कसले चुम्ला यो वर्षको रनिङ शिल्ड ?

म्यूजिक खबर
प्रकाशित: १३ फाल्गुन २०७३, शुक्रबार

फागुन १३, काठमाण्डौ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा राजधानीको भृकुटीमण्डपमा दोहोरी प्रतियोगिताको रनिङ शिल्ड हिजोबाट सुरु भएको छ । फागुन १२ देखि १६ सम्म चल्ने यो रनिङ शिल्ड प्रतियोगितालाई पुनःनिर्माण प्राधिकरणका प्रमुख गोविन्द राज पोखरेलले उद्घाटन गरेका हुन् । प्रतिष्ठानको भवन निर्माणका लागि आर्थिक रकम जुटाउन आयोजना गरिएको यस रनिङ शिल्डका लागि कुनै पनि मन्त्री एवं सभासदहरुबाट उद्घाटनका लागि समय नमिलेको केही समयअघिको प्रेस मिटमा बताउँदै प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले किसान वा ड्राइभरबाट कार्यक्रमको उद्घाटन गरिने बताएका थिए । तर अन्ततः भुकम्पपीडितहरुका लागि पुनः निर्माण प्राधिकरणमा प्रमुख भएका गोविन्दराज पोखरेललाई प्रमुख अतिथि बनाएर कार्यक्रमको उद्घाटन गरिएको थियो । पोखरेलले बलियो घर बनाउनुपर्छ भन्दै कविताबाटै भवनका लागि चाहिने पूर्वाधारको विषयमा समेत कुरा उठाएका थिए । योजना आयोगका प्रमुख हुँदा दोहोरीलाई रातो किताबमा लेखाउन सफल भएका पोखरेलले मुलुकको कला संस्कृतिभन्दा माथि अरु केही नभएको बताएका थिए ।

badri pangeni
कार्यक्रममा रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले सम्पूर्ण गीतसंगीतका क्षेत्रमा क्रियाशील संघसंस्थाको प्रतिनिधित्व गर्दै मुलुकको सबैभन्दा ठूलो धन भनेकै कला संस्कृति भएको बताएका थिए । अधिकारीले २५ हजार मान्छे काठमाडौंमा जुलुस निकाल्दा मुलुकको संविधान नै परिवर्तन हुन्छ भने दोहोरीका ३० हजारभन्दा माथि रहेका सदस्य एकैचोटी यो सडकमा आउँदा के हुन्छ सरकारले बुझ्नु जरुरी भएको बताएका थिए । मुलुकको गीतसंगीत, कला संस्कृति जोगाउन प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै अधिकारीले भने – हामी सबै कलासंस्कृतिको क्षेत्रमा क्रियाशीलहरु एकजुट भएर अगाडि बढ्नुपर्छ ।

dohori1
त्यस्तै कार्यक्रममा रनिङ शिल्डका योजनाकार निवर्तमान अध्यक्ष चन्द्र शर्माले हामी सबै मिलेर गरेको यो कामलाई निरन्तरता दिएर अगाडि लैजान आफू सदैव तयार रहेको बताएका थिए । रनिङ शिल्डको आफू योजनाकार नभएको सम्पूर्ण लोकदोहोरीका साथीहरु नै यसका योजनाकार हुन् शर्माले भने– ‘रनिङ शिल्ड भनेपछि बीचमा रोकिनुहुन्न भन्ने संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरुले भन्नुभएको छ, अब यसलाई वर्तमान कार्यसमितिले पनि यसरी नै नरोकिइकन अगाडि लैजाने छ ।’

govindraraj pokharel
त्यस्तै सम्पूर्ण समन्वय समितिको तर्फबाट बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिका अध्यक्ष पीएन सापकोटाले रनिङ शिल्डले प्रत्येक वर्ष यसरी नै प्रतियोगितालाई भव्य र सभ्य बनाउनेछ यसमा समन्वयको साथ रहने बताए । सापकोटाले मुलुकको कला संस्कृतिका खातिर आफूहरु कहिल्यै पछि नहट्ने बताएका थिए ।

कार्यक्रमका सभापति एवं प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले कार्यक्रममा उपस्थितहरुलाई सम्बोधन गर्दै भने लोकदोहोरी भनेको कलासंस्कृतिको जननी हो, जननीबिना कोही पनि जन्मन सक्दैन र बाँच्न पनि सक्दैन भन्ने बुझ्नुपर्छ । रनिङ शिल्ड सम्पन्न गर्नका लागि खटिएका सम्पूर्ण कार्यसमिति सदस्य, प्रायोजक, सहयोगीहरुलाई आभार प्रकट गर्दै पंगेनीले कलासंस्कृतिको धनी देश नेपाल तर सरकारले चिन्न नसकेको संस्कृतिका रुपमा परिचित भइरहेको बताउँदै प्रतिष्ठान यसको लागि सदैव अगाडि बढ्नेकुरामा द्विविधा नरहेको बताए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, सल्लाहकार, पूर्व अध्यक्षहरुले मन्तव्य राखेका थिए ।

pn sapkota
२०७१ सालमा यस प्रतिष्ठानका निवर्तमान अध्यक्ष चन्द्र शर्माको कार्यकालवाट शुरुवात गरिएको यस अन्तर दोहोरीसाँझ – राष्ट्रिय दोहोरीगीत रनिङ सिल्ड प्रतियोगितामा देशभरिका दोहोरी साँझहरुबाट कम्तिमा ३० समुह सहभागि हुने यस प्रतियोगितामा १ लाख दर्शकको उपस्थिति रहने छ । राजधानी बाहिरबाट आउने समुहलाई आवास सहित भोजनको प्रबन्ध मिलाईएको छ । दर्शक प्रवेश टिकट शुल्क मात्र रु ५०र( राखिएको छ भने यस प्रतियोगितामा प्रथम पुरस्कार नगद रु १ लाख ५ हजार, द्वितीय रु ७५ हजार,तृतिय रु ५० हजार सहित अन्य उत्कृष्ट पुरस्कार सहित सिल्ड मेडल र प्रमाण पत्र समेत प्रदान गरिने छ । प्रतियोगिता संचालनको आवश्यक खर्च सम्पुर्ण लोकदोहोरी प्रेमी दाताहरु सहित यस कार्यक्रमका मुख्य प्रायोजक नयमिभल यबप रहेको छ । प्रतियोगिता निष्पक्ष र विवाद रहित वनाउनको निमित्त यस विधाका अग्रज कलाकार देखि आजको पुस्ता समेत निर्णायक समितिमा रहने छन । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा कारोबार मिडियाको बिशेष सहयोगी रहने छ भने विभिन्न १७ उपसमितिहरु सहित मुख्य समिति संयोजक अध्यक्ष बद्रि पंगेनी रहने गरि कार्यबिभाजन गरिएको छ । कार्यक्रमस्थलमा नेपाली मौलिक स्वादिष्ट परिकारहरुका स्टलहरु सहित राष्ट्रका ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु