एउटा पुरुष चारैतिर नारीको संवेदनामा बाँधिएको हुन्छ

म्यूजिक खबर
प्रकाशित: ५ चैत्र २०७०, बुधबार

ऋषि लामिछाने, निर्देशक
नेपाली चलचित्रको हालको अवस्था कस्तो देख्नुभएको छ ?
अहिले नेपाली चलचित्र एक हिसाबबाट हेर्दा कहालीलाग्दो र दुःखदायी छ भने अर्कोतर्फ स्वर्णिम र सुखदायी छ । अहिले बनेका प्राय चलचित्रहरु भल्गारिटीतिर गएको छ । यसले चलचित्र बजार भासिने क्रम बढी हुन्छ । विशेष ज्ञान नभएका थुप्रै निर्माता निर्देशकको प्रवेशले चलचित्र धरासायी बनेको छ भने अर्कोतर्फ थोरै भए पनि व्यवसायिक सिनेमा बनेका छन् । पछिल्लो समय पढेर आएका युवा निर्देशकहरुले चलचित्र बजारको भविश्य राम्रो हुँदै आएको छ र चलचित्रले राम्रो फड्को मार्छ भन्ने आश गर्न सकिन्छ । यसका साथै उद्योग पनि समुन्नत विकासतर्फ लम्कन सक्छ ।
नेपाल चलचित्र बजार धरासायी छ भनिन्छ नि ?
पहिलो कुरो नेपाली चलचित्रको बजार धरासायी भएको छैन, हुन खोज्दैछ । सिनेमा बनाउने नाममा भल्गारिटीले बढी स्थान पाएकोले पनि बजार धरासायी बन्न खोज्दैछ । तर यसको भविश्य सुन्दर नै छ मेरो बुझाइमा । कसैले चलचित्रको बजार छैन वा धरासायी बन्दैछ भन्छ भने सबैभन्दा पहिला राम्रो सिनेमा बनाउनु प¥यो । अर्कोकुरा दर्शकलाई झुट बोल्न भएन । यहाँ पित्तल बनाएर सुन भन्ने चलन छ । हामीले दर्शकलाई झुठ बोलिरहेको हुनाले पनि चलचित्र बजार धरासायीतर्फ जान सक्ने सम्भावना छ ।
अहिले तपाईं केमा व्यस्त हुनुहुन्छ ?
मैले निर्देशन गरेको चलचित्र ‘सरी ल’ चाँडै नै रिलिजको तयारीमा छ । यसको सम्पूर्ण काम पूरा भइसकेको छ भने अरुण रेग्मीले निर्माण गर्ने सिल्करुट ब्यानरको चलचित्रमा चाँडै काम गर्दैछु । जसमा विराज भट्ट, आर्यन सिग्देल, प्रियंका कार्कीलगायतको अभिनय रहनेछ । छवि ओझाको चलचित्रमा पनि कुरा भइरहेको छ, जुन चाँडै नै सुटिङ सुरु हुनेछ ।

rishi lamichhane1
टेलिचलचित्रबाट चलचित्रमा आउनुभयो नि ?
मैले टेलिचलचित्रमा काम गर्नुभन्दा दर्पणछायाँ, साथी जस्ता २२ वटा चलचित्रहरुमा मुख्य सहायक निर्देशनको काम गरिसकेको थिएँ । प्रदीप उदयको चलचित्र कहिले मिलन कहिले विछोडमा सोलो निर्देशनको काम गरेँ । त्यसपछि मात्र टेलिचलचित्रतर्फ गएको हुँ । आफ्नै होम प्रोडक्सनमा बनाइएको परिचयले व्यवसायिक रेकर्ड मात्र तोडेन अन्तर्राष्ट्रिय बजारमासमेत कलात्मक रेकर्ड तोड्न सफल भयो । जसले नाम दाम प्रतिष्ठा सबै दियो मलाई । अहिलेसम्म कुनै पनि सिरियलले त्यस्तो सफलता पाएको छैन । जसबाट म सम्मानित समेत भएको थिएँ । यसबाहेक पाँच सयभन्दा बढी विज्ञापन र छोटा चलचित्रमा काम गरेँ । त्यसपछि ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ चलचित्रमा काम गरेर सम्झना डिजिटल फिल्म अवार्डमा बेस्ट डाइरेक्टरको अवार्डसमेत चुम्न सफल भएको थिएँ ।
अब सिरियलतिर नफर्केने ?
म नाटकबाट आएको कलाकार हुँ । मैले थुप्रै नाटकहरुमा बाल कलाकार र अन्य भूमिका निर्वाह गरेको छु । त्यसपछिको मेरो यात्रा चलचित्र हुँदै सिरियलतिर लागे पनि मेरो परिचय सिरियलमा छुट्टै छ । त्यसैले पनि चलचित्रमा काम गर्नुको साथै सिरियललाई पनि निरन्तरता दिन्छु । नयाँ वर्षमा सामाजिक विषयवस्तुमा आधारित टेलिसिरियल आउँदैछ । जसको काम भइरहेको छ ।
सिनेमाको धार परिवर्तन गर्ने नाउँमा अश्लिलता बढ्यो भन्छन् नि ?
नेपाली सिनेमामा नयाँ मेकरहरु आएका छन् । नयाँ परिवेश, नयाँ विषयमा सिनेमा बनाउने नाउँमा अश्लिल चलचित्र बन्ने क्रम चलेको छ तर यो पहिलाभन्दा अहिले कम भएको छ । यसले पनि नेपाली चलचित्रलाई धरासायी बनाएको छ । जति पनि नयाँ विषयवस्तुमा चलचित्र बनाइन्छ, ती चलचित्र सेक्समाथि नै केन्द्रविन्दु बनाएर बनाइन्छ । त्यस विषयमा चलचित्र बनाउनेहरु हिपोक्राफ्ट हुन् । अन्य विषयवस्तु नदेख्नु, उनीहरुलाई भोलिको चलचित्रले मात्र खिने छैन । यस्ता अश्लिल चलचित्र बनाउनेहरुले गर्दा व्यवसायिक चलचित्र जीवनदर्शन र सफल सिनेमा बनाउनेहरुलाई असर गरेको छ । र विस्थापित नै गरिदिएको छ भन्दा हुन्छ । अश्लिल सिनेमा बनाउनेको भीडले यस्ता सिनेमा बनाउनेहरु विस्थापित भएको हो की भन्ने लाग्छ । तर कालन्तरमा उनीहरु नै विस्थापित हुन्छन् र व्यवसायिक सिनेमा बनाउनेहरु कालजयी बन्छन् ।
तपाईं निर्देशक समाजको महासचिव हुनुहुन्छ, निर्देशकहरुको अधिकारको अवाज उठाउनुभएको छ त ?
अहिले देशकै अवस्था नाजुक भएको बेला जति गर्न चाहेको कामहरु सहज रुपमा गर्न सकिरहिएको छैन । तर निर्देशक समाजले निर्देशकको व्यक्तित्व विकासका लागि, अभिबृद्धिका लागि विभिन्न कामहरु गर्दै आएका छौं । अहिलेसम्म सेन्सरमा निर्देशकको नाम आउँदैनथ्यो । तर हाम्रो पहलबाट निर्देशकको समेत नाम आउने भएको छ । चुनावमा पनि हामीले आफ्नो तर्फबाट कलाकारहरुको आवाज उठाएका छौं । यसका साथै कपिराइटको विषयमा पनि काम ग¥यौं । समयसमयमा विभिन्न वृत्तचित्र, हरेक शुक्रबार विश्वप्रसिद्ध सिनेमा निर्देशक समाजमा देखाइन्छ । वैशाखबाट डिजिटल वर्कसप गर्दैछौं । हामीले आफ्नो तर्फबाट सक्ने कामहरु गरिरहेका छौं । चाहे निर्देशनको कुरा होस् या निर्देशकको क्षमता बृद्धिको कुरा होस् हामीले सक्दो पहल गरिरहेका छौं ।
तपाईंका प्राय सिरियल या सिनेमामा नारी संवेदनाको कुरा उठाइन्छ नि ?
मैले आजसम्म जति पनि सिनेमा बनाएँ कहिले पनि नारीलाई नङ्ग्याउने र गलत तरिकाबाट प्रस्तुत गरेको छैन । नारी सृष्टिको ठूलो आधार हो । मैले जुन जीवन बाँचिरहेको छु, मलाई संसार देखाउने पनि नारी नै हुन् । जुन धर्तीमा हामी बाँचिरहेका छौं ती पनि नारी नै हुन् । त्यसैले एउटा पुरुष चारैतिर नारीको संवेदनामा बाँधिएको हुन्छ । त्यसैले पनि मेरा टेलिचलचित्र होस् वा चलचित्र नारी संवेदनाको कुरा उठाउने गर्छु । नारी संवेदना मात्र होइन नारीको विद्रोह, नारीका शाहस र त्यागको समेत कुरा उठाएको हुन्छु । चाहे त्यो परिचय होस् या भूमिका अथवा चलचित्र श्रीमान श्रीमती ।
पछिल्लो समय सेलीब्रेटीहरुको सम्बन्ध नटिकेको पाइन्छ नि ?
सम्बन्ध, विवाह, आफ्नोपन सबै चिज बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड भयो । यसको कारण सम्बन्धमा उतारचढाव भएको हो । सम्बन्ध कस्तोहुनुपर्छ भने चाहे त्यो श्रीमान श्रीमती होस् वा गर्लफ्रेन्ड ब्याइफ्रेन्ड । सुखदुःख, भरोसा, मन, आत्मा एउटै हुनुपर्छ दुईवटैको । मुख्य कुरा विश्वास पनि हो । यिनै कुराहरुमा समानान्तर नहुँदा टुट्ने गरेको हो । चलचित्र क्षेत्र ग्ल्यामरस फिल्ड भएकोले क्षमताभन्दा बढी चाहना भएकोले पनि त्यही चाहनाले सम्बन्धलाई भत्काउँछ र बिगार्छ । तर महत्वकांक्षा बढी नभई विश्वासमा जाने हो भने सम्बन्ध सधैं टिक्छ । बढी महत्वकांक्षाले मान्छेलाई धरासायी बनाउँछ र स्वार्थको सम्बन्ध टिक्दैन ।
तपाईं आफ्नो पेशाबाट कत्तिको सन्तुष्टि हुनुहुन्छ ?
म आफ्नो पेशाबाट पूर्ण रुपमा सन्तुष्टि छु । म जुन पेशा गरिरहेको हुन्छ त्यो पेशामा सन्तुष्टि हुनु नै सफलताको कडी हो । मैले आजसम्म चलचित्र क्षेत्रमा गरिरहेको काममा सफलता पाइरहेकै छु भने मलाई असन्तुष्ट हुनु पर्ने कुरै आउँदैन । मेरो कामलाई सबैतर्फबाट राम्रो भनिदिएका छन्, सबैलाई उत्साह दिइरहेका छन् र म पनि सफलताको श्रेणीमा नै लम्किरहेको छु ।
प्रस्तुति : गीता अधिकारी÷फिल्मीखबर साप्ताहिकबाट

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु