‘तिमी मन प¥यो भनेर गीत गाएको सिरियस नै हुनुभएछ’

म्यूजिक खबर
प्रकाशित: २७ असार २०७४, मंगलवार

मन्जु पौडेल, गायिका


तपाईं आफूलाई गायिका, नायिका वा कार्यक्रम प्रस्तोता के भनेर चिनाउनुहुन्छ ?
म कलाकार मन्जु पौडेल हुँ । दर्शकस्रोताले जसरी चिन्नुभएको छ म त्यही मन्जु पौडेल हुँ । म पहिला त एउटा राम्रो कार्यक्रम प्रस्तोता हुँ । त्यसपछि गायिकाको परिचय दिन्छु । पछिल्लो समयमा मैले अभिनयको पाटोमा पनि हात हाल्दैछु । चलचित्र ‘पोखराकी काली’मा सानो भुमिका निर्वाह गरेकी छु । शोभित बस्नेतको ‘बाबु कान्छा’मा पनि अफर आएको छ, स्क्रिप्ट चित्त बुझे काम गर्नेछु । अब यसमा दर्शक श्रोताले के भनेर चिन्नुहुन्छ, मेरो परिचय त्यहि नै हो । मलाई त्यसमै खुशी मिल्नेछ ।

manju poudel
भनेपछि उद्घोषिका हुँदै गायिका बनेकी मन्जु पौडेल अब अभिनयमा पनि तर यतिबेला उचित होला ?
मलाई अभिनयका लागि पहिला पनि धेरै अफर आएका हुन् । तर रिजेक्ट गर्दै आएको हुँ, धेरै दर्शक श्रोता र फ्यानहरुको सुझाव र चाहना अनि मेरो व्यक्तिगत चाहनाले पनि यतिबेला अभिनय तिर मन गएको छ । हेरौं के हुन्छ ?
गायिका बनेर सन्तुष्ट मिलेन ? किन अभिनयतिर ?
अत्यन्तै सन्तुष्ट छु । फेरि अभिनयमा मोडिने बितिकै अब गायन र उद्घोषणलाई चटक्क छाड्ने पनि त हैन । जसरी उद्घोषण गर्दा गर्दै गायनतिर पनि हात हालें र उद्घोषलाई छाडिन, त्यसरी नै अभिनयमा हात हाले ।

manju paudel
मन्जु पौडेलले गीत गाउन र स्टेज पर्फम गर्न पनि सक्छिन् है भन्ने सिग्नल चाहिं कहिले थाहा पाउनु भयो ?
म गायिका र प्रोग्राम पर्फर पनि बन्न सक्छु भन्ने सिग्नल मेरो बाल्यावस्थाले नै देखाएको थियो । विद्यालयमा हरेक शुक्रबार हुने अतिरिक्त कार्यक्रममा कविता सुनाउँथे, गजल गीत गाउँथे । कार्यक्रम सञ्चालन पनि गर्थे । त्यो नै मेरो गायिका तथा स्टेज पर्फर बन्ने शुरुवाती तर बलियो प्रमाण हो । फेरि आमा पनि राम्रो गीत गाउने भएकाले पनि होला तिजमा खुबै गीत गाइन्थ्यो ।
अनि कसरी शुरु भयो त उद्घोषण र गायनको यात्रा ?
बुटवलमा आरजे टेनिङ आयोजना गरिएको थियो, जसमा उत्कृष्ट हुनेलाई रोजगारको पुरस्कार राखिएको थियो । २०६० सालमा भएको सो ट्रेनिङमा उत्कृष्ट भएर बुटवल एफएममा काम गर्ने मौका पाएँ । त्यसपछि २०६५ सालमा म काठमाडौं आएँ । काठमाडौं आएपछि स्टार एफएममा काम गरेँ । त्यसपछि नेपाल टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रुपमा काम गरेँ । गीतसंगीतको कार्यक्रम संचालन गर्दै जाँदा मलाई गीतसंगीतको पनि मोह बढ्यो र गायनतर्फ पनि मोडिएँ । २०६२ सालमा पहिलो पटक मैंले तीज गीत रेकर्ड गराएको थिएँ । बिरहको तिज बोलको उक्त गीतले तत्कालीन संकटकालीन समयलाई सम्बोधन गरेको थियो । त्यसपछाडि यो मितिसम्म आइपुग्दा मैंले ४ वटा एल्बम ल्याएकी छु भने ३५ वटा जति गीतमा स्वर दिएको छु । संख्यात्मक हिसाबले हेर्ने हो भने यो न्युन नै हो तर पनि गुणात्मक र चर्चाका हिसाबले मलाई खुशी दिएका छन् मेरा गीतहरुले ।
उद्घोषण र गायन कुन सजिलो ?
उद्घोषणमा त्यहाँको बस्तुस्थिति, आयोजक, अडियन्स जानेर काम गर्नुपर्छ । यसमा अत्यन्तै चुनौतीहरु हुन्छन् । कार्यक्रम सफल बनाउनुमा कार्यक्रम सञ्चालकको पनि ठुलो हात हुन्छ । मलाई उद्घोषण भन्दा गायन नै सजिलो लाग्छ ।
अधिकांश दोहोरी गीत गाउनुभएको छ है । कस्तो गायिकाको रुपमा चिनाउन चाहनुहुन्छ आफुलाई ?
हो मैंले धेरै दोहोरी गाएकी छु । तर यो भन्दैमा मैंले लोकदोहोरी मात्रै गाएकी छैन । भर्खरै राष्ट्रिय भावनाले ओतप्रोत भएको ‘म त नेपालकी छोरी’ बोलको आधुनिक गीत पनि गाएकी छु । जसमा नारायण कँडेलको शब्द रहेको छ भने सुगम संगीतका प्रिय संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको छ । दोहोरी बाहेकका गीतमा पनि न्याय गर्न सक्छु, गाउन सक्छु भने कसरी लोकदोहोरी गायिका मात्र भनेर आफ्नो परिचयलाई साँघुरो बनाउँ । जस्ट गायिका मात्र हुँ, कलाकार हुँ ।

manju poudel
दोहोरी गायनमा अडियन्स तताउनलाई उच्छृंखल शब्द प्रयोग गरिन्छ नि ?
सर्वप्रथम दोहोरी खेलिनु भनेको रमाइलोका लागि हो । गीत गाउँदा अनुशासनमै बसेर गीत गाउन जरुरी छ । अडियन्सले जिब्रो टोक्ने खालको गीत गाएकी छैन । मेरो सहकर्मीले अपाच्य शब्द र भावमा गीत गाएको अवस्थामा परिस्थिति नै डाइर्भट गरिदिन्छु । एकले अर्कालाई छेडखानी गर्दा र उत्तर दिंदा साम्य भएर रमाइलो हुने किसिमले गीत गाउने गरेकी छु । फेरि हरेक क्षेत्रमा त्यसको नकारात्मक र सकारात्मक अर्थ हुन्छ । त्यस्तै दोहोरी गीतमा गाइने शब्दहरुले पनि दोहोरो अर्थ बोकेका हुन्छन् । हामीले सकारात्मक अर्थले बुझ्नु पर्छ । गीत गाउँदा यस्ता शब्द अहिले मात्र प्रयोग भएका हैनन् । पहिला पहिला पनि यस्ता शब्दहरु प्रयोग हुन्थे । जस्तै ‘छोरी भन्दा आमा तरुनी, लिपिस्टक पाउडरले’ जस्ता गीतलाई हामीले सहज किसिमले लियौं भने लाइभ दोहोरीमा रमाइलोका लागि प्रयोग हुने शब्दहरुप्रति सकारात्मक नै हुन जरुरी छ ।
लाइभ दोहोरी गाउँदा लान्छु र लैजान्छु भन्दैजाँदा, प्रस्तुति पछि असहज परिस्थितिको सामना गर्नुपरेको छ कि छैन ?
छ नि, नेपालको धनगढीमा भएको कार्यक्रममा र सिंगापुरमा मलाई यस्तो स्थिति भएको छ । अडियन्समा रहेका एक व्यक्तिलाई देखाएर यो मान्छे मन प¥यो भनेर दोहोरी गाएकी थिएँ । कार्यक्रमपछि उहाँ त सिरियस भएर गेटमा कुरेर बस्नु भएको रहेछ । जुन परिस्थितिले मलाई असहज भएको थियो । उहाँलाई सम्झाउन निकै गा¥हो भएको थियो । यो मेरो लागि अविष्मरणीय क्षण पनि हो ।
विदेशका कार्यक्रमहरुमा जाने कलाकारको पक्तिंमा धेरै नै पर्नुहुन्छ ? के कारणले आयोजकको रोजाईमा पर्नुहुन्छ ?
पहिलो कुरा एक व्यक्ति दुई काम भएकाले पनि म रोजाइमा पर्ने गरेकी हुँला भन्ने मलाई लाग्छ । कार्यक्रम सन्चालन सहित गीत गाउँछु । दोहोरी, लोक पप, आधुनिक गीत गाउन सक्छु । अर्को कुरा म पोजेटिभ थिंकको कलाकार हुँ । सरल छु, आयोजकसँग सहज भइदिन्छु । त्यसैले रोजाइमा पर्दै आएकी छु । एकपटक बोलाउनु भएको आयोजकले प्राय रिपिट गर्नुभएको छ मलाई । यो छोटो सांगीतिक करियरको अवधिमा १६ वटा भन्दा बढी देश पुगिसकेकी छु ।
गीत गाएर बाँच्ने स्थिति छ त ?
आर्थिक हिसाबले चुनौती छ । अहिले अडियन्सले गुड सिंगर सँगै गुड पर्फर चाहन्छ । त्यसैले पफर्मेन्स राम्रो हुने कलाकारलाई बाँच्न कठिन छैन । तर स्टुडियोमा मात्र गाउने कलाकारलाई गाह्रो छ ।
यो ठाउँसम्म आइपुग्दा कत्तिको संघर्ष गर्नुप¥यो ?
संघर्ष गरेरै यहाँसम्म आएकी हुँ । कुनै पनि सफलता पाउनको लागि मेहनत गर्न पर्छ नै । अझै पनि म स्ट्रगलकै पिरेडमा छु । स्थापित हुनका लागि निरन्तर आफ्नो कार्यक्रमा लगनशील भएर लागिरहेको छु । तर म लक्की कलाकारको पक्तिंमामा पर्छु, मैले जे गर्छु त्यो कुरालाई मेरा दर्शक श्रोताले स्किारिदिनुहुन्छ ।
यस्तै सफलता र चर्चा पाइएला भनेर सोच्नु भएको थियो ?
गायन क्षेत्रमा बिल्कुलै चर्चा र सफलता सोचेकी थिइनँ । केहि अंश उद्घोषणका लागि ठिक छु जस्तो लागेको हो । एकसे एक राम्रा स्वर भएका गायिकाहरुको भिडमा मैंले कुनै अपेक्षा बिना नै रहरै रहरमा गीत गाउन थालें । यदि मेरा गीतहरु नचलेका भए पनि मलाई गाह्रो हुने थिएन ।
अहिले बजारमा जस्ता पनि गीतसंगीत आइरहेको छ नि, यसलाई कसरी लिनुहुन्छ ?
यो पनि एउटा विकास हो । गीतसंगीतको निर्माणमा प्रविधिको विकासलाई सदुपयोग गरेर नयाँ नयाँ गीतसंगीत निर्माण भइरहेका छन् । तर हामीले गीत संगीत बजारमा ल्याउँदा कि लोकप्रिय बन्नुप¥यो कि भने मौलिकतालाई प्रमुखतामा राख्नुप¥यो । विकाससँगै विसंगति आउनु भनेको सामान्य हो । तर यहाँ एकथरी कलाकार यस्ता छन् कला र गला भन्दा पनि उनीहरु पैसाको भरमा चर्चा कमाउन खोजेका हुन्छन् । पैसाकै भरमा गीत सबै मिडियामा बजाइरहने र मेरो गीत एक नम्बर छ भन्ने, न्यु हट सङ भन्दै युट्युवमा हाल्ने । व्यक्ति व्यक्तिको नाममा युट्युव च्यानल हुनु र आफ्नो युटुयुवमा भिवर्स बढाउनकै लागि ग्ल्यामर र भल्गर किसिमका फोटो राखेर उस्तै उत्तेजक हेडिङ राखेर युट्युवमा गीत राखिएको हुन्छ । यो सबै नेपाली गीत संगीतभित्रका विकृती हुन् ।

manju_poudel
यस्तो विकृति रोक्न के गर्नुपर्ला ?
गीतसंगीतमा सफल हुनलाई भनेको कला र गला कै आवश्यकता हुन्छ । मलाई त गीतसंगीतमा पनि सेन्सर बोर्ड भइदिए हुन्थ्यो जस्तो लाग्छ । सर्जक आफैंले गीतसंगीतको क्राइट एरिया के कति हो, त्यो अनुसार पाइला चाल्नुपर्छ । हरेक व्यक्ति व्यक्ति सचेत हुनुपर्छ । २ दिन बजार पिट्ने गीतले, मेरो जीवन कट्दैन भन्ने बुझ्नु पर्छ । फेरि बिकृती रोक्नलाई मिडियाको पनि रोल हुन्छ, त्यसता सिर्जनालाई मिडियामा ठाउँ दिइएन भने पनि विकृति रोक्नलाई सजिलो हुनेछ ।
तपाईंको चाहिं युट्युव च्यानल छैन र ?
अहिले प्रविधिको जमानामा, व्यक्ति व्यक्तिको नाममा युट्युव छन् भने म पनि एक संघर्षशिल गायिका हुँ । मेरो पनि बि.एम.एस. फिल्मस् नामको युट्युव च्यानल छ । जसमा मैंले भिवर्स बढाउनकै लागि गलत प्रक्रिया अपनाएकी छैन । मेरा फ्यानहरुले बि.एम.एस. फिल्मस् खोलेर मेरा गीतहरु सुन्न र हेर्न सक्नुहुनेछ ।
प्रस्तुतिः सविता पोखरेल

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु