सन्तोष श्रेष्ठ
संगीतकार सन्तोष श्रेष्ठ समकालीन आधुनिक संगीतको मूलधारका एउटा सशक्त संगीतकार मानिन्छन् । तिमीले पराई ठानेपछि…, तिम्रो दिलमा चोट लाग्दा, किन आउँछ तिम्रो याद, आउँछु भनी निष्ठुरीले, तिमीले हाँसो लुटी लग्यौ, परेलीको बर्सात्ले, तिमीले सधैं पीडा दियौं, तिम्लाई सञ्चो छैनलगायतका अजम्बरी गीतहरुमा संगीत गरि आफ्नो सांगीतिक छविलाई उच्च स्थानमा राखिसकेका श्रेष्ठले एक सयभन्दा बढी गीतहरु संगीतबद्ध गरिसकेका छन् । संगीतको माध्यमबाट देश, विदेशको यात्रा गरिसकेका श्रेष्ठले विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका छन् । प्रस्तुत छ, युवापुस्ताको लोकप्रिय संगीतकारको स्थान प्राप्त गरेको यिनै संगीतकार सन्तोष श्रेष्ठसँग गरेको कुराकानी ः
अहिले के गर्दै हुनुहुन्छ ?
मेरो धेरैजसो समय संगीतसँग सम्बन्धित विषयमा बितिरहन्छ । पहिलो काम संगीतकै बारेमा किताब लेखिरहेको छु । यो चाँडै प्रकाशन हुँदैछ । अग्रज गीतकारहरुको रचना र अग्रज गायक गायिकाको आवाजमा एउटा सदाबहार हुने एल्बमको तयारीमा पनि लागिरहेको छु ।
तपाईंका पछिल्ला सिर्जनाहरु तत्कालै के–के आउदैछन् ?
फुटकर गीतहरुका अलावा निकट भविश्यमै पत्रकार सुमन बैरागीको शब्दमा मेरो एकल संगीत रहेको एल्बम ‘सम्झना’ को अन्तिम गृहकार्यमा लागिरहेको छु । जसमा प्रमोद खरेल, शिशिर योगी, दुर्गा खरेल जस्ता गायक गायिकाको अवाज सुन्न सकिनेछ । त्यस्तै सभ्यता एल्बम बजारमा आइसकेको छ भने अन्य गीतकारहरुको गीतमा संगीत भइरहेको छ । अन्य दर्जनौं फुटकर गीतहरुको रेकर्डिङ भइरहेको छ ।
सांगीतिक क्षेत्रमा एउटा उचाई प्राप्त गर्नुभयो, अबको सांगीतिक यात्रालाई कसरी अगाडि बढाउदै हुनुहुन्छ ?
सांगीतिक उचाईमा पुग्नु एउटा ठूलो चुनौती हो भने उचाई कायम राख्नु अर्को झन् ठूलो चुनौती हो । अहिले सिर्जना मात्रै हुँदैन प्रविधिसँग पनि हातेमालोको आवश्यकता छ । अहिले स्रोताहरुले विश्व संगीतलाई नजिकैबाट ग्रहण गरिरहेको बेला नेपाली संगीतको मात्रै कुरा गर्नु औचित्यहीन जस्तो समय भइसकेको छ । तर नेपाली गीतमा नेपाली मौलिकता हराउनु हुँदैन भन्ने मेरो मान्यता हो । त्यसको लागि अलि गहिराइमा पुगेर पूर्वीय र पाश्चात्य दुवै संगीतको सैद्धान्तिक अध्ययन गर्दैछु ।
कलिलो उमेरमा यति ठूलो चर्चा र नाम कसरी सम्भव भयो ?
हाम्रो देशमा चर्चा र नाम वा विज्ञता हासिल गरेको व्यक्ति भनेर विश्वास दिलाउन दुईवटा गलत कुरा अघि सारिन्छ । पहिलो कपाल फुल्नु पर्ने दोस्रो युव अवस्था पार गर्नुपर्ने । यो कुरालाई म भत्काउन चाहन्थे । त्यसैले मलाई फुल्नु पनि परेन र युवाअवस्थामा सिध्याउन पनि परेन यसको मुख्य सूत्र मेरो संगीतप्रतिको अनुशासन, इमान्दारिता, धैर्यता, लगनशीलता, आत्मविश्वास र अरुप्रतिको सकारात्मक सोचाई हो ।
यो नाम र चर्चाबाट सन्तुष्ट हुनुहुन्छ ?
म मेरो नाम र चर्चाबाट सन्तुष्ट छु । आफै सन्तुष्ट हुन सकिएन भने अगाडि बढन् र अरुको विश्वास जित्न गा¥हो हुन्छ । नाम र चर्चा सफलताका रङ्गहरु हुन । संघर्ष र मेहनतको रङ सफलता हो । संघर्ष, सफलता र चर्चाको परिभाषा बुझेर अगाडि बढियो भने मात्र अरु फराकिलो बन्छ । सन्तुष्टी चाख्नै पाइदैनन् ।
किन सङ्गीत रोज्नु भयो ?
सङगीत नरोज्नेहरु मानिस नै होइनन । बाहिरी आवरण मात्रै हो । सजिव जति सबैले सङ्गीत रोज्दछन् भने म र म जस्ता सबैको लागि सङ्गीत रोजाई भन्दा पनि आवश्यकता नै हो । जीवन जीउनुको आनन्दको गहिराई नै सङ्गीत भित्र छ । जब मानिसको आकार तयार हुन्छ अनि गर्भ भित्रै सङ्गीतको तालमा फर्किन र चल्न सुरु गर्छ । त्यति गहिरो सम्बन्ध छ मानव जीवन र सङ्गीतको ।
दाङबाट राजधानी छिर्दा कस्ता सपना बोक्नु भएको थियो ?
मेरो दुईवटा सपना थिए । अध्ययन र सङ्गीत । रात्रिबसमा हिडेको रातभरि निन्द्रा लागेन । लाखौं मानिसको जनसागरमा म एउटा गाउँको एक्लो यात्री । कसैलाई नचिनेको । एउटै बाटोमा दशौंपटक आवत जावत भयो हराएर । बाटो चिन्नै मुस्किल । तर मैले हराउनु बाटो विर्सनुलाई सङ्गीतकै सरगममा आरोह अवरोहको अभ्यास सम्झिए । तर मेरो दुईवटा सपना पूरा गरेरै छोड्ने दृढ सङ्कल्पमा हिडेको थिए ।
कस्तो रहेछ राजधानी ?
राजधानीमा पानि किनेर खानु पर्छ तर आँसु सित्तैमा वागमतीमा मिसिन्छ । स्वार्थीहरुको जमात छ । संवेदनशितला कतै भेटिदैन । सङ्गीतभित्र अग्रजदेखि अनुज सम्म डरलाग्दो फोहोरी र अस्वस्थ प्रतिस्पर्धा छ । इमान्दारिता हराइसकेको छ । सभ्यता र संस्कृति राष्ट्रका पहिलो चिनारी हुन् तर समाप्त पारिदैछ । आफ्नो अनुकुलताको ढ्याङग्रो मात्रै बडदैछ ।
संगीत क्षेत्रबाट बाच्ने स्थिति छ ?
सबैभन्दा राम्रो संगीत सिर्जना गर्नेहरु साधारण जीवन जिउन सक्ने स्थिति छ । तर गीत लेखेर मात्रै, संगीत गरेर मात्रै र गायर मात्रै बाँच्न सक्ने अवस्था छैन । यदि संगीतमै जीवन समर्पण गर्ने हो र संगीतसँग सम्बन्धित अन्य काम गर्ने हो भने बाँच्ने र नाच्ने पनि हुन्छ ।
संगीतबाट टाढिएर बाच्न सक्नुहुन्छ ?
संगीत मेरो जीवन मात्रै होइन आत्मा हो । अझ भन्नुपर्दा संगीतलाई मैले जीवनको अक्सिजन ठानेको छु । जहाँ अक्सिजन हुँदैन त्यहाँ जीवनको कल्पना गर्न सकिँदैन ।