म पार्टीमा विश्वास गर्दिनँ, व्यक्तिमा विश्वास गर्छु

म्यूजिक खबर
प्रकाशित: २७ बैशाख २०७४, बुधबार

गायिका जुना प्रसाईं
गायिका जुना प्रसाईं पूर्वबाट प्रतिनिधित्व गर्ने गायिका हुन् । पूर्वेली चेली गायनको क्षेत्रमा निरन्तर संघर्ष गरिरहेकी गायिका हुन् जुना । ६०० वटा भन्दा बढी गीतमा आवाज दिइसकेकी गायिका जुना सधैं सदाबहार स्थानमा यात्रा गरिरहेकी छन् । उनी न एकैचोटी माथि पुग्छिन् न तल सधैं एउटै धरातलमा उतारचढावबिना यात्रा गरिरहेकी गायिकाको परिचय बनाएकी छन् । गायिका जुनासँग म्यूजिकखबरका लागि सम्पादक सविता पोखरेलले गरेको कुराकानीको अंशः

juna prasain
तपाईंलाई चिनाउने गीत चाहिं कुन हो ?
मलाई चिनाउने गीत ‘नदेखेको भए हुन्थ्यो तिमीलाई’ बोलको गीत हो । यति धेरै गीत गाइसक्दा पनि अहिलेसम्म त्यहि गीतबाट मलाई चिन्नुहुन्छ ।

 

नदेखेको भए हुन्थ्योलाई ब्रेक गर्ने गीत बनेन है ?
एउटा बनाउन गाह्रो हुने रहेछ, सबैको जिवनमा यो लागु हुन्छ । जब एउटा सिर्जनाले परिचय बनाइदिन्छ, त्यो लगभग स्थायी नै हुँदो रहेछ । एउटा एउटा नै भएर रहन्छ, अर्को आएरपछि दोश्रो हुन्छ । त्यसलाई ब्रेक गर्ने गरेर आउँदैन । त्यसपछि पनि हिट बनेका थुप्रै गीतहरुमा स्वर दिएकी छु । हरेक विधाका गीतहरु आएका छन् । ‘बिर्सिए झैं’ पनि उतिकै पपुलर सङ हो जसको मेलोडीको समेत खुबै तारिफ हुन्छ । फास्ट बिटमा डान्सिङ फ्लेबरमा ‘कम्मर मर्काई’ पनि उत्तिकै लोकप्रिय भयो । यस्ता थुप्रै गीतहरु छन् जसले मेरो जुना प्रसाईंको अर्को गीत पनि आएछ भन्ने बनायो नकी नदेखेको भए लाई ब्रेक गर्ने ।

 

गायिका बन्नु अगाडिको जुना प्रसाईंका बारेमा भनिदिनोस् न ।
मेरो स्थायी ठेगाना झापाको चारपाने हो । सानैदेखि गीतसंगीत भनेपछि भुतुक्कै हुन्थें म । मेरो ममी बाबाको म्यूजिकमा अत्यन्त प्रेम थियो । बाबाको कम्पोजिसनमा गाएर म पहिलो पटक स्टेजमा चढेकी हुँ । बाबा राम्रो कम्पोजर हुनुहुन्थ्यो । ममी पनि गीत गाउनुहुन्थ्यो । स्थानिय कार्यक्रमहरुमा बाबा ममीसँगै मैले पनि गीत गाएको मलाई याद छ । मेरो बाबा नाटकमा समेत अभिनय गर्नुहुन्थ्यो । बाबाले राम्रो परिचय बनाउनु भएको थियो । बाबा स्टेजमा पुगेपछि नबोलिकन अडियन्स हाँस्न शुरु गर्थे । बाबा राम्रो डान्सर पनि हो । डान्समा बाबाको जोडी भएर मैले पनि नाचेकी छु । मेरो परिवार सांगीतिक पृष्ठभुमी भएको परिवार हो । नारायण गोपाल, दिप श्रेष्ठको फ्यान मेरो ममी, उहाँहरुको गीत गाइरहनुहुन्थ्यो, म पनि ममीलाई फलो गर्थे, गाउने कोशिष गर्थे ।
स्कुलमा हुने कार्यक्रमहरुमा नाँच्ने र गाउने दुबै विधामा भाग लिन्थे र जहिले पनि म प्रतियोगीता जित्थे । पुरस्कारहरु पाउँथे । स्कुल पढ्दा मलाई ममी बाबाले कहिले पनि कपी, पेन, जोमेट्रि बक्स इत्यादि प्राय मैले किन्नै परेन । ७ कक्षासम्मको पढाइका लागि पुरस्कारले नै पुग्यो । त्यसपछि मैले प्रतियोगितामा भाग लिनलाई ३ वर्ष ग्याप गरें, एसएलसीलाई प्राथमिकता दिएर ।

juna prasain_1
अरु बाल गायकले गाउन शुरु गर्ने उमेरमा तपाईंले ग्याप राख्नुभएछ, कुन उमेरदेखि गाउनुभएको हो ?
सानै उमेरदेखि गाउन शुरु गरें । मलाई अलि अलि याद छ त्यस्तै ५–६ वर्षको थिएँ, बिरेन्द्र सभा गृह बिराटनगरमा राजा बिरेन्द्रको जन्मोत्सवमा गाएको थिएँ । खासै याद त छैन अलि अलि झझल्को जस्तो लाग्छ । सानीमाले गीत गाउन स्टेजमा चढाउनु भएको, ममीले बुनको ब्लु कलरको स्वटेर लगाएको बाबाले किनिदिएको जामा लगाएर गीत गाएको छु । जतिबेला माइक पनि सानीमाले समाउनु भएको थियो, स्वागत छ हाम्रा राजालाई स्वागत छ हाम्री रानीलाई भन्ने गीत गाएकी थिएँ । त्यसमा पनि बाबाको शब्द संगीत रहेको थियो । त्यो जमानामा मैले १५१ रुपैयाँ उपहार पाएकी थिएँ, तर कसले दिएको हो त्यो उपहार थाहा पाउन सकिनँ ।
दशैंका, तिहारमा देउसी भैलोका गीतहरु गाउँथे । क्लबमा पनि गाउने गर्थे । त्यतिबेलाको चुनाबमा पनि गीत गाउन मलाई भनिन्थ्यो, आज कांग्रेसको लागि गीत गाउँथे भनें भोलीपल्ट एमालेका लागि गाउनु पथ्र्यो । एकदिन रुखको हाँगा भाँचेर हिंड्थे भने अर्को दिन सुर्य बोकेर हिंड्न लाउनुहुन्थ्यो । बाबा सरकारी जागिरे, बच्चाहरुलाई यसरी पार्टीगत कार्यक्रममा सहभागी बनाउन हुँदैन भन्ने पनि आवाज आउँथ्यो । यसर्थ मैंले सांगीतिक करियर बाल्यावस्थादेखि नै शुरु भयो ।

 

अन्जानमा रुखका हाँगो तथा सुर्यको झण्डा बोकेर हिंड्नुभयो, अब जानाजान चाहिं कता प्रवेश गर्ने योजना छ ?
म कुनै पार्टीको झण्डामुनीको कलाकार होइन । म पार्टीमा विश्वास गर्दिनँ, व्यक्तिमा विश्वास गर्छु । म एउटा नेपाली हुँ, देशका लागि जसले राम्रो सोचेको छ, त्यसलाई नै मैले रोज्ने गर्छु । यहाँ राम्रा नेता छन् तर काम गर्दैनन् । हामी आत्मनिर्भर हुँदैनौं परनिर्भर भएर बस्छन् नेताहरु । गन्धीखेलको रुपमा राजनीति अहिलेसम्म चिनिएको छ । अहिले केही कलाकार भित्रिनु भएको छ । पक्कै पनि कलाजगतको प्रतिनिधित्व गर्दै कोमल वली जस्ता व्यक्तित्व प्रवेश गर्नुभएको छ मलाई खुशी लागेको छ । पक्कै पनि राजनीतिले कला क्षेत्रलाई हेरिरहेको दृष्टिकोण अब परिवर्तन हुनेछ भन्ने आशा लिएको छु । कलाकारको अधिकारको बारेमा अब केही होला भन्ने पोजेटिभ सोचेको छु । कोमल दिदीजस्तो साहसी मान्छेले देशकै लागि केही गर्नुहुन्छ भन्ने सोचेको छु ।

 

यो क्षेत्रमा आउने श्रेय कसलाई दिनुहुन्छ ?
पहिला त परिवार नै हो यो क्षेत्रमा ल्याउने । त्यसपछि मेरा गुरुहरु जसले मेरो स्वरलाई चिनेर यो क्षेत्रमा आउन सधैं प्रेरित गर्नुभयो आदरणीय प्रकाश गुरुङ सर, दिव्य खालिङ सर । दिव्य खालिङ सरले एकदमै ठूलो सपना बोक्नुभएको थियो मेरा लागि, उहाँसँग एकल एल्बमको काम भइरहेको थियो तर उहाँ बित्नुभयो । त्यो एल्बम निस्कन पाएन । जसले म धेरै अभागी सिङ्गर हुँ जस्तो लाग्छ । मलाई धेरै मिडियाले पनि राम्रो कलाकार हुँदाहुँदै निक चल्न सक्नुभएन भन्छन् तर खै किन हो, कहाँ के भयो थाहा छैन । निरन्तर काम गरिरहेको छु तर सुपरहिट भन्ने चाहिँ भएन ।

 

गाउनुभन्दा अगाडि शब्दचयन कसरी गर्नुहुन्छ ?
म एकदमै शब्दचयन गर्छु । गाउनुभन्दा अगाडि मलाई एकदमै गाह्रो भनेको शब्दचयन लाग्छ । अहिले पनि गीत गर्न खोजिरहेको छु, शब्दको खोजीमा नै छु । शब्द राम्रो भयो भने संगीत राम्रो बन्छ अनि गायनमा पनि फिलिङ्स आउँछ ।

 

यो क्षेत्रमा विकृति विसङ्गति कत्तिको देख्नुभएको छ ?
विकृति, विसङ्गति भनेको हरेक क्षेत्रमा हुन्छ । अहिले प्रविधिको जमाना भयो, साधना भन्दा पनि प्रविधिलाई सदुपयोग गरेर गीत गाइएको हुन्छ । मैले एउटा गीत सुने, यूट्यूबमा भएको उक्त गीत सुनेपछि मलाई दाँतमा ढुङ्गा लागेजस्तो भयो । किन गाइरहेको होला जस्तो लाग्यो, बरु एउटा बाजा बजाउन सिके हुन्थ्यो भन्ने लाग्यो । गीत गाउनु भनेको जबर्जस्ती गरेर हुन्न, गड गिफ्टेड हुनुपर्छ । शब्दचयन पनि त्यस्तै लाग्यो । परिवारसँग बसेर सुन्न र हेर्न नै अप्ठ्यारो लाग्ने हुने खालका गीतहरुले विकृति भित्र्याइरहेको छ ।

juna_prasain
आधुनिक गीतसँगै लोकगीत पनि गाउनुभएको छ ?
मैले सयभन्दा बढी लोकगीत नै गाएको छु । जति अवार्ड पाएको छु लोकगीतबाटै पाएको छु । पूर्वमा हाम्रो लोकगीत एकदमै चलेको छ, भानु ओली दाइ र मेरो जोडी भएर नै मैले ८० भन्दा धेरै गीत गाएको छु । देउसी भैलीदेखि पूर्वेली लोकगीतहरु मैले गाएको नै धेरै बजिरहेको हुन्छ पूर्वमा । आधुनिक, पप, भजन, राष्ट्रिय लगायत सबै गीत गाएको छु । मेरो टोनमा कुन म्याच गर्छ भन्ने कुरा मात्र हो । लभ सङ, फास्ट बिटका गीतहरु बढि रुचाइएको देखेको छु । एल्बमका रुपमा नजिक, नूतन सोलो एल्बम हो । कलेक्सनमा सङ्गी भन्ने आयो भने अरु धेरै कलेक्सनमा गाएको छु ।

 

बाटोमा हिंड्दा गायिका जुना प्रसाईं भनेर अरुले चिन्दा कस्तो लाग्छ ?
एउटा गायिका भनेर चिनिनुमा धेरै खुशी लाग्छ । उहाँहरुले सम्मान गर्नुहुन्छ, गायिका भनेर चिन्दा, मसँग फोटो लिँदा मैले कमाएको खुशी हो जस्तो लाग्छ । सबैभन्दा ठूलो कुरा नाम कमाउनु नै हो जस्तो लाग्छ ।

 

नामले मात्र खान पुग्छ त ?
त्यो नाम कमाउन पनि दाम नै खर्च गर्नुपर्छ तर आत्मसन्तुष्टि भन्दा माथि अरु केही हुँदैन । अब सांसारिक जीवनका लागि त पैसा कमाउनु नै प¥यो । आफूलाई बाँच्न पुग्ने दाम पाए पुग्यो । आफ्नो काममा आत्मसन्तुष्टि भयो भने त्यो भन्दा खुशी अरु लाग्दैन । पैसाबिना त केही पनि हुँदैन र पैसा केही पनि होइन ।

तस्विरः दिनेश थापा

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु