दुरुपयोग भन्ने काम मैले जिन्दगीमा गरेकै छैन

म्यूजिक खबर
प्रकाशित: ३० फाल्गुन २०७२, आईतवार

चेतन सापकोटा, संगीतकार/निर्माता


चैत ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र भाग सानी भागका निर्माता एवं संगीतकारसमेत रहेका चेतन सापकोटा आफूले चलचित्र उद्योगमा लागेर दुरुपयोग भन्ने काम कहिल्यै नगरेको बताउँछन् । एउटा मौलिक, एवं सामाजिक कथावस्तुमा निर्माण गरेको चलचित्र भन्न रुचाउँछन् भाग सानी भाग लाई । नवल नेपालको निर्देशन एवं पटकथामा निर्माण भएको चलचित्र भाग सानी भागलाई सापकोटा बाहेक विष्णु चापागाईं, सहदेव गौतम, विलोल पोखरेलको लगानी रहेको छ । प्रस्तुत छ, भाग सानी भाग चलचित्रको प्रदर्शनको क्रममा संगीतकार निर्माता चेतन सापकोटासँग म्यूजिक खबरले गरेको कुराकानीः

chetan sapkota

भाग सानी भाग अहिले कता भाग्दैछ ?
भाग सानी भाग अहिले पूर्व पश्चिमको यात्रा सकेर काठमाडौंतिर आइपुगेको छ । सबैतिर पब्लिसिटीको क्रममा प्रतिक्रिया पनि राम्रो आएको छ ।

चैत ५ पछि भाग्छ कि जाग्छ ?
आशा छ जाग्ने छ । चैत ५ मा रिलिजमा आइसकेपछि पक्कै पनि भाग सानी भागले स्याबासी पाउँछे भन्ने लागेको छ । अब के हुन्छ त्यसको प्रतिक्रिया दर्शकको हातमा छ ।

कस्तो चलचित्र बनेको छ भाग सानी भाग ?
मेरो कथा, नवल नेपालजीको पटकथा एवं निर्देशनमा बनेको यो चलचित्र एउटा मौलिक विषयवस्तुमा बनेको छ । यो अर्गानिक विषयवस्तुमा नै निर्माण भएको चलचित्र हो । ग्रामीण युवा युवतीको शहर मोहलाई मुख्य केन्द्रविन्दुमा राखेर निर्माण गरिएको छ । गाउँबाट पाइलट, इन्जिनियर, डाक्टर, गायक, संगीतकार विविध सपना बोकेर शहर पसेका हुन्छन् तिनै गाउँ छाडेर भाग्नेहरुको कथालाई हामीले प्रस्तुत गरेका छौं । गाउँको ब्ल्याक एण्ड ह्वाइट जिन्दगीदेखि वाक्क रहेर सपनाको शहर छिरेकाहरुको कथा हो । पक्कै पनि यसले दर्शकहरुको मन जित्ने आशा गरेका छौं ।

चलचित्र चलाउनका लागि अनेक फण्डा गरिन्छ नि ?
हो, चलचित्र चलाउन धेरै अनेक फण्डा अपनाएका हुन्छन् । कसैले नायक नायिकालाई प्रयोग गर्छन् । तर मैले नायक नायिकालाई दुरुपयोग गरेर फण्डा गर्न चाहिनँ । बरु केकी अधिकारीजस्तो बहिनी मैले जीवनमा पाएँ । ऊ इमान्दार, जिम्मेवार, समझदार स्रष्टा पाएँ । केकी जस्तो आमा मेरी आमाले दिनुभएको भए म धेरै खुशी हुने थिएँ । अरु निर्माता निर्देशकले नायिकासँग जोडेर चर्चा बटुल्न खोज्छन् तर मलाई सस्तो पब्लिसिटी आवश्यक छैन ।

तपाईं सिनेमालाई प्रयोग गरेर राजनीति गर्नुहुन्छ भन्ने आरोप छ नि ?
म त सिनेमाको सिपाही हुँ । म विकास बोर्ड, सेन्सर बोर्ड जहाँ गए नि राजनीतिको नाममा काम गरिनँ सिनेमाको विकास र विस्तारको लागि काम गरेँ । राजनीतिमा लागेर सिनेमाको लागि फाइदा हुन्छ भने म त्यो काम गर्छु तर राजनीतिमा सिनेमालाई प्रयोग गर्ने काम म गर्दिनँ । सिनेमा उद्योगमा म २० वर्षदेखि क्रियाशील छु ।

bhag sani bhag
चेतन सापकोटा चलखेल गर्ने संगीतकार भन्छन् नि ?
चलखेल केलाई भन्ने ? मान्छेलाई प्रयोग गर्नु दुरुपयोग नगर्नु भन्छन् नि, हो त्यो दुरुपयोग भन्ने काम मैले जिन्दगीमा गरेकै छैन । सदुपयोग गर्दा भाँती नपुग्नु आफ्नो ठाउँमा छ तर दुरुपयोग गरेर आफूलाई माथि लैजाने काम मबाट भएको छैन । कोही मान्छे त्यस्ता छन् भने आउँदा हुन्छ कि चेतन सापकोटाले ममाथि यस्तो ग¥यो भन्ने । आजसम्म मैले दुःख गरेर नै घर गाडी बनाएँ, परिवार खुशीसाथ राखेको छु भने मैले अब किन चलखेल गर्नुप¥यो ? तर मान्छे भनेको हर समय प्रगति गरिरहनुपर्छ । ठाटो बाठो देखिँदैमा चलखेल गर्छ भन्ने होइन र सोझो देखिँदैमा इमान्दार हुने पनि होइन । म एक्टिभ छु त्यत्ति हो ।

गीतसंगीत कस्तो बनेको छ ?
आइलभ यू भन्ने गीत यतिखेर चर्चामा छ । रामचन्द्र काफ्ले र जुनु रिजाल यतिखेर महोत्सवमा हुनुहुन्छ । देश दौडाहमा हुनुहुन्छ । उहाँहरु भन्नुहुन्छ महोत्सवमा गाउँ भन्यो अरुले नै डान्स गरिसक्छन् तर पनि गाएरै छोड्छौं । सधैं वान्स मोर हुन्छ । यो के भाको बोलको गीत अन्जु पन्त र राज सिग्देलको स्वरमा रहेको अर्को गीत जुन मेलोडी सङका रुपमा लिइएको छ । त्यस्तै स्मिता दाहाल र दीपक लिम्बुको आवाजमा रहेको प्रमोद ढुंगानाको शब्द रहेको गीत टाइटल ट्रयाक हो । जुन सपनाको शहरमा केटाकेटी भाग्ने क्रममा बज्ने गीत हो । गीतसंगीतका हिसाबले चलचित्र निकै नै मजबुत बनेको छ । संगीतकारले बनाएको फिल्म म्यूजिकल बन्नुपर्छ भन्ने सोच छ भने त्यो छैन तर अर्गानिक विषयवस्तुलाई मौलिकता पस्किएको चलचित्र भने भाग सानी भाग बनेको छ ।

chetan-nawal

भाग सानी भागको प्रमोशनमा लागेका निर्देशक नवल नेपाल र निर्माता चेतन सापकोटा

भाग सानी भाग हेर्न किन आउने ?
नेपालमा दर्शकहरुले मन पराउने विषयवस्तु भएको चलचित्र औंलामा गनिने मात्र बने । भाग सानी भाग एउटा गाउँदेखि शहरसम्मको मौलिक एवं सामाजिक विषयवस्तुभित्र बनेको चलचित्र हो । पछिल्लो समय कबड्डी फिल्मले एउटा मौलिकता बोकेको थियो । तर कबड्डीसँग मेरो चलचित्र दाँज्न खोजेको भने होइन । भाग सानी भाग एउटा नेपालीपन भएको चलचित्र हो । एकपटक शहरदेखि गाउँसम्मका दर्शकहरुले हेर्नुपर्छ चलचित्र बनेको छ ।

प्रस्तुतिः सुमन बैरागी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु