत्रका कलाकारलाई एकै ठाउँमा राख्न सक्छ । यो कला, संस्कृतिको क्षेत्रमा लागेका सम्पूर्णको छाता संगठन हो, सबै यहाँ गोलबन्द हुन अनुरोध गर्दछु ।

संगीतकर्मी संघलाई त विशेषगरी काठ क्षेत्रको संस्थाको रुपमा परिचित छ नि ? किन होला ?
यो अरोपका लागि आरोप हो । विरोधका लागि विरोध हो । विशेषगरी ३ नम्बर प्रदेशमा हाम्रो प्रकट भयो भन्दैमा यो संस्था काठको हुन सक्दैन । यो संस्थालाई पूर्वदेखि पश्चिमसम्म पु¥याउन म यो संस्थाको लागि निरन्तर लागिरहेको छु । अहिले पनि पश्चिम कालिकोट, सुर्खेत, कैलाली, दाङ, अर्घाखाँची, पाल्पा, गुल्मी, कपिलवस्तु, रुपन्देही, गोर्खा, स्याङ्जा लगायतका मेचीदेखि महाकालीका जिल्लाहरुमा अधिवेशन भएर प्रतिनिधि पनि चुनिएका छन् । अब भन्नुस अब यो संस्था कसरी काठ क्षेत्रको भयो ? भदौमा आँखा फुट्यो भने सधैं हरियो देख्छ भनेजस्तो कुरा मात्र हो । यो देशभरिका कलाकर्मीको अपनत्व भएको संस्था हो ।


सबै संघ संस्थाले हकअधिकारका कुरा गर्छन्, संस्था खुलेपछि अध्यक्ष हुन्छन् कार्यसमिति बन्छ अनि खासै केही नगरेरै कार्यकाल सकिने गर्छ, अब तपाईंले चाहिँ खास के गर्नुहुन्छ ?
कसले के ग¥यो, कुन संस्थाले के गर्दैछन् त्यो मलाई थाहा छैन । अनि म कुनै संस्थालाई आरोप पनि लाउँदिनँ । म भर्खर अध्यक्ष भएर आएको छु, धेरै कलाकर्मीको म प्रति आशा र भरोशा छ । म कलाकारको आशा मर्न दिन्नँ । म कलाकारको आशा मर्न दिन्नँ । अन्याय र अत्याचारमा परेका कलाकर्मीको हक अधिकार स्थापितको लागि सतिसाल भएर चट्टानी अडानको साथ उभिने छु । म धेरै बोल्दिनँ गरेर देखाउने छु । कुनै समस्या र अन्यायप्रति कलाकर्मीले राष्ट्रिय संगीतकर्मी संघलाई सम्झिए हुन्छ । हामी चौबिसै घन्टा हजुरहरुको लागि काम गर्न तयार छौं ।

पछिल्लो समयमा गीतसंगीतको क्षेत्रमा धेरै विकृति देखिएको छ, यसबारेमा संगीतकर्मी संघले के गर्छ ?
सांगीतिक क्षेत्रको विकृति र विसंगीतिको अन्त्य गर्दै समय सापेक्ष हाम्रो नेपाली कला संस्कृतिलाई असर नपर्ने गरी यो क्षेत्रको विकासमा हाम्रो नजर रहनेछ । यहाँ लोकगीत संगीतलाई नै नमान्ने र यो जसले गाउँदा नि हुन्छ भन्ने केही सुगम संगीत र फिल्मी क्षेत्रका बुर्जुवाहरु नि छन् । हाम्रो यसमा एक नम्बर खबरदारी रहनेछ । राजेन्द्र कुमार कार्कीको दमौलीमा गेट, बद्री पंगेनीको सुसुरालीमा चल्यो भनेर त्यही भाकामा अर्को गीत बनाउन वा रिमिक्स गर्न पाइनेछैन । कसैको मौलिक सिर्जनामा कसैले चोरेर आफू पपुलर हुन खोज्छ भने त्यसलाई संगीतकर्मी संघ किमार्थ छाड्ने छैन । साथै हामी फेमिली बसेर हेर्न नमिल्ने जुनसुकै गीत बनेपनि त्यस्ता गीत बन्द गर्न हामी आवश्यक पर्ने जुनसुकै निकायमा जानब तयारी छौं । यसर्थ सबै कुराको निराकरणको लागि अधिकार सम्पन्न सेन्सर सहितको संगीत विकास बोर्ड गठन हाम्रो आन्दोलन हो ।

अन्त्यमा ?
अन्त्यमा तपाईंको यो पपुलर पत्रिकामा मेरा र मेरो संस्थाको आम धारणाहरु पाठक, कलाकर्मी र शुभचिन्तकमा पठाउने अवसर दिनुभएकोमा यसको लागि तपाईं लगायत सम्पूर्ण म्यूजिकखबर टिमप्रति आभार प्रकट गर्दछु । चाहन्छु नेपाली सांगीतिक क्षेत्रले एउटा फड्को मार्न सक्ने अहिलेको अवस्थामा हामी कलाकर्मीहरु फुटेर हुन्न जुटेर अधिकार प्राप्तिमा लाग्नु पर्छ । हामी एउटै डुंगामा सयर गर्ने यात्री भएकोले अर्काको खुट्टा तानेर डुंगा पल्टाउने काम गर्नुहुन्न । त्यसैले एकजुट हुनुको विकल्प छैन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु