एकल साँझ समाजसेवाको माध्यम हो

म्यूजिक खबर
प्रकाशित: २२ फाल्गुन २०७०, बिहीबार

विरही कार्की, गायक
डेढ दशकभन्दा बढी समय लोकगायनको क्षेत्रमा खर्चिएका गायक विरही कार्कीले आगामी फागुन २९ गते एकल साँझ गर्न लागिरहनुभएको छ । विन्धवासिनी, शंका नमान, फर्क मुग्लानी, सुनखानीमा सुन, आमा, भन्देउ के हो माया लगायत दर्जनौं चर्चित गीतहरु गाइसकेका विरही कार्की आफंैमा एक कुशल संकलक पनि हुन् । आफ्नो शब्द र स्वरका माध्यमले पृथक लोकगायक बन्न सफल भएका गायक विरही कार्कीको एकल साँझका बारेमा केन्द्रित रहेर म्यूजिक खबरले गरेको कुराकानी ः

एकल साँझ गर्दै हुनुहुन्छ, तयारी कस्तो हुँदैछ ?
तयारी एकदमै तीब्र गतिमा अगाडि बढिरहेको छ । एकल साँझका लागि चाहिने सम्पूर्ण पूर्वाधारका विषयमा हामी तल्लिन भएर लागिरहेका छौं । मुख्य कुरा भनेको यसको आर्थिक पाटो हो त्यसका लागि पनि समाजसेवी हातहरु अगाडि बढिरहेका छन् । सहयोगी हातहरुकै कारण मैले यो एकल साँझ सम्पन्न गर्न गइरहेको छु ।

सबैले समाजसेवा भन्दै कुनै न कुनै नारा बोकेका हुन्छन्, तपाईंले चाहिँ त्यस्तो के नारा बोक्नुभएको छ त ?
समाजसेवा गर्नु भनेको राम्रो कुरा हो । तर त्यसलाई खेती बनाउनु भने पक्कै पनि हुँदैन । अरुले के गरे भन्दा पनि मैले समाजका लागि के गर्नु सक्छु भन्ने मेरो उद्देश्य हो । गायनको डेढ दशक पारि गरिसकेको अवसरमा मैले धेरै उतारचढाव बेहोरेको छु । त्यही अनुभवहरुलाई संगाल्दै समाजसेवा गरौं भन्ने उद्देश्यले अति पिछडिएका उत्पीडित वर्ग चेपाङ समुदायकै हितमा हुने काममा म लागिरहेको छु । जसले गर्दा चेपाङ जातिको बालबालिकामा नपुगेको शिक्षाको पहुँच होस् या आर्थिक अवस्था सदृढिकरणको बाटो होस् उनीहरुलाई मेरो अभियानले केही न केही भए पनि सहयोग पुगोस् भन्ने मेरो उद्देश्य हो ।

birahi karki nightकहाँको चेपाङ जातिलाई सहयोग गर्ने सोचमा हुनुहुन्छ ?
यहीँको भनेर मैले तोकेको छैन । गोरखा, चितवन र धादिङ तीन जिल्लाका चेपाङ वस्तीमध्ये मैले जुनकुनैलाई पनि सहयोग गर्नेछु । मैले एकल साँझ कार्यक्रम सम्पन्न पारेर उठेको रकमबाट उनीहरुको घरदैलोमा नै पुगेर मिडियाका साथ उक्त रकम हस्तान्तरण गर्नेछु ।

एकल साँझ पनि गर्ने र चेपाङ बस्तीलाई पनि सहयोग गर्छु भन्नुहुन्छ पक्कै ठूलो खर्च होला कसरी मिलाउनुहुन्छ ?
समाजसेवा गर्नका लागि आँट्नु मात्रै पर्दोरहेछ पक्कै पनि सहयोगी हातहरु अघि सर्छन् । मैले गर्ने भनेको एकल साँझ त समाजसेवाको माध्यम मात्रै हो । एकल साँझका माध्यमले चेपाङ वस्तीमा सहयोग गर्नेहरु धेरै नै अग्रसर हुनुहुन्छ । त्यसमध्ये मैले नाम छुटाउन नहुने दाताहरुमा विष्णु प्रसाद बराल, लक्ष्मी बरालको महत्वपूर्ण योगदान रहेको छ । जसले भारतमा रहेर पनि समाजसेवा र नेपालीहरुकै हकअधिकारका पक्षमा वकालत गर्दै हिंडिरहनुभएको छ । त्यस्तै राम डाँगी एकल साँझका लागि मरिमेटेर लागिरहनुभएको छ । त्यस्तै राम्रो काम गर्नुपर्छ भनेर हौसला प्रदान गर्ने बुद्धिमान घिसिङ र चन्द्रमान तामाङ मेरो यस कार्यक्रमको जन्मदाता नै हुन् । यी लगायत देश विदेशमा रहेर विरही कार्कीका गीतहरु सुनिदिने र माया गर्ने धेरै प्रिय नेपालीहरु हुनुहुन्छ । उहाँहरुको सहयोग निरन्तर जारी रहनेछ ।

धेरै गीतहरु गाउनुभयो अब एकल साँझका लागि कस्ता कस्ता गीतको तयारी गर्नुभएको छ ?
फागुन २९ गतेका दिन हुन लागेको एकल साँझका लागि मैले २०५३ सालमा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गर्दाको गीतदेखि सुनखानीमा सुन, आमा, डाँडै शिरिष, नरोउ नरोउ जुरेली चरी, भन्देउ जस्ता गीतहरु गाउनेछु । त्यस्तै एक दुईवटा दोहोरी गीत लगायतका मेरा चर्चित गीतहरु उक्त अवसरमा गाउनेछु । जसमा बाद्यवादनको जिम्मा मैले झलक संगीतमलाई दिएको छु ।

अन्त्यमा ?
विरही कार्कीको गायनलाई माया गर्नुहुने सम्पूर्ण स्रोताहरुलाई धेरै धेरै धन्यवाद । त्यस्तै विरही कार्की एकल साँझका माध्यमले चेपाङ बालबालिकालाई सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद । मेरा लागि भन्दा पनि चेपाङ जातिका लागि सहयोग गर्न चाहनुहुने सम्पूर्णलाई यो अवसरबाट बञ्चित नहुनु पनि आग्रह गर्दछु । तपाईंहरुको माया, सद्भाव र सहयोगले हरदम समाजसेवामा अग्रसर हुन पाऔं ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु