एफएम कलरदेखि उत्कृष्ट गायिकासम्म

म्यूजिक खबर
प्रकाशित: ३ माघ २०७०, शुक्रबार

२०५५ साल, चाइनिज रेडियो सेटमा चर्किंदो ‘एफएम काठमाडौं’ । आरजे–कलरको प्रत्यक्ष फोनवार्ता । सहरमा भित्रिएको नौलो ‘एफएम’ प्रणाली राजधानी काठमाडौंको शान बन्न बन्दो’ छ ।
‘हेल्लो, को बोल्नु भो ?’ एफएम आरजेका उत्साहित आवाज ।
‘हजूर, म ललितपुर, चापागाउँबाट…’ टेलिफोनमा मधुरो स्वर सुनिन्छ । ‘ए…निशा देशारजी…ल भन्नुस्, आज कसको गीत सुनाउनुहुन्छ ?’ आरजे ‘रेगुलर कलर’को स्वर सहजै पहिल्याउँदै सोध्छ । एकछिनसम्म उताबाट कुनै प्रतिक्रिया आउँदैन । ‘सुन्नु भएन कि क्या हो ?’ एफएम आरजे हल्का आवाज उचाल्दै सोध्छ ।
‘क्यै हैन, कसको गीत गाऊँ भनेर सोच्दैछु,’ उताबाट जवाफ आउँछ । फोनमार्फत गुञ्जिँदै गरेको सुरिलो आवाज एफएफबाट सार्वजनिक हुन्छ । प्रतिभाशाली आवाज सुनेर आरजेहरू भन्न थाल्छन्, ‘तपाईंमा राम्रो गायिका हुने खुबी देखिन्छ है ।’
कुनै पनि हिन्दी वा नेपाली गीत कण्ठस्ट भएकी उनै निशा देशार ‘कुनै ताका एफएमकी ‘रेगुलर कलर’ हुन्भन्दा विश्वास गर्न गाह्रै पर्छ । यद्यपि, एफएम उदयसँगै प्रतिभा सार्वजनिक गर्ने अवसर पाएकी उनी स्वयंले पनि राष्ट्रकै ‘क श्रेणीको गायिका बन्छु’ भन्ने कल्पनासम्म गरेकी थिइनन् । ‘कहिले काहीँ विगत र वर्तमान सम्झिँदा सपनाजस्तो पनि लाग्छ,’ हालै सर्वोत्कृष्ट गायनतर्फ तेस्रो पटक ‘इमेज अवार्ड’ जितेकी उनको निष्कर्ष छ, ‘सायद, म संगीतकै लागि जन्मिएकी रहिछु ।’
एफएम रेडियो र आरजेहरूकै मायाका कारण आफ्नो सांगीतिक गोरेटो फराकिलो बन्दै गएको सुनाउन भुल्दिनन्, उनी । ‘एफएम नभएको भए यतिबेला म चापागाउँको कुनै कुनामा हुन्थें हुँला,’ २०६६ सालको रेडियो नेपालको ‘राष्ट्रव्यापी आधुनिक गीत गायन प्रतियोगिता’मा सर्वोत्कृष्ट घोषित निशाले सुनाइन्, ‘एफएम रेडियोहरूमा म सधैं फोन गरेर गीत सुनाउँथें । धेरै कार्यक्रममा प्रथम पनि भएँ, पुरस्कारसमेत पाउँथें ।’
सानै पुरस्कारले पनि आत्मविश्वास बढ्दै गयो । एफएममा टेलिफोनमार्फत गीत सुनाउँदै जाँदा उनले ‘एफएम’मै सही, आफ्नो परिचय फराकिलो बनाउँदै लगिन् । यही हौसलाले उनलाई ‘औपचारिक रूपमै संगीत सिक्नुपर्छ’ भन्ने प्रेरणा दियो । र, गुरुदेव कामत र ईश्वर अमात्यसँग शास्त्रीय संगीतको ज्ञान लिन थालिन् । ‘गुरुहरूसँग सिक्न थालेपछि मैले आफूलाई शून्यमा पाएँ,’ २०५८ सालबाटै डोरेमी संगीत पाठशालाका विद्यार्थी निशाले भनिन्, ‘संगीत सिकेर कहिल्यै पनि सकिँदैन, यो अथाह छ ।’
शास्त्रीय संगीतमा बिम्युज निशाले झन्डै दस वर्षे संघर्षपछि बल्ल ‘टर्निङ प्वाइन्ट’ भेटिइन्, २०६६ सालमा । जुनताका उनले संगीतकार मनराजा नकर्मीको सल्लाहमा रेडियो नेपालद्वारा आयोजित ‘राष्ट्रव्यापी गायन प्रतियोगिता’मा भाग लिइन् । जसमा उनी मुलुकभरबाट २ सय ५० भन्दा बढी प्रतियोगी उछिन्दै प्रथम भइन् । ‘त्यसपछि बल्ल म कसै–कसैको नजरमा परें,’ त्यसअघि नेपाल भाषा संगीतमा चर्चित बनिसकेकी निशा सम्झिन्छिन्, ‘म मातृभाषामै सीमित थिएँ, रेडियोमा प्रथम भएपछि अलि–अलि चिनिनँ थालें ।’
रेडियो प्रथमलगत्तै गजल संगीतकार गैरे सुरेशसँग उनको भेट हुन पुग्यो । ‘त्यसपछि मैले पछाडि फर्कनुपरेन, रेडियोमा प्रथम भएको समाचार उहाँले पनि पढ्नु भएको रहेछ,’ संगीतकार गैरेले विश्वास गरी गजल गाउने मौका दिएको स्मरण गर्दै निशा भन्छिन्, ‘उहाँको संगीतमा गाएको पहिलो नेपाली गजलले नै मलाई संगीतप्रेमीमाझ चिनायो ।’
तिम्रो मेरो सम्बन्धको
चर्चा चल्छ चल्न देऊ
दुनियाँको कामै यही हो
जति जल्छन् जल्न देऊ…
माधव ढकालकृत प्रस्तुत गजल गायनबाट निशाले २०६८ सालमा ‘सर्वोत्कृष्ट महिला गायन’तर्फ ‘इमेज अवार्ड’माथि कब्जा जमाइन् । सोही वर्ष सार्वजनिक एकल श्रव्य संग्रह ‘लोकार्पण’को ‘जमाना खराब छ…’ गजलले ‘कालिका एमफम म्युजिक अवार्ड’को भागीदार बनायो भने ‘तिम्रो मेरो सम्बन्धको…’बाटै उनलाई ‘सर्वोत्कृष्ट महिला गायन’तर्फ ‘विन्ध्यवासिनी म्युजिक अवार्ड’ प्रदान गरियो ।
‘एकै वर्षभित्र मैले झन्डै आधा दर्जन पुरस्कार पाएँ,’ २०६८ सालमै ‘छिन्नलता नवप्रतिभा पुरस्कार’ पाएकी निशा थप्छिन्, ‘साधना ग¥यो भने त्यसको प्रतिफल ढिलै किन नहोस्, प्राप्त हुँदो रहेछ ।’ चलिआएको भन्दा ‘फरक गीत पनि गाउनुपर्छ’ भन्ने मान्यताकी गायिकाले पछिल्लो समय ‘फिल्मी आइटम गीत’समेत गाएकी छन् ।
‘भर्खरै पाँच ओटा फिल्मका लागि आइटम गीत गाउने अवसर पाएँ,’ औपचारिक शिक्षातर्फ मेजोर अंग्रेजीमा स्नातक निशा भन्छिन्, ‘फिल्मका साथै विभिन्न कलेक्सन एल्बम र प्रोग्रामहरूमा गाउने अवसर पाइरहेकी छु । यसलाई मैले अहोभाग्यकै रूपमा लिएकी छु ।’

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु