अनेकतामा एकता गाँस्दै सचिन रौनियार (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १४ पुष २०७५, शनिबार

सुमन पण्डित/म्यूजिकखबर


सचिन रौनियार, गायनका हिसाबले तीन दशक पार गरिसकेका गायक हुन् । २०४३ सालमा पहिलो एल्बम ‘सर्च’ बजारमा ल्याएका उनले १२ वटा एल्बम बजारमा ल्याइसकेका छन् । सर्चसँगै स्पर्श, नशा, सारेगम लगायतका एक दर्जन एल्बम उनका चर्चित एल्बममा पर्छन् । छ भनौ कि छैन भनौं, यो वनमा छैन क्यारे न्याउली कराउँदिन ए कान्छी, ए माया कहाँ छौ कहाँ, झन् झन् बढ्यो याद तिम्रो, आफ्नो मान्छे लगायतका उनका चर्चित गीतले सचिन रौनियारको नाम बजारमा स्थापित गराएको हो ।

उनको गीतले अघिल्लो पुस्तादेखि पछिल्लो पुस्तासम्म जोड्न सफल भएको छ । निरन्तर गायनमा आइरहेका उनलाई १२ वर्षको बीचमा भने स्रोताहरुले खासै सुन्न पाएनन् । गीतसंगीत निरन्तर रेकर्ड भइरहे तर स्रोताको मन जित्ने खालको नभएको बताउँदै उनले बजारमा आउन चाहेनन् । आफूलाई नै आत्मसन्तुष्टि नभएपछि बजारमा गीतको चर्चा नगरेका सचिनले लामो समयको अन्तरालमा ए मान्छे लिएर आएका हुन् । पछिल्लो ट्रेन्डसँगै उनले बजारमा ल्याएको गीत हो ‘ए मान्छे’ । डिजिटल बजारमा आएपछि एल्बमभन्दा पनि एउटा गीत तर सबैको मनमा बस्न सक्ने भएर देखिनु पर्ने रहेछ उनले म्यूजिक खबरको कुराकानीमा भने– ‘गीत त सुन्ने भन्दा पनि हेर्ने बनिसकेको रहेछ, त्यसैले कलाको पक्षलाई जतिसक्दो राम्रो बनाउनका लागि दौडिरहेँ ।’

डिजिटल युगमा प्रवेश गर्दै गर्दा समयको पर्खाइले नै यो ग्याप भयो । म संगीतबाट टाढा त थिइन् तर नयाँ गीतको साथ् आउँन पनि सकिन, उनले भने– ‘केहि नयाँ गर्ने सोच्दा सोच्दै समय वितेको पत्तै पाइदो रहेनछ । १२ वर्ष भइसकेछ ।’ यसपटक नयाँ परिवेश, प्रविधिमा काम गर्दा फरक र रमाइलो अनुभूति भएको उनले बताए । आफुलाई अपडेट गराउने अवसर पाए । पप लोक फ्युजन शैलीको गीत तयार पार्न झन्डै मलाइ ९ महिना लाग्यो । मेरो गीतमा रमाइलो सँगै सन्देश पनि होस् र समसामयिक पनि होस् भन्ने चाहना थियो । यसैले गर्दा विना सम्झौता गीत तयार गरेको छु, उनले भने ।
ए मान्छे गीतमा मनोरन्जनसँगै अनेकतामा एकताको सन्देश समेत दिने कोषिश गरेको सचिनले बताए । गीतको शब्द प्रकाश सापकोटाले लेखेका हुन् भने यसमा जितेन लेप्चाको संगीत रहेको छ । उनको स्वर सुहाउँदो संगीत र समाज सुहाउँदो शब्द बनेको कारण गीत उत्कृष्ट बनेको बताए । समाजले धेरै कोल्टे फेरेको रहेछ जुन मैले सोचिरहेको थिएँ त्यसैले पनि ए मान्छेमा कलाको पाटोलाई कुनै कन्जुस्याईं नगरिकन बजारमा ल्याएको हुँ, उनले भने ।
उनका अनुसार गीतको भिडियो दुई दिन लगाएर निर्माण गरिएको थियो । भिडियोमा सचिनसँगै गायकत्रय सञ्जय श्रेष्ठ, बबिन प्रधान र भिम तुलाधर पनि देखिएका छन् । सुव्रतराज आचार्यको निर्देशनमा तयार भएको गीतको भिडियोमा विभिन्न भाषाभाषीको एकतालाई प्रस्ट्याईएको छ । सुव्रतले निर्माणको क्रममा कुनै सम्झौता नगरेको बताएका छन् । भिडियोलाई गम्भीर बिष्टले कोरियोग्राफ गरेका छन् भने यसलाई उत्सव दाहाल र विजय बस्नेतले खिचेका हुन् । यसमा सम्पादन, भीएफएक्स र डीआइ भरत रेग्मीको रहेको छ ।

ए मान्छे बजारमा ल्याइसकेपछि आफूलाई अलि जवान भएको महसुस गरेका छन् सचिनले । एनलकबाट डिजिटलको जमानामा आउँदा मिडियाको सपोर्ट धेरै मिलेको छ । सबैतिर ए मान्छेको चर्चा एकातिर भइरहेको छ भने अर्कोतिर डिजिटल जमानामा मैले पाइला टेकिरहेको छु त्यसले पनि जवान भएको अनुभूति भयो । अलगधारको मान्छे भन्न रुचाउने गायक सचिनले भने– ‘१२ वर्षको अवधिमा धेरैले आर्थिक पक्षको हिसाबले सोधिरहे तर मैले आर्थिक पक्ष कहिल्यै सोचिनँ बरु गीतलाई कस्तो क्वालिटी दिने भन्नेमा सोचिरहेँ । आर्थिक पक्षलाई सोच्यो भने आफ्नो सिर्जना मर्छ त्यसैले कलाको पक्ष नै सफल भयो भने आर्थिक पक्ष आफैं सबल हुन्छ भन्ने विश्वास लाग्छ ।’ अहिले सबै मिडियामा, सबैको मुखमा झुन्डिने गीत बनेको छ ए मान्छे । वर्तमान परिप्रेक्ष्यमा सबैतिर संक्रमणकाल छ, मानिसहरु आरोप प्रत्यारोपमा छन्, त्यसैले अनेकतामा एकता हुनुपर्छ, सबैको मन मिल्नुपर्छ बल्ल आर्थिक समृद्धिको नारालाई मुलुकले आत्मसात गर्न सक्नुपर्छ भन्ने सोचले गीतको पनि निर्माण भएको हो । सबैजना दौडिरहेको मात्र देख्छु, किन दौडिएका छौं अस्थिर मानसिकता बोकेर हामी केही गर्न सक्दैनौं भन्ने सन्देश गीतले दिएको छ । तर गीतमा भने हरेक जात जाति र भाषा भाषीको विवधतालाई सांस्कृतिक रुपमा एकतातर्फ उन्मुख गराइएको देखाइएको छ, उनले गीतका बारेमा सुनाए ।

पछिल्लो समयको गीतसंगीत वल्र्डवाइड भएको रहेछ । धेरैलाई सहज बनेको समय हाम्रा लागि अप्ठ्यारो स्थितिमा पुगिसकेको रहेछ । गीतसंगीत उद्योग विकास पनि भएको पाइयो भने आम्दानीको हिसाबले कमजोर पनि देखियो । समग्र उद्योग धेरै चुनौतिभित्र भएको पाएँ, उनले भने – ‘यहाँ बसेर विश्वको दर्शन गर्न सके पनि आर्थिक रुपमा हामी सबल बन्न सक्ने स्थिति भने छैन रहेछ । बाहिर आवरणमा धेरै सफल भए पनि भित्री रुपमा कमजोर स्थिति भोगेको उद्योग देखेँ मैले । यसका लागि हामीहरु मिलेर समयको सदुपयोग गर्न जरुरी देखेँ ।’

 

पुरानो सामग्री पढ्नका लागि तलको लिंक क्लिक गर्नुहोस्

ए मान्छे : १२ वर्षपछि फर्किए गायक सचिन रौनियार

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु